राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा तीन पदका लागि आज मतदान – Nepal Press

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा तीन पदका लागि आज मतदान

कैलाली । राष्ट्रियसभामा १९ जनाको पदावधि आगामी फागुन २० गते सकिँदै छ । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार आज निर्वाचन हुन लागेको छ ।

सुदूरपश्चिममा तीन पदका लागि आज प्रदेश सभा भवनमा मतदान हुने छ । बिहान ९ बजे देखी ३ बजे सम्म मतदान गर्ने समय निर्धारण गरिएको छ ।

सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी उत्सव र महेश महरा तथा नेकपा नेकपा एमालेका इन्दु कडरियाको पदावधि सकिन लागेको हो ।

गठबन्धनको तर्फबाट अन्यबाट नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक कलस्टरमा कांग्रेसकै नारायणदत्त भट्ट र महिला कलस्टरमा माओवादीबाट रेणु चन्द उम्मेदवार छिन् ।

एमालेले भने, अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार छन् ।

आज स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷ उपाध्यक्ष र प्रदेश सभा सदस्यहरूले मतदान गर्ने छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयको सिफारिससमेत आधारमा राष्ट्रियसभा सदस्यको पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको छ ।

यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनमा उक्त मतभार प्रदेशसभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १८ रहेको थियो ।

अहिलेसम्म मतभारको आधारमा कांग्रेस सबैभन्दा बलियो अवस्थामा देखिएको छ त्यसपछि एमाले, माओवादी, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादी रहेका छन् । यहाँ राप्रपाको भन्दा स्वतन्त्र जितेकाहरूको मतभार बढी रहेको छ ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा अहिले ५२ जना प्रदेश सभा सदस्य रहेका छन् । बझाङको प्रदेशसभा काङ्ग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको मृत्यु भएपछि अहिले कांग्रेसका १८ जना, नेकपा एमालेका ११ जना, नागरिक उन्मुक्ति पार्टीका ७ जना, नेकपा एकीकृत समाजवादीका ४ जना सांसद छन् । राप्रपा र स्वतन्त्रका १÷१ जना छन् ।

स्थानीय तहमा पनि सबैभन्दा धेरै कांग्रेसका जनप्रतिनिधि निर्वाचित छन् । सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये प्रमुख वा अध्यक्षमा ४० जनाले जितेका छन् भने उपप्रमुख वा उपाध्यक्षमा ४८ जनाले जितेका थिए । केही दिन पहिले स्वामिकार्तिक गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको मृत्यु भएपछि अहिले ४७ जना छन् ।

कांग्रेसको एक्लै स्थानीय तहको मतभार १ हजार ६६ हुन्छ भने प्रदेश सभाको मतभार ९५४ हुन्छ । यसरी सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको लागि कांग्रेस एक्लैको मतभार २ हजार ५८८ रहेको छ ।

एमालेले स्थानीय तहमा २४ प्रमुख र २६ उपप्रमुख जितेको छ । एमालेले स्थानीय तहको मतभार ९५० र प्रदेश सभाको मतभार ५८३ रहेको छ । यसरी सुदूरपश्चिममा एमालेको कुल मतभार १ हजार ५ सय ३३ रहेको छ ।

माओवादीले स्थानीय तहमा १४ प्रमुख र ११ उपप्रमुख जितेको छ माओवादीको स्थानीय तह र प्रदेशसभाको कुल मतभार १ हजार ५ रहेको छ । नागरिक उन्मुक्तिले स्थानीय तहमा ४ प्रमुख र ३ उपप्रमुख जितेको छ । यो पार्टीको प्रदेश र स्थानीय तहको मतभार ५०४ रहेको छ ।

नेकपा एकीकृत समाजवादीले स्थानीय तहमा २ प्रमुख र ३ उपप्रमुख जितेको छ । यो पार्टीको दुवै मतभार ३०७ रहेको । २ पालिकामा स्वतन्त्र लडेको उम्मेदवारले प्रमुख जितेका छन् भने प्रदेश सभामा पनि एक जनाले स्वतन्त्र जितेका छन् । उनीहरूको मतभार ९१ छ । राप्रपाको मतभार सुदूरपश्चिममा ५३ मात्रै छ । यहाँ एक जना प्रदेशसभा सदस्य छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर