विदेशी मुद्रा सञ्चितिमा ऐतिहासिक रेकर्ड, उच्च मुद्रा सञ्चिति केन्द्रीय बैंकले कहाँ राख्छ ? – Nepal Press

विदेशी मुद्रा सञ्चितिमा ऐतिहासिक रेकर्ड, उच्च मुद्रा सञ्चिति केन्द्रीय बैंकले कहाँ राख्छ ?

काठमाडौँ । नेपालको इतिहासमै पहिलो पटक विदेशी मुद्रा सञ्चिति उच्च भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको प्रतिवेदन अनुसार पुस मसान्तसम्म यस्तो मुद्रा १८ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति १६.९ प्रतिशतले वृद्धि भई १३ अर्ब ६९ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति पुस मसान्तमा १८.९ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति पुस मसान्तमा ११.८ प्रतिशतले वृद्धि भई २ खर्ब १६ अर्ब ३५ करोड रुपैयाँ कायम भएको छ ।

विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको तथा आयात निर्यात घट्दा विदेशी मुद्रा सञ्चितिले रेकर्ड कायम गर्न सकेको हो । ६ महिनामा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ खर्ब ३३ अर्ब २२ करोड पुगेको छ ।

आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.५ महिनाको वस्तु आयात र १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

नेपाल जस्ता कम विकसित मुलुकमा विदेशी मुद्राले ६ महिनासम्मको आयात धान्न पुग्ने भए सुरक्षित मानिन्छ । यही ६ महिनालाई आधार मान्दा आयात ३.१ प्रतिशत, निर्यात ७.२ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.६ प्रतिशतले घटेको छ ।

वस्तु तथा सेवा निर्यात गरेर विदेशी मुद्रा आर्जन गरी विदेशी मुद्रा बढ्दा त्यसले दीर्घकालसम्म फाइदा पुग्ने भए पनि रेमिट्यान्स बढ्दा विदेशी मुद्रा बढ्नुलाई केन्द्रीय बैंकका अधिकारीहरू दरिलो स्रोत मान्दैनन् । विकसित मुलुकहरूमा भने तीन महिनाको लागि विदेशी मुद्रा मौज्दात भए पर्याप्त हुने आइएमएफ, वल्र्ड बैंक लगायतको मान्यता छ ।

केन्द्रीय बैंकले कहाँ राख्छ यति धेरै सञ्चितिको रकम ?

नेपालमा पछिल्लो केही महिना यता विदेशी मुद्राको सञ्चिति बढ्दो क्रममा रहेको तथ्यांक केन्द्रीय बैंकले सार्वजनिक गर्दै आएको छ । बढ्दो विदेशी मुद्राको सञ्चितिलाई लिएर चासो देखिन्छ ।

जुनसुकै देशमा पनि विदेशी मुद्राको सञ्चिति, नियन्त्रण व्यवस्थापन र परिचालन गर्ने अधिकार उक्त देशको केन्द्रीय बैंकलाई हुन्छ । ब्याजदर बढी भएका र फाइदा हुने ठाउँ तथा बैंक हेरेर केन्द्रीय बैंकहरुले लगानी गर्छन् । नेपालको सन्दर्भमा पनि सोही मान्यता लागु हुन्छ ।

विदेशी विनिमय विभागका अधिकारीका अनुसार अन्तर्राष्ट्रिय बजारमा ब्याजदर बढी भएको हुँदा राष्ट्र बैंकले पनि ब्याजदर बढी भएको अन्तर्राष्ट्रिय बैंकमा सो रकम राखेको छ । नेपाल सहित संसारभरका केन्द्रीय बैंकहरूले ऋणपत्रहरूमा पनि अल्पकालका लागि विदेशी मुद्रा लगानी गर्छन् । यसलाई अन्तर्राष्ट्रिय स्तरमै बढी सुरक्षित मानिँदै आएको छ ।

नेपाल राष्ट्र बैंकले विशेष गरी भारत, चीन, अमेरिका र बेलायत लगायतका युरोपेली मुलुकहरूले जारी गर्ने सरकारी ऋणपत्रहरूमा लगानी गर्दै आएको जनाएको छ । कुनै पनि विदेशी वित्तीय संस्थामा सरकारी ऋणपत्रमा गरेको लगानी भने सुरक्षित ठानिन्छ ।

बढ्दो विदेशी मुद्राको सञ्चिति नेपालकै परियोजनामा लगानी गर्न सकिने अवस्था छ की छैन भन्ने प्रश्नमा फरेक्स (फरेन एक्सचेन्ज डिपार्टमेन्ट) विभागका अधिकारीहरू त्यस्तो सम्भावना नभएको बताउँछन् ।

केन्द्रीय बैंकले आफूलाई चाहिएको जुनसुकै बेला सो रकम झिक्न सक्ने गरी राख्नुपर्ने भएकाले परियोजनामा लगानी गर्न नसकिने जनाएको छ ।

बरु विश्वका कुन बैंकमा राख्दा बढी आम्दानी र सुरक्षित हुन्छ सो विषयलाई भने निकै ध्यान दिएर अन्तर्राष्ट्रिय बैंकहरुमा सो रकम राख्ने गरेको छ ।

यसरी विदेशी मुद्राको लगानीबाट केन्द्रीय बैंकले गत आर्थिक वर्ष २५ अर्ब रुपैयाँ नाफा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर