अयोध्याको मन्दिरमा प्राणप्रतिष्ठा, रामको ससुराली जनकपुरमा उत्सव – Nepal Press

अयोध्याको मन्दिरमा प्राणप्रतिष्ठा, रामको ससुराली जनकपुरमा उत्सव

जनकपुरधाम । भारतको अयोध्यामा राममन्दिरकमे प्राणप्रतिष्ठा हुन लागेको छ । यता रामको ससुराली जनकपुरधाममा आज उत्सवको माहोल देखिएको छ ।

जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, हनुमान मन्दिर लगायतका स्थानमा भजन-कीर्तन चलिरहेका छन् । जानकी मन्दिरमा आज साँझ एक लाख २५ हजार दिप बाल्ने तयारी गरिएको छ । जनकपुरधामका मेयर मनोज साहले नगरबासीलाई दीपावली गर्न भनेका छन् ।

जनकपुरधामका थुप्रै घरमा श्रीराम र हनुमान अंकित झण्डा ठड्याइएको देख्न सकिन्छ । घर, पसल र सडकहरु सिंगारिएको छ । सडकमा गुड्ने प्रायः सवारी साधनमा श्रीराम अंकित झण्डा लगाएको छ ।

प्राण प्रतिष्ठाको अवसरमा जानकी मन्दिरका छोटा महन्त रामरोषण दासले मुख्यमन्त्री सरोज कुमार यादवलाई ज्ञापनपत्र बुझाएर सार्वजनिक विदा नै दिन माग गरेका थिए ।

प्रदेश सरकारले बिदा नदिए पनि मधेशका धेरै पालिकाले आज सार्वजनिक विदा दिएका छन् । वीरगञ्ज, राजविराज, लहान, सिरहा सदरमुकामलगायतका स्थानमा प्राण प्रतिष्ठाको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

भगवान रामको ससुराली (जनकपुरधाम) नेपाल हो । त्रेतायुगका भगवान रामको विवाह तत्कालीन मिथिलाका राजा जनककी पुत्री सीतासंग भएको रामायण ग्रन्थमा उल्लेख छ।

आज अयोध्यामा भगवान श्रीरामको प्राण प्रतिष्ठाको शुभमुहूर्त मात्र ८४ सेकेण्डको छ । दिउँसो १२ बजेर २९ मिनेट ८ सेकेण्डदेखि १२ बजेर ३० मिनेट ३२ सेकेण्डसम्म छ ।

शुभमुहूर्त काशीका ज्योतिषी पण्डित गणेशवर शास्त्री द्विदले रोजेका हुन् । यही शुभमुहूर्तमा रामललाको प्राण प्रतिष्ठा अनुष्ठान हुनेछ । यसका लागि १२१ वैदिक आचार्यलाई जिम्मेवारी सुम्पिएको छ ।

प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी १०:२० बजे अयोध्या पुग्नेछन् । देश विदेशसहित ११ हजार अतिथिलाई आमन्त्रित गरिएको छ । समारोहमा करोडौं श्रद्धालु सहभागी हुने अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *