भारतीय एसएसबीद्वारा नेपाली महिलामाथि यौन सम्बन्धका लागि दबाब, नमान्दा कुटपिट (भिडिओ) – Nepal Press

भारतीय एसएसबीद्वारा नेपाली महिलामाथि यौन सम्बन्धका लागि दबाब, नमान्दा कुटपिट (भिडिओ)

जनकपुरधाम । भारत आउजाउ गर्ने नेपालीहरुले सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) बाट निरन्तर ज्यादती र हैरानी भोग्दै आइरहेका छन् । हुँदा हुँदा अब नेपाली महिलाहरूलाई एसएसबीले यौनसम्बन्धका लागि समेत दबाब दिने गरेको संवेदनशील तथ्य उजागर भएको छ ।

नेपालका थुप्रै सीमावर्ती क्षेत्रका बासिन्दाहरू घरायसी किनमेलका लागि समेत भारतीय बजारमा निर्भर छन् । एक लिटर खानेतेलदेखि एक पोका नून किन्न पनि भारतीय बजारमा जानुपर्छ । यसरी किनमेल गर्न जाने महिलाहरूलाई एसएसबीले प्रताडित गर्ने गरेको सार्वजनिक भएको हो ।

बरियारपट्टी गाउँपालिका ४ की ३० वर्षीया सुनिता (नाम परिवर्तन) ले भान्साको समान किनमेल गर्न चारदिन अगाडि लदनिया बजार (भारत) पुगेकी थिइन् । उनी समान लिएर घर फर्किने क्रममा एसएसबी जवानले रोके । एसएसबी जवानले यौन प्रस्ताव राखेको र आफूले नस्वीकारेपछि कुटपिट गरेको ती महिलाले गुनासो गरिन् ।

‘प्लास्टिकको झोलामा सामानहरू लिएर फर्किदै थिएँ’, उनले नेपाल प्रेससँग भनिन्, ‘बोर्डरमा एसएसबीले ढाट लगाएको ठाउँमा पुगेपछि मलाई रोके । एकजना एसएसबीले समान राख भन्यो । मैले सामान भुइँमा राखिदिएँ । मैले भनेँ थोरै समान छ, गरिब छु, मलाई छाडिदिनुस् । त्यसपछि उसले आफ्नो भाषामा ‘दिन्छौ ?’ भन्यो । मैले इन्कार गरेँ ।’

यौन प्रस्ताव इन्कार गरेपछि ती एसएसबी जवानले समान नछाड्ने भनेर धम्क्याएको उनले सुनाइन् ।

उनले सुनाइन्, ‘मैले मानिनँ । त्यसपछि मेरो टाउकोमा दुई लाठी हान्यो । अनि जा भन्यो । म डराएर घरतर्फ लागेँ ।’

एसएसबी जवाले सुनितालाई मात्र नभएर अन्य महिलालाई समेत यौन प्रस्ताव राखेको पाइएको छ । औरही गाउपालिका २ की सकिना (नाम परिवर्तन) ले पनि लदनिया बजारबाट सामान ल्याउने क्रममा एसएसबी जवानले यौन प्रस्ताव राखेको बताइन् ।

सकिनाको श्रीमान् जेलमा छन् । विपन्न परिवारका उनलाई घर चलाउन समस्या छ । त्यसैले उनी सस्तोमा पाइन्छ भनेर भारतीय बजार लदनियाबाटै भान्साका समान ल्याउने गर्छिन् । दुई दिनअगाडि एसएसबीले यौन प्रस्ताव राखेको भन्दै उनले अब भारतीय बजार कहिल्यै नजाने बताइन् ।

‘लदनियाबाट नुन, तेल, खुर्सानीलगायतका भान्साको समान किनेर घर फर्किने क्रममा मसँग गाउँकै एक महिला थिइन्’, उनले भनिन्, ‘बोर्डरमा एसएसबीले रोके । अर्को महिलाले मेरो श्रीमान् जेलमा छ, कहिलेकाहीँ घरेलु समान किन्न आउने गर्छिन् भनिन् । उनलाई लागेको थियो, श्रीमान् जेलमा रहेको कुरा सुनाएपछि एसएसबीले छाडिदिन्छ । तर, एसएसबीले यौन प्रस्ताव राख्यो ।’

‘तिम्रो श्रीमान् जेलमा छन् । मेरो श्रीमती पनि धेरै टाढा छिन् । हिँडौं, रहर खेतमा दुबैजना मज्जा लिनुपर्छ’ एसएसबीका जवानले भनेको सकिनाले सुनाइन् । ‘घरमा सानोसानो बच्चा, सासु र ससुरा छन्, गलत गरेपछि मलाई घरमै बस्न दिदैन’ भनेपछि एसएसबीले आफूलाई लखेटेर भगाएको पनि उनले बताइन् ।

भारत विहारको मधुवनी जिल्लामा पर्ने लदनियास्थित एसएसबी १८ बटालियनको जवानले नेपाली महिलालाई यौन दुर्व्यवहारसमेत गर्ने गरेका छन् । तर, त्यहाँका प्रमुख गान्धी रामले किनमेल गएर फर्किने महिलालाई यौन प्रस्ताव राख्ने गरेको विषयमा थाहा नपाएको र यस विषयमा बुझेर जानकारी गराउने बताए ।

सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बरियारपट्टी नाकामा भारततर्फ किनमेल गरेर फर्किने क्रममा महिलाहरूलाई दुर्व्यवहार गरेको कुरा जानकारी पाएको बताए ।

उनले भने, ‘यौन प्रस्ताव राखेको कुरा थाहा भएन । तर, दुर्व्यवहार गर्ने गरेको कुरा आएछ । फाल्गुन ११ गते मधुवनीमा बैठक छ । म यो कुरा त्यहाँ राख्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *