राजेन्द्र लिङ्देनकाे चुनाैती- दरबार हत्या काण्डमा ज्ञानेन्द्रको संलग्नता प्रमाणित भए कारबाही गर्नू – Nepal Press

राजेन्द्र लिङ्देनकाे चुनाैती- दरबार हत्या काण्डमा ज्ञानेन्द्रको संलग्नता प्रमाणित भए कारबाही गर्नू

उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले दरबार हत्या काण्डमा पूर्वराजा ज्ञानेन्द्रको संलग्नता भएको प्रमाण पुर्याएर उनीमाथि कारबाही गर्न दलहरुलाई चुनौती दिएका छन् ।

उदयपुरको बेलका नगरपालिकाको रामपुरमा शुक्रबार आयोजित राप्रपा बेलका नगर समितिले आयोजना गरेको सभामा बोल्दै उनले बिना प्रमाण र आधारमा राजालाई उक्त हत्या काण्डमा बदनाम गराउने उदेश्यले दलहरुले मुछ्ने प्रयास गरेको बताए ।

‘दरबार हत्या काण्ड भएको बेलाका प्रत्यक्षदर्शीहरु अहिले पनि जीवितै छन् उनीहरुसँग बयान लिएर, प्रमाण जुटाएर कारबाही गरे भइगयो नि’, उनले भने । बिना प्रमाण कसैलाई बदनाम गराउने उद्देश्यले जथाभावी बोल्न नहुने उनले बताए ।

उनले दरबार हत्या काण्डपछि कांग्रेस, एमालेले उनै ज्ञानेन्द्रलाई श्रीपेच लगाएर खुट्टामा दाम चढाएर राजा बनाएको स्मरण गर्न आग्रह समेत गरेका छन् । ‘आफैं राजा बनाउने अनि आफैं राजालाई हत्यारा भनेर आरोपित गर्ने ?’, उनले भने ।

उनले २०४६ सालको परिवर्तनपछि एउटै पात्र र एउटै प्रवृत्तिबाट देश सञ्चालन हुँदा देशमा विकास हुन नसकेको बताए । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भने पनि असफल तिनै पार्टी र त्यही नेताबाट शासनको निरन्तरताले मुलुकले प्रगति गर्न नसकेको उनले आरोप लगाए ।

उनले नेतृत्व इमानदार र देशभक्त हुन नसक्दा तिन दशकमा मुलुक बन्न नसकेको, भ्रष्टाचार र लूटतन्त्र हाबी भएको बताए । पहिले कहाँ कहाँ भ्रष्टाचार हुन्छ भनेर खोज्नु पर्थ्यो तर अहिले भ्रष्टाचार कहाँ कहाँ छैन भन्नुपर्ने अवस्था रहेको उनले बताए ।

विगतको चुनावमा गरेको गल्तीको कारण अहिले जनताले दुःख पाएको उनले बताए । जहिले पनि कांग्रेस, एमाले र माओवादीलाई सत्तामा पुर्याएको कारण मुलुकको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको उनले बताए ।

अब विगतको गल्तीलाई सच्याउँदै सही पार्टी र नेतालाई नेतृत्वमा ल्याएर मुलुकलाई समृद्धितर्फ अघि बढाउनुपर्छ, अहिलेको अवस्था आउनुमा राजनीतिक दलको मात्रै दोषी होइनन् तिनलाई मत दिने मतदाता पनि दोषी रहेको उनले गुनासो गरेका छन् ।

हामी राजनीतिमा विकल्पसहित आएका छौं, अब राप्रपाबाहेक अरुलाइ नेतृत्व दिन नहुने उनले बताए । आमसभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ताद्वय भक्ति सिटौला, ज्ञानेन्द्र शाही, खुस्बु ओली लगायतले सम्बोधन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर