दोलखा एमालेको अध्यक्षका लागि ‘हेभीवेट’ भिडन्त, केन्द्रीय नेता सर्वसम्मतिको प्रयासमा उदासीन – Nepal Press

दोलखा एमालेको अध्यक्षका लागि ‘हेभीवेट’ भिडन्त, केन्द्रीय नेता सर्वसम्मतिको प्रयासमा उदासीन

काठमाडौं । नेकपा एमाले दोलखा जिल्लाको नेतृत्वका लागि तीन जना प्रभावशाली नेता मैदानमा उत्रिएका छन् । माघ २२, २३ र २४ गते चरिकोटमा हुने दशौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ ।

एमालेको जिल्ला नेतृत्वका लागि हालका अध्यक्ष नरबहादुर श्रेष्ठले दोहोरिने तयारी गरेका छन् । श्रेष्ठ दोहोरिन खोजेपछि पूर्वअध्यक्ष ईश्वरचन्द्र पोखरेल पनि अध्यक्षको उम्मेदवार बन्ने भएका छन् ।

अध्यक्षका लागि भरत दुलाल पनि मैदानमा छन् । उनी यसअघि नरबहादुर श्रेष्ठसँग पराजित भएका थिए । नरबहादुर श्रेष्ठ गत निर्वाचनमा प्रदेशसभा सदस्य पराजित भएका थिए ।

तामाकोशी गाउँपालिकाको पूर्वअध्यक्ष ईश्वरचन्द्र पोखरेल बागमती प्रदेश अधिवेशनमा उपाध्यक्ष पदमा प्यानल बाहिरको उम्मेदवार बनेर झिनो मतले पराजित भएका थिए ।

पूर्वअध्यक्ष पोखरेल फेरि मैदानमा उत्रिएपछि दोलखा एमालेको अधिवेशन रोचक बनेको छ । जिल्लाका सिनियर नेताहरु अध्यक्षको उम्मेदवार बनेपछि अध्यक्षको आकांक्षी रहेका अरु नेता तलका पदमा सेटल हुन खोजेका छन् ।

अध्यक्ष उम्मेदवारमध्ये श्रेष्ठलाई पोलिटव्युरो सदस्य पार्वत गुरुङको समर्थन छ । उनको प्यानलबाट उपाध्यक्षमा राजेन्द्र मानन्धर दोहोरिँदैछन् । मानन्धर अध्यक्षको दाबेदार थिए । तर, टीम मिलाउन उनी उपाध्यक्षमै दोहोरिने भएका हुन् ।

त्यस्तै पोखरेलको प्यानलबाट उपाध्यक्षमा हालका सचिव हिरा थोकर उम्मेदवार बन्ने सम्भावना छ । थोकर मेलुङ गाउँपालिका अध्यक्षसमेत हुन् । ईश्वरचन्द्र पोखरेललाई पोलिटव्युरो सदस्य आनन्द पोखरेलको साथ रहेको बताइन्छ ।

दुलाल पनि पोखरेल निकट भएकाले मिलाउन दबाब छ । उनी ईश्वरचन्द्र पोखरेल अध्यक्ष र नरबहादुर श्रेष्ठ उपाध्यक्ष भएका बेला जिल्ला कमिटी सचिव थिए । उनलाई फेरि पोखरेलको सचिवमा मनाउने प्रयास पनि भइरहेको छ ।

सचिवमा पोखरेल पक्षबाट कृष्ण बस्नेत, होम पाठकलगायतको नाम चर्चामा छ भने श्रेष्ठ पक्षबाट केशव कार्की, सोयमबहादुर खड्का र माधव घिमिरे दावेदार छन् ।

उपसचिवमा श्रेष्ठ पक्षका ईश्वर न्यौपाने, सुन्दर कार्की, कमला बस्नेत दाबेदार छन् भने पोखरेल पक्षबाट हरि वली, रेशम रिमाल, गायत्री आचार्यलगायतको दाबी छ ।

जिल्ला नेतृत्वमा सर्वसम्मत गराउने प्रयास भने देखिएको छैन ।  दोलखाबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने नेताहरु पनि सर्वसम्मतिको प्रयासमा उदासीन र कतिपय निरीह छन् ।

आनन्द र पार्वतवाहेक केन्द्रीय सदस्य ईश्वरी रिजाल,रचना खड्का,सरस्वती बस्नेत पनि छन् तर उनीहरु कि त एक पक्षमा विभाजित छन् वा सर्वसम्मतिको प्रयासमा उनीहरुको भूमिका निर्णायक छैन । जिल्लाका अन्य प्रभावशाली नेता बालकृष्ण शिवाकोटी,डबल पाण्डे,भरत केसी,टंक जिरेललगायत पनि मौन देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर