सविरको निर्देशनमा ‘रुखान’को घोषणा, ४ भाषामा तयार हुने – Nepal Press

सविरको निर्देशनमा ‘रुखान’को घोषणा, ४ भाषामा तयार हुने

काठमाडौं । निर्देशक सविर श्रेष्ठको निर्देशनमा नयाँ फिल्मको घोषणा गरिएको छ । सविरको निर्देशनमा फिल्म ‘रुखान’ निर्माणको घोषणा गरिएको हो । यो फिल्मलाई ४ वटा भाषामा निर्माण गरिने निर्माण पक्षले जानकारी दिएको छ । फिल्मलाई नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी भाषामा निर्माण गरिने छ ।

कृष्ण थापा र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रूपक घिमिरेको कथा रहेको छ । फिल्मका कार्यकारी निर्माता नायक सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।

यो फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्म निर्माणमा आवरण स्किन एण्ड हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

सार्वजनिक फिल्मको फस्टलुकमा एक जना महिला न्यायका लागि मुठ्ठी कसेर विद्रोहमा उत्रिएको देखिन्छ । यस्तै, मुखमा अक्सिजन लगाएर उपचार गराइरहेका एक युवालाई पनि पोस्टरमा देखाइएको छ । फिल्मको फस्टलुकमा ‘न्याय देऊ’ भनेर लेखिएको छ । पोस्टरमा आन्दोलनको झलक दिने तस्बिर समेत समावेश गरिएको छ । फस्ट लुकले यो फिल्मले आम नागरिकको समस्याको कथा भन्ने संकेत गरेको छ ।

फिल्मको विषयमा निर्देशक सविर श्रेष्ठले भने, ‘यो एक महिलाको संघर्षको कथा हो । यो कथाबाट हामीले सिंगो देशका नागरिकहरूको समस्यालाई भन्ने प्रयास गर्नेछौँ ।’ फिल्मको मुख्य पात्रमा महिला कलाकार हुने सविरको भनाई छ । उनका अनुसार, कलाकारहरू फाइनल गर्ने क्रम जारी छ । चाडै नै, फिल्मको मुख्य कलाकारको नाम घोषणा गरिने सविरले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर