राष्ट्रियसभा निर्वाचनका बेला ग्रामथान गाउँपालिकाका अध्यक्ष बेहोस, नोबेलमा उपचार हुँदै – Nepal Press

राष्ट्रियसभा निर्वाचनका बेला ग्रामथान गाउँपालिकाका अध्यक्ष बेहोस, नोबेलमा उपचार हुँदै

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बेहोस भएर ढलेपछि उपचारका लागि अस्पताल भर्ना गरिएको ।

राष्ट्रियसभा निर्वाचनका लागि छलफल गर्न विराटनगरस्थित होटल स्ट्रन स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थारु बुधवार साँझ ७ः१० बजेतिर बेहोस भएर ढलेका थिए । होटलमा खाना खाने बेलामा थारु अचानक बेहोस भएपछि उपचारका लागि पारस अस्पताल लगिएको थियो ।

त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको छ ।

नोबेलको भेन्टिलेटरमा राखेर गाउँपालिका अध्यक्ष थारुको थप उपचार भइरहेको र अझैसम्म अचेत अवस्थामै रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए । उनका अनुसार अवस्था गम्भीर रहेको जानकारी अस्पतालले दिएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि बिहीबार मतदान हुँदै छ । स्थानीय तहका प्रमुख एवं उपप्रमुख पनि निर्वाचनका मतदाता हुन् । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । थारु नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

गठबन्धनले अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ । एमाले–राप्रपा गठबन्धनबाट अन्यतर्फ राप्रपाका उद्धव पौडेल र महिलातर्फ एमालेकी रुक्मिणी कोइराला उम्मेदवार छन् ।

मतदान गर्न कुनै कारणले कोही मतदाता आउन नसकेमा अनुपस्थित भएकै मानिने प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थ अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर