नेपाल स्काउटमा १२ वर्षपछि निर्वाचन हुँदै, तदर्थवाद अन्त गर्न मन्त्री लिम्बुको पहल – Nepal Press

नेपाल स्काउटमा १२ वर्षपछि निर्वाचन हुँदै, तदर्थवाद अन्त गर्न मन्त्री लिम्बुको पहल

काठमाडौं । १२ वर्षदेखि हुन सकेको नेपाल स्काउटको निर्वाचन युवा तथा खेलकुद मन्त्री डिगवहादुर लिम्बुले यसपटक गराउन आफैंले पहल लिएका छन् ।

नेपाल स्काउटको तीनै तहकोे निर्वाचन यही माघ २२ र २७ गते हुने भएको छ । गत पुस २३ गते मन्त्री लिम्बुको अध्यक्षतामा बसेको राष्ट्रिय परिषद्को बैठकले १२ बर्षपछि नेपाल स्काउटको स्थानिय, प्रदेश र राष्ट्रिय परिषद्हरुको निर्वाचन तोकेको थियो ।

सबै आशंका र विवादहरु चिर्दै यसपटक निर्वाचन हुने भएको छ । निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा संचालन गर्न युवा तथा खेलकुद मन्त्रालयलले सहसचिव शिव रेग्मीको अध्यक्षतामा पाँच सदस्यिय निर्वाचन समिति समेत गठन गरेको छ ।

बालबालिका तथा युवाहरुलाई अनौपचारिक शैक्षिक अभियान मार्फत अनुशासित, कर्मठ, स्वाभलम्वी र राष्ट्रप्रेमी नागरिकको रुपमा उत्पादन गर्ने उद्देश्य बोकेको स्काउट अभियान विश्वका १७० भन्दा बढि मुलुकमा संचालनमा छ । २०६८ यता राजनीतिक दलहरुको कोपभाजनको शिकार भएको नेपाल स्काउटमा निर्वाचन बिना तदर्थ समितिले नै सम्पुर्ण प्रशासनिक कार्य गर्दै आइरहेको थियो ।

तदर्थ समितिका लोकवहादुर भण्डारीको कार्यकाल समेत सकिएपछि अब निर्वाचन हुन लागेको हो । सरकार परिर्वतन भएपिच्छे नेतृत्व परिर्वतन हुँदै आइरहेको नेपाल स्काउटमा यसपटक निर्वाचनबाटै नेतृत्व ल्याउन मन्त्री तत्पर देखिएका हुन् ।

यो कदमले नेपालमा पबित्र स्वयमसेवी संगठनको छबि बनाएको नेपाल स्काउटको १२ बर्षे लामो संक्रमण अन्त्य हुनेभएको छ । नेपाल स्काउट ऐन २०५० बमोजिम युवा तथा खेलकुद मन्त्री नेपाल स्काउटको प्रमुख स्काउट र राष्ट्रिय परिषद्को अध्यक्ष हुने व्यवस्था रहेको छ ।

२०६८ सालमा निर्वाचन भएको समितिले २०७० मा राजिनामा दिएपछि नेपाल स्काउट बिभिन्न सरकारले गठन गरेको तदर्थवादमा चल्दै आएको छ । १२ वर्षपछि हुन लागेको निर्वाचनले आम स्काउट सदस्यहरु, सरोकारवाला र अन्तराष्ट्रिय समुदायमा समेत सकारात्मक सन्देश गएको छ ।

नेपाल स्काउटमा रहेको दशकलामो संक्रमणलाई सम्बोधन गर्न मन्त्री डिगबहादुर लिम्बुले गरेको यो पहलले युवा सशक्तिकरण र लोकतान्त्रिक मूल्यमान्यताको प्रवर्द्धनमा सरकारको प्रतिबद्धता केहीहद सम्म सकारात्मक बनाउने स्काउटहरुको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *