सन् २०२३ नेपाल भारत सम्बन्धमा माइलस्टोन, अन्तर्राष्ट्रिय मुद्दामा पनि सँगै छौं: प्रशन्न श्रीवास्तव (भिडिओ) – Nepal Press

सन् २०२३ नेपाल भारत सम्बन्धमा माइलस्टोन, अन्तर्राष्ट्रिय मुद्दामा पनि सँगै छौं: प्रशन्न श्रीवास्तव (भिडिओ)

काठमाडौं । सन् २०२३ मा नेपाल र भारतबीचको सम्बन्ध निकै उन्नत भएको भारतीय अधिकारीले बताएका छन् ।

काठमाडौंस्थित भारतीय दूतावासका डीसीएम प्रशन्न श्रीवास्तवले नेपाल भारत सम्बन्धको इतिहासमा बितेको एक वर्ष माइलस्टोन नै बनेको बताएका हुन् ।
भारतको ७५औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंमा नेपाल भारत मानव सेवा तथा मैत्री संघलगायत संस्थाहरुले आयोजना गरेको कार्यक्रममा श्रीवास्तवले छिमेकी पहिले भन्ने भारत सरकारको नीतिमा नेपाल प्राथमिकतामा रहेको प्रष्ट पारे ।

उनले पछिल्लो वर्ष राजनीतिक, आर्थिक, व्यापारिक र विकास साझेदारीमा दुई देशबीच राम्रो प्रगति भएको भन्दै दुई देशले एक अर्काबीच मिलेर प्रगति गर्नमा प्राथमिकता दिएकोसमेत बताए । यो वर्ष दुवै देशबाट उच्चस्तरीय भ्रमण भएको र यसमा धेरै सम्झौताहरु समेत भएको बताए ।

श्रीवास्तवले भने, ‘प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा प्रधानमन्त्री मोदीसँगको वार्ताले महत्वपूर्ण निर्णय र सम्झौता भएका छन् ।

पूर्वाधार, कनेक्टिभिटी, ऊर्जा सम्बन्धमा सहकार्यको नयाँ सम्झौता भएको छ । यी निर्णयलाई अघि बढाउँदै नेपालका परराष्ट्रमन्त्रीको आमन्त्रणमा भारतीय विदेशमन्त्रीको यात्रा भएको छ । भारत र नेपाल विषम परिस्थितिमा पनि साथ मिलेर काम गरेका छन् । गोर्खा भूकम्पपछि भारतले तत्कालै सहयोग गर्‍यो र पछिल्लो वर्षमात्र एक सयभन्दा बढी पुनर्निर्माणका परियोजना सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गरिएको छ ।

जाजरकोटमा नोभेम्बरमा गएको भूकम्पमा पनि तत्कालै गर्न सक्ने सहायता भारतले उपलब्ध गराएको छ र हाम्रो विदेशमन्त्री आएर नेपालसँग पुनर्निर्माणमा मिलेर काम गर्न तयार रहेको बताउनुभएको छ । त्यसका लागि भारतले एक हजार करोड नेपाली रुपैयाँ सहायता दिने भनेको छ ।’

श्रीवास्तवले पछिल्ला वर्ष नेपाल भारत मिलेर अन्तर्राष्ट्रिय मुद्दामा पनि एक साथ काम गरेको भन्दै दक्षिण दक्षिण सहयोगमा नेपाल भारतसँगै रहेको बताए ।

उनले नेपालको हरेक क्षेत्रको विकासमा भारत साझेदार रहन तयार रहेको प्रस्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर