सिके राउतको विश्लेषण- कम्युनिष्टहरू सरकारमा हुँदा कमाउधन्दामा लाग्छन्, नयाँ दलका मिसन ८४ भ्रम – Nepal Press

सिके राउतको विश्लेषण- कम्युनिष्टहरू सरकारमा हुँदा कमाउधन्दामा लाग्छन्, नयाँ दलका मिसन ८४ भ्रम

‘१७ हजारको निर्ममतापूर्वक हत्या गर्न सक्ने माओवादी सरकारमा हुँदा पनि गोली चलाउन हच्किँदैन’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कुरामा हात हाल्यो त्यो कुरा असफल हुने दाबी गरेका छन् ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा कम्युनिष्ट सरकारहरू आउँदा राज्य संयन्त्रलाई आफ्नो सत्ता टिकाउनका लागि प्रयोग गर्ने र लोकतान्त्रिक अधिकारहरू सहजै हरण गर्ने गरेको उल्लेख गरेका छन् ।

प्रतिवेदनमा भनेका छन्, ‘सरकारले जे कुरामा हात हालेको छ त्यो कुरा असफल हुने निश्चित प्रायः हुन्छ । कार्यपालिकाको अवस्था त्यस्तो छ, कर्मचारीहरूको मनोमानी त्यस्तो छ । कार्यपालिका र यसका अङ्गहरू शीर्ष राजनैतिक पार्टीका काराकर्ताको भर्ना केन्द्र र भातृ संगठनमा सीमित हुन पुगेको छ ।’

उनले संसद् चार (प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली र माधव नेपाल) नेताको रबर स्ट्याम्प रहेको दाबी गरेका छन्।

अध्यक्ष राउतले भनेका छन्, ‘कम्युनिष्टहरू जति जतिबेला सरकारमा जान्छ, र जति जति धन आर्जन गर्दछ, त्यति–त्यति यिनीहरूको फाँसीवादी चरित्र उदाङ्गो हुँदै आएको छ। कम्युनिष्टहरूको दुई–तिहाइ हुँदा संसद् नै विघटन गरेको इतिहास हामीले बिर्सनुहुँदैन। आज किन माइतीघर मण्डला, बानेश्वर क्षेत्र, पुल्चोक क्षेत्र सहितमा महिनौँदेखि निषेधित क्षेत्र भनेर घोषणा गरिएको छ रु किन धोती लगाएर जुलुस निकाल्दा आफ्नै संघीय मन्त्री र राष्ट्रिय अध्यक्षलाई गिरफ्तार गरिन्छ ? किन बालकुमारीमा दुई युवकको हत्या गर्न राज्य तम्सिन्छ रु किनकि समाजवादी राज्यमा विरोधको कुनै गुञ्जायस हुँदैन। विरोधी विचारधारा स्वीकार्य नै हुँदैन।’

उनले मिसन ८४ समाधान नभई वर्तमान व्यवस्थामा सुधार नल्याई सम्भव नहुने औँल्याएका छन्।

उनले भनेका छन्, ‘०७९ सालको आमनिर्वाचनबाट उदाएका केही दलहरू अहिलेदेखि मिसन ८४ को राग अलाप्दैछन् र जनताहरू पनि कतै–न–कतै किंकर्तब्यविमूढ भएर आशा गर्दै प्रतीक्षा गर्न बाध्य छन्। तर मिसन ८४ केवल भ्रम हो। वर्तमान राजनैतिक व्यवस्था र आर्थिक प्रणालीबाट जनताले खोजेको विकास सम्भव नै छैन र त्यो कुरा अहिलेको प्रतिनिधि सभाबाट सम्भव छैन।’

०८४ मा पनि कुनै नयाँ दलले एक्कासि दुई–तिहाइ ल्याइ हाल्ने कुरा कोरा कल्पना बाहेक केही हुन नसक्ने उनको बुझाइ छ। बढीमा भए १०–२० सीट यताउता हुने हो र फेरि पुराना पार्टीहरूकै गठबन्धन सरकार नै बन्ने जिकिर गरेका छन्।

‘कथंकदाचित् नयाँ पार्टीहरूले दुई–तिहाइ ल्याई हाले पनि पुराना पार्टीहरू चुप लागेर बस्ने दिन नै आउँदैनन्। पहिला त परिणाम नै घोषणा हुन दिने छैन, घोषणा भए निर्वाचनमा अनियमितता भयो परिणाम रद्द गर्न लगाउनेछन्। त्यसबाट पनि बचे भने आफ्नो भात्रसंगठन र हरेक ठाउँमा रहेको पार्टीगत कर्मचारीहरूको प्रयोग गरेर, रोष्ट्रम घेरेर, सडकमा आन्दोलन उठाएर कहिले पनि स्थिर रूपमा काम गर्न दिने छैनन्’ प्रतिवेदनमा भनेका छन्।

उनले नयाँ पात्रबाट यही व्यवस्थाबाट सुधार नहुने जिकिर गर्दै जनतामा भइरहेको उकुशमुकश भए पनि अहिलेको आन्दोलनहरू सफल नहुनुको कारण उल्लेख गरेका छन्।

उनले प्रतिवेदनमा आफ्नो पार्टी र नागरिक उन्मुक्तिप्रति नरम देखिए पनि अन्य दलप्रति कडा आलोचना गरेका छन्। अध्यक्ष राउत सत्ताको नेतृत्व गरिरहेको माओवादीप्रति आक्रामक छन्।

प्रतिवेदनमा भनिएको छ, ‘…नेपालमा माओवादीहरूले १७ हजारको निर्ममतापूर्वक हत्या गर्न सके र अहिले पनि गोली चलाउन वा दमन गर्न कतै पछि पर्दैनन् कतै हच्किँदैनन्। जुन माओवादीहरूले निर्दोष शिक्षकका छाला काटीकाटी अंग टुक्रा टुक्रा काटेर हत्या गर्न सक्थे, उनीहरूमा कुनै मानवीय संवेदनाको आशा गर्नु निरर्थक हुनेछ, अहिले पनि त्यही कुरा माओवादी केन्द्र सरकारमा रहँदा देखिन्छ।’

उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई कुनै राजनैतिक वा आर्थिक दर्शन बोकेर उदाएको पार्टी नभएको टिप्पणी गरेका छन्। उनले कांग्रेस, एमालेसहित मधेश केन्द्रित दलहरूप्रति बेग्लाबेग्लै टिप्पणी र आरोप दस्ताबेजमा उल्लेख गरेका छन्।

उनले राप्रपालाई लोकतन्त्रको आवरणमा नवसामन्तवाद र सर्वसत्तावाद हाबी टिप्पणी गरेका छन्। नेकपा एसको एमालेसँग कुनै सैद्धान्तिक धरातलभन्दा फरक नभएपछि माधव नेपालको व्यक्तिगत अहंकारले अलग भएको विश्लेषण गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर