पूर्व राज्यमन्त्री बिकको नेतृत्वमा दलित महिला महासंघ गठन – Nepal Press

पूर्व राज्यमन्त्री बिकको नेतृत्वमा दलित महिला महासंघ गठन

काठमाडौं । दलित समुदायका महिलाको मुद्दालाई सिंहदरबारसम्म पुर्याउने उद्देश्यसहित दलित महिला महासंघ नेपाल गठन भएको छ । मंगलबार पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीसमेत रहेकी नेकपा (एमाले)की नेता बिमला विकको अध्यक्षतामा ११ सदस्यीय महासंघ गठन भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको महासंघको उपाध्यक्षमा एमालेकै केन्द्रीय सदस्य एवम पूर्व राज्यमन्त्री आशा बिक, महासचिवमा पनि एमालेकै नेतासमेत रहेकी अधिकारकर्मी सरस्वती नेपाली, सचिवमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मिना परियार र कोषाध्यक्ष पूर्व प्रदेश राज्यमन्त्री एवम एमालेकै नेता जसमाया गजमेर रहेका छन् ।

महासंघको सदस्यमा बागमती प्रदेश सभाका पूर्व सांसद एवम एमाले नेता मैना अछामी, एमालेसँग नजिक रहेकी धनमाया विश्वकर्मा, अजिता पासवान, कविता नेपाली जुनी बिक र पवित्रा नेपाली रहेका छन् ।

सातवटै प्रदेशका २८ वटा जिल्लाका दलित महिलाले नेतृत्व गरेको ३६ वटा संस्था महासंघमा आवद्ध भइसकेको अध्यक्ष विकले जानकारी दिईन । दलित महिला लिङ्ग, जात र वर्गका हिसाबले अझै पनि समुदायको पिँधमा रहेको उल्लेख गर्दै उनीहरुको अधिकारको वकालत गर्नका लागि साझा मञ्चको आवश्यकता भएकाले महासंघको गठन गरिएको उनले बताइन् ।

हत्या, हिंसा र वलात्कारको घटनामा ७० प्रतिशत भन्दा बढी दलित महिला पीडित हुनुपरेको अवस्था भए पनि यसले सिंहदरबारलाई अझै छुन नसकेको उनको भनाई छ । उनका अनुसार दलित महिलाको मुद्दा र मागलाई सिंहदरबारसम्म पु¥याउनका लागि महासंघले काम गर्नेछ ।

दलित महिला विभिन्न पार्टी तथा गैरसरकारी संस्थामा विभक्त हुँदा अधिकारको लागि साझा रुपमा अघि बढ्न नसकिएकोले साझा मुद्दामा साझा रुपमा अगाडी बढ्न महासंघ आवश्यक भएको अध्यक्ष बिकको भनाई छ । उनले महासंघले दलित महिलाको हितमा कानून, योजना र बजेट तर्जुमाका लागि वकालत गर्ने पनि बताइन् । त्यसैगरी महिला आरक्षणभित्र दलित महिलाको अर्थपूर्ण प्रतिनिधित्वको लागि लड्ने पनि उनको भनाई छ ।

महासंघका सचिव मिना परियारले दलित महिलामाथि हुने गरेको हिंसाको विरुद्धमा महासंघले सडक संघर्षसमेत गर्ने बताइन् । उनले कानूनलाई दलित महिलाको पहुँचयोग्य बनाउने, दलित महिला जनप्रतिनिधिलाई सशक्तिकरण र नेतृत्व विकासका लागि महासंघले सहजीकरण गर्ने पनि जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *