इन्टरपोलबाट हालसम्म १६८ जनाविरूद्ध रेड नोटिस, ४८ जना पक्राउ – Nepal Press

इन्टरपोलबाट हालसम्म १६८ जनाविरूद्ध रेड नोटिस, ४८ जना पक्राउ

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएको पाँच दिनभित्रै फरार प्रतिवादी खोटाङका १९ वर्षीय किरण राई कतारबाट पक्राउ परे ।

इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका चार जना फरार प्रतिवादीलाई दुबई र कुवेतबाट एक हप्ताभित्रै पक्राउ गरी गत पुस पहिलो हप्ता नेपाल ल्याइयो ।

देशमा अपराध गरी विदेशमा फरार रहेका प्रतिवादीलाई इन्टरपोलको सक्रियतामा पक्राउ गरी स्वदेश फिर्ता ल्याएर कानूनी पक्रिया अगाडि बढाउने कामले तिव्रता पाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

फरार प्रतिवादीको अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विभिन्न नोटिस जारी हुने गरेको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) भिमप्रसाद ढकालले जानकारी दिए ।

सन् १९९१ देखि हालसम्म एक सय ६८ जनाविरूद्ध रेड नोटिस, २४ जना विरूद्ध एल्लो नोटिस, एक जनाविरूद्ध ब्ल्यु नोटिस, एक जनाविरूद्ध ब्ल्याक नोटिस, एक जनाविरूद्ध पर्पल नोटिस र एक सय ३ जनाविरूद्ध डिफ्युजन नोटिस जारी भएको छ । ती मध्ये ६१ रेड नोटिस, ११ एल्लो नोटिस, एक ब्ल्याक नोटिस, एक पर्पल नोटिस र ३५ डिफ्युजन नोटिस हाल कारबाहीको प्रक्रियामा छन् ।

कारबाहीको प्रक्रियामा रहेका रेड नोटिस जारी भएकामध्ये ५५ जना नेपाली र ६ जना विदेशी नागरिक, एल्लो नोटिस जारी भएका ११ जना नेपाली नागरिक र डिफ्युजन नोटिस जारी भएकामध्ये ३० जना नेपाली र पाँच जना विदेशी नागरिक रहेका छन् ।

फरार प्रतिवादीकाविरूद्ध इन्टरपोलद्वारा नोटिस जारी गर्ने र पक्राउ पर्ने क्रम जारी रहेको प्रहरी प्रवक्ता ढकालले बताए । त्यसै क्रममा सन् २०२४ फेब्रअरी दुई तारिखमा मात्र ६ जनाविरूद्ध रेड नोटिस जारी भएको छ । ती मध्ये वैदेशिक रोजगार ठगीमा चार जना र सहकारी ठगीमा दुई जना छन् ।

प्रहरी प्रवक्ता डीआईजीपी ढकालले भने, ‘सन् १९६७ देखि एनसिबी काठमाडौंले इन्टरपोलको सुरक्षित एवं विश्वव्यापी प्रहरी संचार प्रणालीको सुविधाबाट इन्टरपोलका सदस्य राष्ट्रसँग समन्वय र सूचना आदान–प्रदान गर्दै आएको छ । त्यसै सुविधाकै कारण एनसिबी काठमाडौंले विभिन्न नोटिस एवं डिफ्यूजन जारी गर्नका लागि इन्टरपोल महासचिवालयमा अनुरोध गर्ने गर्दछ ।’

नोटिस जारीको साथै विदेशमा फरार रहेका प्रतिवादी इन्टरपोल तथा सम्बन्धित सदस्य राष्ट्रको प्रहरीसँगको समन्वय र सहयोगमा पक्राउ गरी नेपाल ल्याउन सक्रिय रहेको प्रहरीको दाबी छ । यस कार्यलाई पछिल्लो समय उच्च प्राथमिकताका साथ तिव्रता दिएको जनाइएको छ ।

हालसम्म युएईबाट १९ जना, कतारबाट नौ जना, साउदी अरेबियाबाट तीन जना, भारत र कुबेतबाट तीन–तीन जना, मलेसिया मकाउ र चीनबाट दुई–दुई जना र थाइल्याण्ड, क्यानडा, अमेरिका, पोर्चुगल तथा बहराईनबाट एक–एक जना फरार प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याएको छ । यसैगरी नोटिस तथा डिफ्युजन जारी भएका चार जनालाई नेपालमा नै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमध्ये कर्तव्य ज्यान, ठगी, अपहरण, डकैती, वन्यजन्तु अपराध, बैंकिङ कसूर, सुन तस्करी, संगठित अपराध, कीर्ते, लागूऔषध ओसारपसार, साईबर अपराध, वैदेशिक रोजगार ठगी, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार लगायत मुद्दाका फरार प्रतिवादी रहेका छन् । ती प्रतिवादीलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने गरिएको छ ।

वारेन्ट जारी भएका फरार अभियुक्तको खोजीका लागि रेड नोटिस, वारेन्ट जारी नभएका तथा अनुसन्धान कै क्रममा रहेका फरार अभियुक्तको खोजीका लागि डिफ्युजन नोटिस, सनाखत नभएका मानव शवको पहिचान गर्नका लागि ब्ल्याक नोटिस, हराएका मानिसको अन्तर्राष्ट्रिय स्तरमा खोजी कार्यका लागि एल्लो नोटिस जारी हुने गरेको छ ।

यस्तै अपराधीले अपराध गर्न प्रयोग गरेका हतियार, बिष्फोटक प्रदार्थ तथा खतराजन्य अन्य चिजबस्तु लुकाएको स्थानको बारेमा जानकारी दिन ओरेन्ज नोटिस, आपराधिक कार्यविधिको बारेमा जानकारी दिन पर्पल नोटिस, व्यक्तिको आपराधिक क्रियाकलापकबाट सार्वजनिक सुरक्षामा हुनसक्ने सम्भावित खतराको बारेमा जानकारी गराउन ग्रीन नोटिस तथा अपराधमा संलग्न व्यक्तिको खोजतलास तथा जानकारी प्राप्त गर्न ब्लु नोटिस जारी हुने गर्छ ।

नेपालमा अपराध गरेर विश्वको जुनसुकै कुनामा गए पनि इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले नछोड्ने प्रहरी प्रवक्ता ढकालले बताए ।

सन् १९२३ मा स्थापना भएको इन्टरपोलमा हाल १९६ सदस्य राष्ट्र रहेका छन् । नेपाल इन्टरपोलको १०० औँ सदस्य राष्ट्र हो । हरेक सदस्य राष्ट्रमा विश्वभरिका सदस्य राष्ट्रसँग सम्पर्क गर्न एक सम्पर्क केन्द्र स्थापना गरिएको हुन्छ, जसलाई नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) भनिन्छ ।

नेपाल प्रहरी संगठनका प्रहरी प्रमुखले हेड अफ एनसिबीको भूमिका निर्वाह गर्ने व्यवस्था रहेको छ । हाल प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवर इन्टरपोल नेपालका प्रमुख रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर