इटहरीका १४ वटा विकासे योजना अलपत्र, एउटै ठेकेदारले ७ वटा योजनाको पैसा लगेर पनि काम गरेनन् – Nepal Press

इटहरीका १४ वटा विकासे योजना अलपत्र, एउटै ठेकेदारले ७ वटा योजनाको पैसा लगेर पनि काम गरेनन्

विराटनगर । इटहरी उप महानगरपालिमा भित्र सञ्चालनमा रहेका विभिन्न १४ वटा योजना अलपत्र परेका छन् । पटक–पटक काम गर्न भन्दा पनि ठेकेदार कम्पनीले काम नगरेपछि उप महानगर क्षेत्रभित्रका १४ वटा विकास निर्माणका योजना अलपत्र परेका हुन् । यसरी निर्माणको कामलाई अलपत्र पार्ने ६ वटा ठेकेदार कम्पनी छन् ।

नगरस्तरीय ७ वटा सडक ग्राभेल र कालोपत्रे, ३ वटा पुल निर्माण गर्ने योजना अलपत्र छाडेर ठेकेदार उपमहानगरको सम्पर्कमा छैनन् । पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएको इन्जिनियर जीवन घिमिरे बताउँछन् ।

त्यसमध्ये धेरै योजनाहरू लिने तर काम नगर्ने कम्पनी भने गिरी कन्स्ट्रक्सन प्रा.लि हात्तीवन हो । यो कम्पनीले विभिन्न ५ वटा योजनाको निर्माण गर्ने ठेक्का पाएको थियो । तर सबै काम आधा मात्रै भएका छन् ।

इटहरी १४ मा रहेको हुलाकी सडक राधाकृष्ण मार्ग स्कुल टोल कालोपत्रे सडक योजना, इटहरी १७ मा रहेको लबीपुर मझरा कालोपत्रे सडक योजना, इटहरी १८ मा रहेको जीतपुर बिसनपुर सडक ग्राभेल तथा प्रोटेक्सन वाल निर्माण योजना अलपत्र परेको छ ।

यसै गरी इटहरी १७ र १९ जोड्ने बिसनपुर अमाहा जोड्ने कालोपत्रे सडक योजना र इटहरी ८को सतन मार्ग कालोपत्रे सडक योजना गिरी कन्स्ट्रक्सन प्रा.लि हात्तीवनले ठेक्का लिएको छ । तर कुनै काम पूरा गरेको छैन । यसका सञ्चालक कुमार गिरी हुन् ।

यसैगरी इटहरी १० को बहुजातिय संग्राहलय प्रेरा गिरी जे.भी हात्तीवन र इटहरी ९ स्थित १५ बेडको इटहरी अस्पतालको भवन प्रतिष्ठा गिरी जे.भी कम्पनी पनि एउटै ठेकेदार रहेको इटहरी उपमहानगरले जनाएको छ । यी दुवै निर्माण सेवाका सञ्चालक पनि कुमार नै रहेको उपमहानगरले जनाएको छ ।

गिरी सञ्चालक रहेको विभिन्न गरी ७ वटा निर्माणको ठेक्का लिएको र कामै नगरी अलपत्र पारेको देखिएको छ । सार्वजनिक खरिद ऐनले दिएको अधिकारको प्रयोग गर्दै एउटै कम्पनीले धेरै योजना लिएर अलपत्र पारेको देखिएको छ । कानुन अनुसार एउटै कम्पनीले ५ वटा सम्म ठेक्का लिन पाउने प्रावधान छ ।

यस्तै अन्य योजना अलपत्र पार्ने कम्पनी मध्ये सिराहाको अङ्कित कन्स्ट्रक्सन प्रा।लि हो । यो कम्पनीले दुई योजनाको ठेक्का जिम्मा पाएको छ । अङ्कित कन्ट्रक्सनले स्मार्ट सार्वजनिक शौचालय र इटहरी १६को हक्राहा खोलाको बक्स पुल निर्माणको ठेक्का पाएको र काम बिचमै छाडेर सम्पर्क विहीन भएको इटहरी उप महानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले बताए ।

भोजपुरको निर्माण कम्पनी अनु निर्माण सेवाले पनि २ वटा योजनाको काम गर्छु भनेर काम गरेको छैन । इटहरी २० को धन पुरी मार्गको कालोपत्रे योजना र टेङ्ग्रा खोला कोरिडोरमा रिटर्नीङ वाल लगाउने काम हुन सकेको छैन ।

खनार प्रहरी चौकी –भानु मार्ग भारबी रोड कालोपत्रे योजना आर वन कन्स्ट्रक्सन,घोईन्डा खोलाको पुल निर्माण इटहरी १६ को योजना एम के कन्स्ट्रक्सन सिराहाले अलपत्र छाडेका छन् ।

इटहरी १५ स्थित भोटिया खोलामा पुल बनाउने कामको ठेक्का पाएको भैरव नारायणम जे।भी नेपालगन्जले काम गर्न सकेको छैन ।
ठेकेदार कुमार गिरीले भने,‘समयमा भुक्तानी नपाएका कारण काममा ढिलाइ भएको बताए । उनले भने,निर्माण सामग्रीको मूल्य बढेकाले समेत समस्या भएको छ । मैले यही कुरा स्पष्टीकरण पत्रमा लेखेर पठाएको छु । ’

बजेट लगे काम गरेनन्

दुई वर्ष अघि इटहरीको थारु संस्कार संस्कृति सहित अन्य जातजाति भाषा भाषीहरूको कला र संस्कृतिलाई संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्न आदिवासी जनजाति संग्राहलय निर्माण सुरु गरिएको थियो ।

१६ मङ्सिर २०७८ मा निर्माण सम्झौता भएर काम सुरु भएको यो संग्राहलय २५ असार २०७९ मा निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने हो । तर यो संग्राहलयको काम हाल सम्म १६.७२ प्रतिशत मात्रै भएको छ । तर यो योजनाका लागि २ करोड ८६ लाख ९२ हजार ४९३ रुपैयाँ भुक्तानी भइसकेको छ ।

संग्राहालय बनाउने ठेक्का प्रेरा गिरी जे।भी हात्तिवनले पाएको थियो । निर्माण कम्पनी संग्राहलयको बेसको काम र आधा पिल्लर ठ्याएर सम्पर्क विहीन भयो । गर्दा गर्दैको काम त्यसै छाडेपछि संग्राहालय निर्माण अलपत्र छ । अहिले सो क्षेत्र हेर्दै उराठ लाग्दो देखिन्छ ।

यस्तै, दुई वर्ष अघि नै निर्माण सम्पन्न गरी हस्तान्तरण भएर सञ्चालन हुनुपर्ने १५ बेडको इटहरी अस्पतालको भवन अझै निर्माण सकिएको छैन । अस्पतालको ६५ प्रतिशत काम भएको छ तर बाँकी गर्नुपर्ने ३५ प्रतिशत काम कहिले सकिने हो टुङ्गो छैन ।

अस्पतालको भवन ३० असार २०७८मा प्रतिष्ठा गिरी जे.भी कम्पनीले निर्माणको सम्झौता भएर काम सुरु गरेको थियो । अस्पताल भवन बनाउने ठेक्का पाएको कम्पनीले ६ करोड ९५ लाख ४९ हजार ८४ रुपैयाँ भुक्तानी लगिसकेको छ ।

इटहरी अस्पतालले अहिले पुरानो भवनबाटै सेवा दिइरहेको छ । साँघुरो, जीर्ण भएको भवनबाट दुःखले नागरिकलाई सेवा दिनुपर्ने अवस्था छ । भवनको अभावमा इटहरी अस्पतालले थप सेवा विस्तार गर्न सकेको छैन ।

पर्याप्त ठाउँको अभावमा थप सेवा विस्तार गर्न नसकिएको अस्पतालका मे।सु डा। गुञ्जन त्रितालले बताए । निर्माण हुँदै गरेको भवन चाँडै सकिए अस्पतालले थप सेवा विस्तार गर्ने योजना रहेको उनले सुनाए । तर भवन कहिले बनिसक्ने हो टुङ्गो छैन ।

स्मार्ट शौचालय बनाउने भनेर उपमहानगर गेट पूर्वपट्टि भवन निर्माण सुरु गरिएको थियो । भवन त बन्यो तर सञ्चालनमा आउन सकेन । बाँकी काम त्यसै छाडेर ठेकेदार सम्पर्क विहीन बनेपछि भवन अलपत्र छ । त्यो भवनमा अहिले माकुराले जालो लगाएको छ ।

यस पछिका अन्य स्मार्ट शौचालय सञ्चालनमा आयो तर यो स्मार्ट शौचालय अझै सञ्चालनमा आउन सकेको छैन । यो शौचालय निर्माणको ठेक्का सिराहाको अङ्कित कन्स्ट्रक्सनले पाएको थियो । यो कन्स्ट्रक्सन कम्पनी पनि लामो समयदेखि सम्पर्कविहीन छ ।

इटहरी ६को मुख्य बजार भएर बग्ने टेङ्ग्रा खोलामा वाल लगाएर कोरिडोर बनाउने र त्यसमा व्युटिफिकेशन गर्ने योजना उपमहानगरको छ । सोही बमोजिम भोजपुरको अनु निर्माण सेवा कम्पनीसँग उपमहानगरले सम्झौता गरेको थियो । तर यो काम पनि सुरु हुनै सकेको छैन ।

इटहरी अस्पताल दक्षिणको सतन मार्गमा कालोपत्रे गर्ने काम बिचमै रोकिएको छ । ठेकेदारले २१ जेठ २०७९ मै कालोपत्रे गरिसक्नुपर्ने हो ।

तर अहिले सम्म त्यहाँ कालो पत्रे गर्ने तयारी देखिँदैन । यो योजनाको २४।१५ प्रतिशत मात्रै काम भएको इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेले जानकारी दिए । यो योजनामा २० लाख रुपैयाँ भन्दा बढी रकम भुक्तानी भइसकेको छ ।

कालोसूचीमा राखिन्छः मेयर

सडक तथा पूर्वाधार निर्माणका योजनाहरूको काम बीचमै अलपत्र पार्ने निर्माण कम्पनीहरुलाई कारबाही गर्दै कालोसूचीमा राख्न इटहरी उपमहानगरले स्पष्टीकरण सोधेको छ ।

विभिन्न १४ वटा योजनाहरूको काम नै नगरी अलपत्र अवस्थामा छाडेपछि उप महानगरले किन कालो सूचीमा नराख्ने भन्दै स्पष्टीकरण सोधेको हो । म्याद सकिएको लामो समय भई सक्दा पनि सम्पर्कमा नआउने निर्माण कम्पनीलाई स्पष्टीकरण सोधिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।

कानुनले दिएको अधिकार प्रयोग गरी तोकिएको मितिमा स्पष्टीकरण नदिने तथा सम्पर्कमा नआउने कम्पनीलाई कारबाही गर्ने उनले बताए । व्यवहारिक कठिनाइलाई मध्य नजर गर्दै एक पटकका लागि कारबाही गर्दै ठेक्का सम्झौता तोड्नु भन्दा अघि सार्वजनिक सूचना जारी गरिएको मेयर पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर