सकियो सगरहवा मूर्ति कार्यशाला – Nepal Press

सकियो सगरहवा मूर्ति कार्यशाला

रुपन्देही । कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा पुस २३ गते सुरु भएको प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सकिएको छ । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं, पर्यटन डिभिजन कार्यालय लुम्बिनी प्रदेश रुपन्देहीसहित स्थानीय संघसंस्थाहरुको आयोजनामा भएको १५ दिने कार्यशाला सोमबार समापन गरिएको हो ।

राष्ट्रियस्तरमा ख्याति प्राप्त १५ मूर्तिकार र १५ सहयोगी मूर्तिकारहरुले सगरहवासँग सम्बन्धित विषयमा रहेर १८ वटा मूर्ति तयार पारेका छन् । समापनमा राष्ट्रियसभा सदस्य विमला घिमिरेले लुम्बिनी विकास कोषले कपिलवस्तुको विकासमा बेवास्ता गरेको जनस्तरमा गुनासो भइरहेको बेला सगरहवाको ऐतिहासिकता ढुंगामा कुँदेर सम्बोधन गरेको बताइन् ।

उनले कपिलवस्तु खुला संग्रहालयका रुपमा रहेको तर यहाँको बुद्धकालीन स्थलहरुको प्रचारप्रसार र विकास हुन नसकेको बताइन् ।

प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री विष्णु पन्थीले सगरहवामा स्थानीयहरुको अपनत्वमा कार्यशालामार्फत पर्यटनको निभ शुरु भएको बताए । उनले सगरहवाको ऐतिहासिकता, पुरातात्विक महत्व बुझाउन र जगदीशपुर क्षेत्रलाई पर्यटन प्रवर्द्धनमा कासेढुंगा सावित हुने बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कपिलवस्तुमा सञ्चालित मूर्ति कार्यशाला प्राज्ञिक, सांस्कृतिक, प्राविधिक र ऐतिहासिक काम भएको बताए ।

उनले सर्जकहरुले निकै मेहनतका साथ सगरहवाको ऐतिहासिक र यहाँको कथालाई मूर्तिमा उतार्ने काम गरेको बताए ।

कार्यशाला निर्देशक समितिका संयोजक एवम् लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले सगरहवाको पुरातात्विक स्थलको ऐतिहासिकता उजागर गर्न र यहाँको पर्यटन प्रवर्द्धन गर्न जनतासँग मिलेर पहिलो पटक नयाँ मोडेलमा काम गरेको बताए ।

उनले मूर्ति कार्यशालाबाट तयार भएका मूर्तिहरुको दिगो संरक्षण र व्यवस्थापन गर्न स्थानीय समुदायबीच एकता र सहकार्य आवश्यक रहेको बताए ।

कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले मूर्ति बन्नेबितिकै पर्यटकहरुको ओइरो लाग्ने नभई कामको शुरुवात भएकाले सबै मिलेर अगाडि बढनुपर्नेमा जोड दिए ।

उक्त अवसरमा कार्यशालामा मूर्तिकारहरुको खर्च लुम्बिनी विकास कोषका तर्फबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमार्फत भुक्तानीका लागि २६ लाख २५ हजारको चेक कार्यक्रममै प्रदान गरिएको थियो । प्राचीन कपिलवस्तु राज्यको पतनको मुख्य कारण मानिएको सगहरवामा शाक्यहरुको सामूहिक नरंसहारको घटनालाई प्रस्तरमा उतार्न कार्यशाला गरिएको थियो ।

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ किमि र तिलौराकोटबाट ६ किमि उत्तरमा रहेको छ भने पूर्व-पश्चिम राजमार्गको बनगाईबाट ७ किमि तथा नेपालको दोस्रो पंक्षी आरक्ष जगदीशपुर तालको दक्षिणमा रहेको छ । सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौं स्तूपको निर्माण गरेको चिनियाँ यात्री हुुयन् साङको सन् ६३६ को यात्रा वृतान्तमा उल्लेख गरिएको पाइन्छ ।

सन् १८९७ मा डा. फुरर्हरद्वारा गरिएको उत्खनन् तथा अन्वेषणमा शाक्य सेनाको सम्झनामा १७ वटा निर्माण गरिएका ठूलो वर्गाकार स्तूप र धेरै संख्यामा साना स्तूप भेटिएको थियो । स्तूपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामग्री भेटिएको थियो । जगदीशपुर तालको काखैमा रहेको लम्बु सागर रुपमा परिचित सगरहवा ५८ विघा क्षेत्रफलमा फैलिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर