पूर्वअर्थमन्त्री पौडेलद्वारा भैरहवामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीको निरीक्षण (भिडिओ) – Nepal Press

पूर्वअर्थमन्त्री पौडेलद्वारा भैरहवामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकीको निरीक्षण (भिडिओ)

रुपन्देही । पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको भैरहवामा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) क्षेत्रको अवलोकन तथा निरीक्षण गरेका छन् ।

बुधबार निरीक्षण गदै पौडेलले यो आयोजना (आईसीपी) छिटो र गुणस्तरीय बनोस् भन्ने कुरामा आफूहरुको चासो रहेको बताए । उनले यो आईसीपी बनाउनका लागि धेरै पहिलादेखि नै कुरा चलिरहेको बताए । दुई देशका बीचमा सहमति भएको तर, जमिनको प्रबन्धका कारण अलि ढिलो भएको उनको भनाइ छ ।

‘आईसीपी निर्माण प्रगतिबारे जानकारी लिइयो, केही समस्याहरु भयो भने सिडियो साबले कोर्डिनेशन गरिहाल्नुहुन्छ । खासगरी अलि निर्माण सामग्रीको समस्या देखियो, ’उनले भने ।

रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत रहेका पौडेलले बीचमा आईसीपी निर्माणमा केही अवरोध आएको र त्यसलाई हटाइएको बताए । ‘छिटो काम सुरु गर्नका निम्ति हामीले पनि इनिशियसन लिएका थियौं, ’उनले भने ।

नेता पौडेलले आईसीपी दुई देशबीचको व्यवसायिक कारोबार तथा व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने बताए । उनले आईसीपीको प्रयोग विभिन्न ठाउँमा हुन लागेको बताए ।

आईसीपी निर्माणले भन्सार प्रणाली, व्यवसाय र प्रशासनिक संयन्त्रलाई पनि सहज हुने पौडेलले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पूर्वमन्त्रीको उपस्थितिमा आईसीपीको संयुक्त अनुगमन गरिएको बताए । उनले परियोजना व्यवस्थापनले दिएको जानकारी अनुसार यो परियोजना निर्माण कार्य सन्तोषजनक अवस्था रहेको बताए । प्रजिअ अर्यालले भने, ‘मुलतः करिब ३० प्रतिशत हाराहारीमा भौतिक प्रगति रहेको प्रस्तुति रह्यो । त्यो भनेको आफैमा नराम्रो होइन । त्यसमा सबै सरोकारवालाहरुले परियोजनाले सहयोग गर्ने र निर्माण कार्यलाई दु्रत गतिले अगाडि बढाउने सहमति भएको छ ।’

सुरुमा निर्माण सामग्रीको उपलब्धता भएन भन्ने समस्या आफूहरुसँग आएको र स्थानीय पालिकाहरुसँग छलफल तथा संवाद गरिएको बताए । उनले भने, ‘कतिपय सन्दर्भमा सहजीकरण गरेर निर्माण सामग्रीसँग सम्बन्धित समस्या समाधान गरेका छौं । मलाई लाग्छ अब यो परियोजनामा निर्माण सामग्रीसँग सम्बन्धित समस्या रहदैन ।’

नेपाल–भारतबीचको व्यापारलाई सहजीकरण गरी दुई देशबीच आयात निर्यातमा सहजता ल्याउने उद्देश्यले आईसीपी निर्माणको सम्झौता भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर