विकास र समृद्धिका नारा लिएर जनताबीच जाने एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ – Nepal Press

विकास र समृद्धिका नारा लिएर जनताबीच जाने एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाइ

रुपन्देही । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अब विकास र समृद्धिको नारा लिएर जनताको माझमा जाने बताएका छन् ।

शुक्रबार पश्चिम नवलपरासीको रामग्राममा अवस्थित गौतम वुद्धको अस्थीधातु रहेको स्थल रामग्राम स्तुपको निरीक्षणपछि आयोजित पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले अब एमाले सशक्त ढंगले प्रस्तुत हुने बताए । देश बर्बादीको बाटोतर्फ गइरहेको उल्लेख गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले जनतामा आशाको संञ्चार गराउने गरी एमालेले अभियान थाल्ने बताए ।

आर्थिक विकास तथा समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता तथा सामाजिक सद्भावको मूल एजेन्डा बोकेर एमाले जनताको माझमा जाने उनको भनाइ छ । एमाले क्रमशः कमजोर बन्दै गइरहेको हो भन्ने प्रश्नमा पोखरेलले गठबन्धनका कारण एमालेको सरकार नभएपनि जनमत बढ्दै गएको तर्क गरे । एमालेले गरेको राम्रो कामको नतिजाले नै राष्ट्रिय सभा निर्वाचनमा एक सीट जित्न सफल भएको पनि उनको तर्क थियो ।

वर्तमान सरकारकै कारण देशमा भ्रष्टाचार बढेको, सामाजिक सद्भाव खलबलिएको तथा दण्डहिनता बढेको उनले टिप्पणी गरे । पोखरेलले भगवान गौतम वुद्धको एक मात्र सिंङ्गो अस्थिधातु रहेको पवित्र स्थलको विषयमा सृजित विवादका सन्दर्भमा चासो राखेका थिए । पार्टीमा आवश्यक छलफलपछि स्तुपका सन्दर्भमा आधिकारिक धारणा सार्वजनिक गर्ने पनि उनले बताए ।

पोखरेललाई रामग्राम स्तुपमा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष दिपेन्द्रकुमार अधिकारी, उपाध्यक्ष डोलराज भण्डारी लगायतका जिल्ला तथा प्रदेश कमिटीका एमाले नेताहरु, जिल्ला समन्वय समितिका प्रमुख भगौति यादवलगायतले स्वागत गरेका थिए भने रामग्राम स्तुपबारे नगर प्रमुख धनपत यादवले जानकारी गराएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर