मधेस कृषि विश्वविद्यालय प्रकरणमा एमाले र सीके राउत एक ठाउँ, उपेन्द्रबाट उद्घाटन गराउनु नालायकी – Nepal Press

मधेस कृषि विश्वविद्यालय प्रकरणमा एमाले र सीके राउत एक ठाउँ, उपेन्द्रबाट उद्घाटन गराउनु नालायकी

जनकपुरधाम । सप्तरीको राजविराजस्थित मधेस कृषि विश्वविद्यालयको शिलान्यासको क्रममा भएको घटनाको सत्य, तथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न नेकपा एमाले मधेस प्रदेशले माग गरेको छ ।

एमाले मधेस प्रदेशका अध्यक्ष चन्देश्वर मण्डलले विज्ञप्ति जारी गरेर यस्तो माग गरेका हुन् । उनले सो घटनामा घाइतेहरूको उपचारका लागि पनि सम्बन्धित पक्षसँग माग गरेका छन् ।

प्रदेश सरकारले जनमत पार्टीको विरोधका बाबजूद विश्वविद्यालय भवनको जसपा अध्यक्ष तथा संघीय सांसद उपेन्द्र यादवबाट सोमवार शिलान्यास गराए । शिलान्यास कार्यक्रममा मुख्यमन्त्री सरोजकुमार यादव पनि सहभागी थिए ।

सप्तरी क्षेत्र २ मा पर्ने राजविराज नगरपालिका-१३ स्थित विश्वविद्यालय भवनको शिलान्यास संघीय सांसदमा पराजित उपेन्द्र यादवबाट गराउन लागेको भन्दै जनमत पार्टीले विरोध गर्दा प्रहरीले बल प्रयोग गरेको थियो । जसमा हिजोमात्र राजीनामा दिएका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र जनमतका नेताहरू घाइते भए ।

विश्वविद्यालय प्रदेश सरकार मातहत छ ‌। कृषि विश्वविद्यालय मधेस प्रदेश सरकारको मातहतमा हुने र त्यसको कुलपति मुख्यमन्त्री र सहकुलपति शिक्षा तथा संस्कृतिमन्त्री हुने व्यवस्था रहेको छ ।

एमाले मधेशका अध्यक्ष मण्डलले भनेका छन्, ‘उपकुलपतिले कुलपतिको हैसियतमा मुख्यमन्त्रीलाई विश्वविद्यालय भवनको शिलान्यास गर्ने लिखित पत्राचार गरेको तर त्यसलाई लत्याएर संघीय सांसद (उपेन्द्र यादव) बाट शिलान्यास गराउनु प्रदेश सरकारको नालायकीपन हो ।’

सहकुलपति रहेका शिक्षा मन्त्रीले कार्यक्रम रोक्न लिखित निर्देशन गर्नु, मुख्यमन्त्रीकै उपस्थितिमा सहकुलपतिको बिरोधका बावजुद संघिय सांसदबाट विश्वविद्यालयको शिलान्यास गराउनु मुख्यमन्त्रीको असक्षमता भएको एमालेको ठहर छ । विज्ञप्तिमा भनिएको छ, ‘शिलान्यासको विरोध गर्दा शिक्षा तथा संस्कृतिमन्त्री र सत्ता पक्षका प्रदेश सांसदहरू नै प्रहरीबाट कुटिनुले लोकतन्त्रको उपहास भएको छ।’

सरकार गठबन्धनको आडमा जनता जनतामा भिडाउने, देशमा अराजकता मच्चाएर आफ्नो स्वार्थ सिद्ध गर्न लागेको घटनाहरूबाट पुष्टि भएको एमालेले जनाएको छ । सरकारको आफ्नै भूमिकाले अब सरकारमा बस्ने नैतिकता समाप्त भएको एमालेको ठहर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर