गौतम श्रीमा बचतकर्ताकाे ४ अर्ब जाम : चैत मसान्तभित्र फिर्ता गर्ने याेजना प्रस्तुत – Nepal Press

गौतम श्रीमा बचतकर्ताकाे ४ अर्ब जाम : चैत मसान्तभित्र फिर्ता गर्ने याेजना प्रस्तुत

विभागमा पेश गर्यो श्वेतपत्र, सम्पत्ति कति छ ?

काठमाडौं । काठमाडौंको कुलेश्वरमा कार्यालय रहेको गौतमश्री बहुउदेश्यीय सहकारी संस्थाले १ अर्ब ७ करोड २१ लाख रुपैयाँ बचत फिर्ता गरिसकेको श्वेतपत्र सहकारी विभागमा पेश गरेको छ ।

४ अर्ब ९५ करोड ८ लाख १२ हजार रुपैयाँ निक्षेप रहेकोमा यही मंसिर मसान्त सम्ममा निक्षेपकर्ताको १ अर्ब ७ करोड २१ लाख रुपैयाँ फिर्ता गरेको श्वेतपत्रमा उल्लेख छ ।

गत पुस २९ गते विभागमा पठाएको श्वेतपत्रमा बाँकी दायित्व संस्थाको नाममा रहेको सम्पत्ति, अध्यक्षको परिवारको नाममा रहेको सम्पत्ति तथा ऋण लगानी असुल गरी भुक्तानी गर्ने उल्लेख छ ।

अध्यक्ष राम बहादुर गौतमले पेश गरेको श्वेतपत्रमा अध्यक्षले विभिन्न कम्पनीको शेयरमा गरेको लगानी र अन्य स्रोत तथा साधनको व्यवस्थापन गरी भुक्तानी गर्ने जनाएको छ ।

गौतम श्रीको ४ अर्ब ४४ करोड ५७ लाख ४२ हजार ५४२ रुपैयाँ बराबरको सम्पत्ति तथा जायजेथा देखिएको छ । आव २०७८/७९ को लेखा परीक्षणअनुसार नगद मौज्दात ३६ लाख ७९ हजार, बैंक मौज्दात १ करोड ६६ लाख ६७ हजार, कर्जा सापटी ३ अर्ब १ करोड लाख रुपैयाँ रहेको छ ।

कर्मचारी सापटी ३ करोड ७८ लाख ३७ हजार, सहकारी संस्थाको नाममा रहेको अचल सम्पत्ति १७ करोड ७५ लाख, सहकारी संस्थाको अध्यक्ष, उसको परिवार र अध्यक्ष सञ्चालक रहेको कम्पनीको नाममा रहेको चल सम्पत्ति १ अर्ब १४ करोड ४५ लाख २० हजार रुपैयाँ र अध्यक्ष सञ्चालक भएको कम्पनीको नाममा रहेको चल सम्पत्ति ४५ करोड रुपैयाँ रहेको छ ।

कर्जा लगानी भएको रकम चैत मसान्तसम्म असुल गरिने र यदि असुल हुन नसके धितो लिलामी प्रक्रिया अघि बढाइने बताइएको छ । ५ करोड ४ लाख ७४ हजार रुपैयाँ कर्जा धितो राखेर दिइएको गौतम श्रीले १ अर्ब २० करोड रुपैयाँ धितो बिना नै कर्जा प्रवाह गरेको देखिन्छ ।

कर्मचारीलाई बिना धितो कर्जा दिएको तर मासिक रुपमा तलबबाट कट्टा गर्नुपर्ने कर्जाको रकम कट्टा नगरिएको पाइएको छ । कर्मचारीलाई ३ करोड ७८ लाख रुपैयाँ कर्जा दिएको छ ।

संस्थाले अधिक ब्याज दिएर निक्षेप संकलन गरेकै कारण घाटामा गएको बताएको छ । अध्यक्ष राम बहादुर गौतमको नाममा २ अर्ब ११ करोड ५३ लाख ९७ हजार रुपैयाँ कर्जा देखाइ लेखा परीक्षणमा खुलाइएको र सो कर्जा विभिन्न मितिमा तिरि १ अर्ब ७६ करोड २९ लाख रुपैयाँ बाँकी रहेको छ ।

कसरी फिर्ता गर्छ चैत मसान्त भित्र निक्षेप ?

सहकारीले चैत मसान्तसम्ममा निक्षेप फिर्ता गर्ने योजना विभागमा पेश गरेको छ । निक्षेपलाई तीन प्रकारले वर्गीकरण गरी प्राथमिकताका आधारमा फिर्ता गर्ने उसले भनेको छ ।

१ लाख रुपैयाँ देखि ५ लाख रुपैयाँसम्म फिर्ता गर्दा स्वास्थ्य उपचार गराइरहेका, ६० वर्ष माथिका बचतकर्ता, एकल महिला र अन्य बचत कर्ता गरी क्रमैसँग प्राथमिकताका आधारमा बचत फिर्ता गरिने सहकारीले भनेको छ ।

गौतम श्री मा १ लाख देखि ५ लाखसम्मको निक्षेप ८३ करोड ५८ लाख ३५ हजार रुपैयाँ रहेको छ । ५ लाख देखि २५ लाख सम्मका निक्षेपकर्तालाई पनि प्राथमिकताका आधारमा निक्षेप फिर्ता गर्ने योजना अघि सारेको छ । ५ लाख देखि २५ लाख रुपैयाँसम्म १ अर्ब ६१ करोड ४१ लाख रुपैयाँ निक्षेप रहेको छ ।

यस्तै, २५ लाखभन्दा माथिका निक्षेप पनि प्राथमिकताकै आधारमा क्रमैसँग फिर्ता गर्दै लैजाने योजन गौतम श्रीले पेश गरेको छ । यस्तो निक्षेप १ अर्ब ५३ करोड ८६ लाख रुपैयाँ रहेको छ ।

सहकारी विभागले गत कात्तिकमै सहकारीहरुलाई बचत दायित्व, लगानी तथा सम्पत्ती लगायतका वित्तीय विवरण समेटिएको श्वेतपत्र जारी गरी निर्देशन दिएको थियो ।

अहिलेसम्म ३३ वटा सहकारीले मात्र श्वेतपत्र जारी गरेको विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले जानकारी दिए । विभागको नियमन क्षेत्रभित्र १४५ वटा सहकारी छन् । समयमै श्वेतपत्र नबुझाउनेलाई कानूनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर