विनोद चौधरीको प्रश्न: १५ हजार जनतालाई रोजगारी दिइरहेको ग्रुपमाथि यस्तै व्यवहारको अपेक्षा गरिन्छ ? – Nepal Press

विनोद चौधरीको प्रश्न: १५ हजार जनतालाई रोजगारी दिइरहेको ग्रुपमाथि यस्तै व्यवहारको अपेक्षा गरिन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीलाई सीआईबीले पक्राउ गरेकोमा पार्टीको ध्यानाकर्षण गराएका छन् । कांग्रेस संसदीय दलको बैठकमा अरुणका दाइ तथा सीजी ग्रुपका प्रमुख चौधरीले आपत्ति जनाएका हुन् ।

उनले पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै भने, ‘सरकारले यसै किसिमको गतिविधिमा मीनबहादुर गरुङ जस्तो व्यक्तित्व, जसले नेपालमा भाटभटेनीको नामबाट एउटा नयाँ ट्रेन्ड स्थापित गरे- उनीसँग पनि त्यस्तै व्यवहार गर्‍यो । आज यो व्यवहार अरुण चौधरीसँग दोहोरिएको छ । यस्तै किसिमको मानसिकता क-कसमाथि दोहोरिनेछन् कसैले भन्न सक्दैन ।’

उनले आफूले देशको अर्थतन्त्रलाई अर्को तहमा पुर्‍याउन योगदान गर्न सकिन्छ भन्ने विश्वासका साथ काम गरिरहेको उल्लेख गर्दै आर्थिक विकास र रुपान्तरणमा योगदान गर्न कटिबद्ध भएर लागिरहेको बताए ।

उनले भने, ‘अहिले सीआईबीमार्फत् जुन व्यवहार हाम्रो परिवारमाथि भइरहेको छ, त्यसले मेरो मनोवल एकरत्ति पनि कमजोर हुनेवाला छैन ।’

सांसद चौधरीले अर्थमन्त्रीले लगानी सम्मेलनको तयारी गरिरहेको बेलामा उद्यमी व्यवसायीहरुलाई एकपछि अर्को गर्दै मानमर्दन गर्ने काम भइरहेकोमा आपत्ति जनाए ।

बैठमा उनले राखेकाे धारणा जस्ताको तस्तै

१. यो घटना २०४२ सालतिरको हो । चौधरी ग्रुपले देशका विभिन्न भागमा पशुपति बिस्कुट, महालक्ष्मी मैदा मिल, मेघा ऊल, वीरगञ्जलगायत देशका विभिन्न भागमा, काठमाडौंको सतुंगलमा, भैंसेपाटीको वाई वाई जस्ता विभिन्न प्रकारका उद्योगहरुमा निरन्तर तीव्र रप्mतारमा लगानी वृद्धि गरिरहेको बेला थियो । त्यही बेलामा जुत्ताको बजारमा बाँसबारी छाला जुत्ता कारखानाको आफ्नै प्रकारको वर्चस्व थियो । त्यो बेलामा स्पोर्ट सुजको पनि कल्चर आउन थालेको हुनाले स्पोर्ट सुजको प्लान्ट पब्लिक प्राइभेट पार्टरशिपको अवधारणामा ज्वाइन्ट भेन्चरमा गर्ने सोच चौधरी ग्रुपले लियो । त्यही सोचअन्तर्गत बाँसबारी छाला जुत्तासँग मिलेर उसको डिस्ट्रिव्युसन नेटवर्क, उसको जुत्ताको अनुभव र नयाँ टेक्नोलोजीलाई जोड्ने काममा चौधरी गु्रप अगाडि बढ्यो । जग्गासँग सम्बन्धित विषय नै होइन, उद्योग खोल्नेमात्रै सोच हो । त्यो बेलामा बाँसबारीकै जग्गाको कुरा गर्ने हो भने ५० हजार रुपैयाँ पनि रोपनीको भाउ थिएन । चौधरी ग्रुपका प्रशस्त कारखानाहरु थिए । यसको बावजुद पनि बाँसबारी छाला जुत्तासँगको उसको नेटवर्थ, डिस्ट्रिब्युसन, उसको छालासँग सम्बन्धित अनुभवलाई केन्द्रविन्दुमा राखेर ज्वाइन्टभेन्चरको अवधारणाअनुसार अगाडि बढ्यो । त्यसपछि गएर उद्योग चल्ने क्रम शुरु भयो । लगभग २०४६ सालतिर चौधरीका दाजुभाइहरुबीचको आपसी समझदारीमा सबैले आ-आफैंले चलाएका उद्योगहरु स्वीकारे र त्योअनुसार ग्रुप अगाडि बढ्यो ।

२. २०५०/५२ को मन्त्रिमण्डलले विदेशी लगानीकर्ता आईएमएफलगायतको विभिन्नको सुझावमा अनप्रडक्टिभ इन्भेस्टमेन्ट भएर बसेका शेयरहरु बिक्री गर्नुपर्छ भन्ने निर्णय लियो । कम्पनीहरु बिक्री गर्नुपर्छ भनेर निजीकरण्को माध्यम विश्वव्यापी भइरहेको कुरालाई नेपालले पनि अँगाल्यो र निजीकरणको प्रक्रिया शुरु भयो, जुन गर्न सरकारले निजीकरण इकाइ नै खडा गर्‍यो । अर्थ मन्त्रालयमा डीएफआईडीले विदेशी कन्सल्टेन्टहरुलाई समेत राखेर यस कार्यलाई अगाडि बढाएको थियो । यसैअन्तर्गत बाँसबारीको शेयर पनि बाहिर पब्लिक्ली अफर गरियो । त्यसका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरियो र त्यो आह्वानमा अरु जो-जसले गरेको लगानी सबैभन्दा बढ्ता स्वतः आफ्नो इन्ट्रेस्ट भएको ठाउँमा सकेसम्म आफैंले लिउँ भन्ने मानसिकता हुनु कुनै खराब कुरा भएन । उसले बिड गर्‍यो । बिड सबैभन्दा बढ्ता गर्‍यो र उसले पायो । त्यसपछि महालेखापरीक्षक, अर्थ मन्त्रालय, बाँसबारी छाला जुत्ताको बोर्डको स्वीकृति र पूर्ण सहमतिमा त्यो डिलको ट्रान्जेक्सन भयो । त्यसपछि उद्योग चल्न सकेन । उद्योग नचलेपछि त्यो उद्योगको जग्गामा अरु संरचना तयार भए । त्यो पछिको कुरा हो ।

३. यस प्रकारले सरकारको घोषित नीति, मन्त्रिमण्डलको लेवलमा गरिएको नीतिगत निर्णय र त्यो आधारमा गरिएको कार्यान्वयनहरु र ट्रान्सपेरेन्ट विदेशी दाता राष्ट्रहरुलगायत संलग्न रहेको यो कार्यान्वयन प्रक्रियाले पब्लिक प्राइभेट पाटनरशिपको अवधारणा अपनाएको थियो, जसलाई अहिले पनि देशले पच्छ्याउन खोजिरहेको छ । त्योअन्तर्गत खडा गरेको एउटा उद्योगमा लागेको एउटा देशको त्यत्रो प्रतिष्ठित उद्योगी साथै देशभरि पचासौं संरचना भएका व्यवसायिक समूहको प्रमुख व्यक्तिलाई यो प्रकारले विनाकुनै सूचना, विनाकुनै बोलाहत, विनाकुनै जानकारी, विनाकुनै स्पष्टीकरणको मौका नदिइकन एक्कासि गएर एउटा कैदी, एउटा अपराधीलाई समात्ने जस्तो गरिकन जुन काम भएको छ, त्यसको साह्रै नै ठूलो नकारात्मक सन्देश नेपालभित्रका व्यापारी लगानीकर्ताहरुमाझ गएको छ ।

४. देशको अर्थतन्त्र अप्ठेरोमा परेको बेलामा देशमा लगानी घट्दै गरेको बेलामा, देशका उद्योग व्यापार घट्दै गरेको कारणले यहाँका युवाहरु विदेशिएका बेलामा, राम्रा काम गरिरहेका युवासमेत विदेशिने परिस्थिति आइरहेको बेलामा नेपालको अर्थतन्त्र र नेपालको लगानीको वातावरणलाई हानि पुर्‍याउने कुरा निर्विवाद छ । सरकारले यसै किसिमको गतिविधिमा मीनबहादुर गुरुङ जस्तो व्यक्तित्व, जसले नेपालमा भाटभटेनीको नामबाट एउटा नयाँ ट्रेन्ड स्थापित गरे- उनीसँग पनि त्यस्तै व्यवहार गर्‍यो । आज यो व्यवहार अरुण चौधरीसँग दोहोरिएको छ । यस्तै किसिमको मानसिकताहरु क-कसमाथि दौडिनेछन् कसैले भन्न सक्दैन । यस्तो किसिमको मानसिकता यदि रह्यो भने यो देशमा लगानी उद्योगपति, व्यापारी र भविष्यमा कसैले पनि काम गर्ने वाला छैनन् ।

५. मानिसहरु मलाई प्रश्न गरिरहेका छन्, राजनीतिमा लागेर तिमीले किन दुःख पाइरहेका छौ ? मेरा शुभेच्छुकको सदीक्षाले यसो भनिरहेका होलान् । तर, मलाई नवलपरासीको मधेश र पहाडका नागरिकका बीचमा पुगेर काम गर्दा सन्तुष्टि मिलिरहेको छ । म यो देशको अर्थतन्त्रलाई अर्को तहमा पुर्‍याउन योगदान गर्न सकिन्छ भन्ने विश्वासका साथ काम गरिरहेको छु । देशको आर्थिक विकास र रुपान्तरणमा योगदान गर्न कटिबद्ध भएर लागिरहेको छु । अहिले सीआईबीमार्फत् जुन व्यवहार हाम्रो परिवारमाथि भइरहेको छ, त्यसले मेरो मनोवल एकरत्ती पनि कमजोर हुनेवाला छैन । चौधरी ग्रुपले गत आर्थिक वर्षमा मात्रै १६ अर्बभन्दा बढी कर तिरेको तथ्यांक मिडियाहरुले प्राथमिकतासाथ प्रकाशित गर्दा मलाई सन्तुष्टि मिल्यो । १५ हजार रोजगारी सृजना गरेर देशको अर्थतन्त्रमा प्रत्यक्ष योगदान गरिरहेको ग्रुपमाथि के यस्तै व्यवहारको अपेक्षा गरिन्छ ? मैले चौधरी ग्रुपअन्र्तगत रहेर मेरा भाइहरुले गरेको योगदानलाई यहाँ उल्लेख गरिरहेको छैन । उनीहरुको समेत योगदान उल्लेख गर्ने हो भने यो तथ्यांक धेरै माथि पुग्छ भन्ने हामी सबैलाई थाहै छ । माननीय अर्थमन्त्रीज्यू, लगानी सम्मेलनको तयारी गरिरहनुभएको छ र देशलाई आर्थिक समस्याबाट कसरी बाहिर निकाल्ने भन्नेमा चिन्तित हुनुहुन्छ । तर, यही बेला देशका उद्यमी व्यवसायीहरुलाई एकपछि अर्को गर्दै मानमर्दन गर्ने काम भइरहेको छ । यसले अर्थमन्त्रीको सोचमाथि प्रत्यक्ष प्रहार गरिरहेको छ । यस्तो व्यवहारले देशको अर्थतन्त्रलाई संकटमा पुर्‍याउनेछ भन्ने कुरालाई गम्भीरतापूर्वक मनन गर्न हाम्रो पार्टीको संसदीय दल, माननीयज्यूहरुको गम्भीर ध्यानाकर्षण गराउँछु ।


प्रतिक्रिया

2 thoughts on “विनोद चौधरीको प्रश्न: १५ हजार जनतालाई रोजगारी दिइरहेको ग्रुपमाथि यस्तै व्यवहारको अपेक्षा गरिन्छ ?

  1. सरकारी जग्गा हडपेर ठूला कुरा गर्न मिल्छ ? पैसा कसरी कमाएछौ त खुल्दै छ नि ।

  2. ६५ प्रतिशत भारतीय नागरिकलाई रोजगारी दिने चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली काँग्रेसका संघिय साँसद बिनोद चौधरीको यस्ता बकफुस कुरा पनि पत्याईदिनु पर्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर