आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्नुपर्छ : राष्ट्रपति – Nepal Press

आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई साहित्यिक तीर्थस्थलका रूपमा विकास गर्नुपर्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदी रम्घालाई साहित्यिक तीर्थस्थल र गन्तव्यका रूपमा विकास गर्न प्राप्त बजेटको सदुपयोग गरी काम गर्नुपर्ने बताएका छन् ।

भानु नगरपालिकाका मेयर उपमेयरसहितका जनप्रतिनिधि एवम् भानु साहित्य उद्यान समितिका पदाधिकारीहरूसँगको आज यहाँ भएको भेटमा राष्ट्रपति पौडेलले लोकतान्त्रिक, पारदर्शी र प्रभावकारी ढंगले गुरुयोजना अनुरूप प्राप्त बजेटको सदुपयोग गर्न उनीहरूलाई सुझाव दिए ।

उनले भानु जन्मस्थल र आदिकवि भानुभक्तको महत्त्व उजागर गरी गुरुयोजना अनुरूप तदारुकताका साथ काम गर्न सुझाव दिए ।

नेपाल सरकार मन्त्रिपरिषद्को केही समय अघिको निर्णयबाट भानु साहित्य उद्यानको प्रयोजनका लागि जग्गा प्राप्ति, गुरुयोजना निर्माण, साहित्यिक स्रष्टाहरूको शालिक निर्माण र आवश्यक साहित्यसंस्कृति झल्कने संरचना बनाउन भानु नगरपालिकालाई सशर्त पाँच करोड रुपैयाँ बजेट दिने निर्णय गरेको थियो ।

सो अवसरमा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले राष्ट्रपतिको निरन्तर चासो र पहलमा बजेट उपलब्ध भएकोमा उनीप्रति विशेष आभार व्यक्त गर्दै उनको प्रेरणा लिएर दिनरात नभनी काम अगाडि बढाउने बताए ।

सो अवसरमा उद्यान समितिका अध्यक्ष डा जयराज आचार्यले समितिले उद्यान निर्माणको लागि आवश्यक परामर्श, रेखदेख र योजनासहित नगरपालिकालाई सहयोग गर्ने जानकारी दिए । सो अवसरमा सहभागीहरूले संघ, प्रदेश, स्थानीय सरकार, स्थानीय सरोकारवाला सक्रियतामा चुँदी रम्घालाई देश विदेशका साहित्य साधकहरूको गन्तव्य र साधना केन्द्र बनाउन काम गर्न सुझाव दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *