कांग्रेस नेता विमलेन्द्र निधिले दाङ पुगेर भने- अबको प्रधानमन्त्री माधवकुमार नेपाल – Nepal Press

कांग्रेस नेता विमलेन्द्र निधिले दाङ पुगेर भने- अबको प्रधानमन्त्री माधवकुमार नेपाल

रुपन्देही । नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले अबको प्रधानमन्त्री सत्तारुढ गठबन्धन दल नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बन्ने बताएका छन् । उनले गठबन्धन सरकार २०८४ सम्म टिक्ने दाबी गर्दै यस्तो बताएका हुन् ।

बुधबार नेपाल प्रेस युनियन दाङ शाखाले घोराहीमा गरेको कार्यक्रममा नेता निधिले सत्ता गठबन्धनमा भएका सहमतिको अक्षरस कार्यान्वनका लागि गठबन्धन टिकाउनुको विकल्प नरहेको बताए । उनले देशको नेतृत्व पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्हालिरहेको बताउँदै दुई वर्षपछि समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एक वर्ष नेतृत्व गर्ने सहमति भएको सुनाए ।

पाँच वर्षे अवधिको अन्तिम दुई वर्ष नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व सम्हाल्दै २०८४ मा निर्वाचन गराउने गरी सहमति भएको हुँदा अहिलेको सत्ता गठबन्धन टिकाउन सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

नेता निधिले अहिले संयुक्त सरकार भएकाले निर्वाचनमा जनतासँग बाचा गरेअनुसार काम हुन नसके पनि गठबन्धनको आवश्यकता भने आगामी निर्वाचनसम्म हुनुपर्नेमा जोड दिए । ‘अहिलेको गठबन्धन भत्काउन खोज्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु जस्तै हो, सत्ता साझेदारबीच भएको सहमति कार्यान्वयनको बाटोमा सबै इमान्दारपूर्वक लाग्नुपर्छ । त्यसैले गठबन्धनको विरोध गर्ने होइन, कसरी आगामी निर्वाचनसम्म जान सकिन्छ, त्यसतर्फ लाग्ने हो’नेता निधिले भने ।

निधिले अरु बेला नेताको भाषण सुन्ने जनतासँग अहिले कांग्रेसले गुनासाहरु सुन्न ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको र नेताहरु गाउँगाउँमा पुगेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर