मधेस सरकारबाट बाहिरिएसँगै जनमतले प्रचण्डमाथिको समर्थन के गर्ला ? – Nepal Press

मधेस सरकारबाट बाहिरिएसँगै जनमतले प्रचण्डमाथिको समर्थन के गर्ला ?

दमन र भ्रष्टाचारविरुद्ध आन्दोलन थाल्ने सीके राउतको घोषणा

काठमाडौं । जनमत पार्टीले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मधेस सरकारमा जनमतका तर्फबाट शिक्षा तथा संस्कृतिमन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले राजीनामा दिएका हुन् ।

सोमबार सप्तरीको राजविराजमा जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री सरोजकुमार यादवले मधेस कृषि विश्वविद्यालय भवनको शिलान्यास गर्दा विरोध प्रदर्शन गर्ने क्रममा शिक्षामन्त्री यादव र जनमतका नेता कार्यकर्ताहरुमाथि प्रहरीले लाठीचार्ज गरेपछि जनमतले सरकार छाडेको हो ।

जसपा नेतृत्वको मधेस सरकारले मधेसी जनतामाथि गरेको क्रूर दमन र अत्याचारविरुद्ध अब आन्दोलन थाल्ने अध्यक्ष सीके राउतले चेतावनी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सीमान्तकृत र दलितमाथि गरेको विभेद, दर्जनौं काण्डमा गरेको चरम भ्रष्टाचार र मधेसमा लादेको जंगलराज र गुण्डाराजको विरोधमा जनमत पार्टीद्वारा समर्थन फिर्ता । मन्त्रीद्वयको राजीनामा । दमन र भ्रष्टाचारको विरूद्ध आन्दोलन थाल्ने ।’

यो पनि पढ्नुहोस्- गठबन्धनबाट सीके राउतलाई हटाइँदै, बालुवाटारमा माधव नेपालसँग देउवा र प्रचण्डको ‘कपाली तमसुक’

जनमतले मधेस सरकार छाडेपनि संघीय सरकारबारे कुनै निर्णय गरेको छैन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जनमतबाट संघीय मामिला मन्त्रीमा अनिता देवी सहभागी छिन् ।

जनमतका प्रवक्ता डा. शरद यादवले मधेस प्रदेश सरकार छाडेपनि संघबारे छलफलमा रहेको, तर कुनै निर्णय नभएको बताए ।

तर, एकपछि अर्को गर्दै गठबन्धनको निर्णयविरुद्ध उभिएको जनमतलाई राष्ट्रियसभाको निर्वाचनपछि गठबन्धनबाट हटाउने तयारी छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमतका अध्यक्ष सीके राउतबीच पछिल्लो समय टकराब बढ्दै गइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर