भक्तपुरको चाँगुनारायणमा बन्ने भयो नमुना सांस्कृतिक औद्योगिक ग्राम – Nepal Press

भक्तपुरको चाँगुनारायणमा बन्ने भयो नमुना सांस्कृतिक औद्योगिक ग्राम

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा मौलिक सीप, कला र घरेलु उद्योग लक्षित नमुना सांस्कृतिक औद्योगिक ग्राम बन्ने भएको छ । चाँगुनारायण नगरपालिका- ७ वागेश्वरीस्थित गुरुङटारमा उक्त औद्योगिक ग्राम बन्ने भएको हो ।

सांस्कृतिक औद्योगिक ग्राम बनाउन नगरपालिकाले बागमती प्रदेश सरकारसमक्ष गुरुङटारस्थित ६३ रोपनी सरकारी जग्गा उपलब्ध गराउने सर्वपक्षीय निर्णयसहित सिफारिस गरेर पठाइसकेको चाँगुनारायण नपाका मेयर जीवन खत्रीले बताए ।

उनले नपाको सिफारिसपछि प्रदेश सरकारले सांस्कृतिक औद्योगिक ग्राम निर्माण सम्भाव्यता अध्ययनको काम अघि बढाइरहेको जानकारी दिए ।

‘ऐतिहासिक चाँगुनारायण मन्दिर र पर्यटकीय गन्तव्यस्थल नगरकोटले ख्याति पाउँदै आएको हाम्रो नगरपालिका अब नमुना सांस्कृतिक औद्योगिक ग्राम भएको नगरको रुपमा पनि चिनिनेछ’, मेयर खत्रीले भने ।

बागमती प्रदेश सरकारको उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारसहितको टोलीले गुरुङटारस्थित सरकारी जग्गाको स्थलगत अध्ययनसमेत गरिसकेको छ । उक्त अवसरमा मन्त्री चित्रकारले भक्तपुरको कला र संस्कृतिसँगै मौलिक सीप र कला प्रयोग हुने घरेलु तथा साना उद्योगको संरक्षण गर्न चाँगुनारायणमा सांस्कृतिक औद्योगिक ग्राम बन्ने दृढता व्यक्त गरेका थिए ।

स्थलगत अध्ययनपश्चात चाँगुनारायणमा सांस्कृतिक औद्योगिक ग्रामको सम्भाव्यता अध्ययन प्रक्रिया अघि बढेको मन्त्रीसहितको टोलीमा सहभागी मन्त्रालयका सचिव राजेन्द्रकुमार केसीले जानकारी दिए ।

भक्तपुरमा स्थानीय विकास अधिकारीसमेत भइसकेका सचिव केसीका अनुसार मन्त्रालयले सम्भाव्यता अध्ययन गर्न यसअघि नै बजेट छुट्याइसकेको छ ।

‘यो प्रदेश सरकारको वार्षिक कार्यक्रममा समेत परेको योजना हो । स्थलगत अध्ययनपछि डकुमेन्टेसनको काम गरिरहेका छौं’, उनले भने, ‘संघीय सरकारले हस्तकला औद्योगिक ग्रामसम्बन्धी मापदण्ड बनाएको छ । सोही मापदण्डभित्र रहेर चाँगुनारायणमा सांस्कृतिक औद्योगिक हस्तकला ग्रामसम्बन्धी काम गर्छौं ।’

उनले चाँगुनारायणमा कला र संस्कृतिसँग सम्बन्धित नमुना सांस्कृतिक औद्योगिक ग्राम बनाउन लागिएको बताए । काम गर्दै जाँदा स्रोतको अभाव नहुने गरी व्यवस्था गरिएकोले चाँगुनारायणमा सांस्कृतिक औद्योगिक हस्तकला ग्राम निश्चित रुपले बन्ने उनले बताए ।

सचिव केसीका अनुसार भक्तपुरको नगरकोट पुग्ने पर्यटकहरुलाई समेत लक्षित गरेर चाँगुनारायणमा सांस्कृतिक औद्योगिक ग्राम बनाउने डिजाइन गरिएको छ । त्यसैले यहाँका पर्यटनसँग सम्बन्धित हस्तकलासम्बन्धी उद्योगलाई बढी प्राथमिकता दिइने उनले बताए ।

मेयर खत्रीले चाँगुनारायण नपामा सांस्कृतिक औद्योगिक ग्राम निर्माणसँगै स्थानीयस्तरमा उत्पादन हुने घरेलु सीप, कला र उत्पादनलाई प्राथमिकतामा राखिने बताए ।

उनले प्रदेश सरकारले सबै प्रक्रिया पूरा गर्दा बजेट अभावले भौतिक संरचना निर्माण हुन नसके नगरपालिकाले आफ्नै बजेटमा काम अघि बढाउने दृढता व्यक्त गरे ।

‘चाँगुनारायणमा बन्ने सांस्कृतिक औद्योगिक ग्राम देशकै लागि नमुना हो । त्यसैले यो नमुना काम पूरा गर्न नपा पछि पर्दैन’, मेयर खत्रीले भने, ‘ठाउँ अपुग भए थप जग्गा व्यवस्थापन गर्न, सांस्कृतिक औद्योगिक ग्राम निर्माण गरी स्थानीय मौलिक घरेलु तथा साना उद्योगको संरक्षण गर्दै यहाँका युवा पुस्तालाई रोजगारीको व्यवस्था गर्न नगरपालिका सदैव तत्पर छ ।’

उनले चाँगुनारायणको पर्यटन प्रवर्द्धन, औद्योगिक विकास, रोजगारी सिर्जनामा सांस्कृतिक औद्योगिक ग्रामले उल्लेख्य योगदान गर्ने विश्वास व्यक्त गरे ।

‘सांस्कृतिक औद्योगिक ग्राममा स्थाीयस्तरमा उत्पादन हुने लत्ताकपडा, बाँस, निगालो र काठबाट बन्ने मौलिक फर्निचर, डोको, डालो, नाङ्लो, मुढा, परालको चकटी, गुन्द्री, सुकुल, खाद्यान्नलगायत उत्पादन गर्ने घरेलु तथा साना उद्योगीलाई सुलभ रुपमा ठाउँ उपलब्ध गराउँछौं’, उनले भने, ‘यहाँबाट हुने उत्पादनको बजार व्यवस्थापन र प्रदर्शनीमा नपाले सहयोग गर्छ । यसले चाँगुनारायण नपाको पर्यटन प्रवर्द्धन, औद्योगिक विकास, रोजगारी सिर्जना तथा स्वरोजगार अभिवृद्धिमा उल्लेख्य योगदान गर्ने विश्वास लिएका छौं ।’

बागमती प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुसार भक्तपुरको चाँगुनारायण नपामा सांस्कृतिक औद्योगिक ग्राम बन्ने निश्चित छ । प्रदेश सरकारले सम्भाव्यता अध्ययनको लागि बजेटसमेत विनियोजन गरेको छ ।

बागमतीका अन्य ५ जिल्लामा भने औद्योगिक ग्राम निर्माणबारे सम्भाव्यता अध्ययनको काम भइरहेको सचिव केसीले बताए । बाँकी जिल्लामा पनि क्रमशः औद्योगिक ग्राम विस्तार गर्दै जाने सरकारको नीति रहेको सचिव केसी बताउँछन् ।

‘भक्तपुरको चाँगुनारायणमा कला र संस्कृतिसँग सम्बन्धित नमुना सांस्कृतिक औद्योगिक ग्राम बनाउन लागिएको हो’, उनले भने, ‘काभ्रेको मण्डन देउपुर नपा, दोलखाको वैत्यश्वर गापा, सिन्धुलीको हरिहरपुर गापा, मकवानपुरको बागमती गापा र धादिङको नीलकण्ठ नपामा औद्योगिक ग्राम बनाउन सम्भाव्यता अध्ययन भएर जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको छ ।’

उनका अनुसार सात वटै जिल्लाका स्थानीय तहमा जग्गा प्राप्तिको काम भइसकेको छ । अब भूमिको नक्सांकन (ल्याण्ड म्यापिङ)लगायतका काम हुने उनको भनाइ छ ।

‘यसपछि डीपीआर बन्छ । डीपीआर बन्न धेरै समय लाग्दैन । अर्को आर्थिक वर्षमा पूर्वाधार निर्माण गर्ने हाम्रो लक्ष्य छ’, सचिव केसीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर