मुख्यमन्त्री यादवको आक्रोश- अराजक मान्छेलाई राख्नु हुन्न, जनमतका मन्त्रीलाई आजै हटाइदिन्छु (भिडिओ) – Nepal Press

मुख्यमन्त्री यादवको आक्रोश- अराजक मान्छेलाई राख्नु हुन्न, जनमतका मन्त्रीलाई आजै हटाइदिन्छु (भिडिओ)

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।

आइतबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री यादवले जनमत पार्टी लाज पचाएर सरकारमा बसिरहेको आरोप लगाए । प्रदेश सरकारको एक वर्षे उपलब्धि सार्वजनिक कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताहरुले प्रदेश सरकारबिरुद्ध नाराबाजी गरिरहेको र पार्टीका मन्त्रीहरु राजीनामा नदिइ लाज पचाएर बसिरहेको उनको भनाइ थियो ।

जनमतका मन्त्रीहरूले मधेस विश्वविद्यालयका रजिष्टार र भीसीलाई थर्काएर ताल्चा लगाएको भन्दै यो कुन तरिकाको गठबन्धनको हो यो ? भन्दै मुख्यमन्त्रीले प्रश्न गरे ।

‘११ गतेसम्म बाटो नहेरौं । गठबन्धनलाई बाटो नहेरौं । तपाईंहरू सब पछि हटाउनु होला म त आजै हटाइदिन्छु । त्यस्ता अराजक मान्छेलाई सरकारमा राख्नु हुँदैन’, मुख्यमन्त्री यादवले भने ।

मधेस सरकारमा जनमत पार्टीबाट शिक्षा तथा समाजकल्याण मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह छन् ।

माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ । सो निर्वाचनमा केन्द्रीय सत्ता गठबन्धनका साझा उम्मेदवारबिरूद्ध गठबन्धनका घटकसमेत रहेको जनमत पार्टीले उम्मेदवारी दिएको छ । गठबन्धनको निर्णय अस्वीकार गर्दै राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारी दिएपछि सहयात्री दलले सीके राउतलाई गठबन्धनबाट निकाल्न खोज्दैछन् ।

मधेस सरकारले सप्तरीको राजविराजमा स्थापना गरेको ‘मधेस कृषि विश्वविद्यालय’ को भवन शिलान्यासको विषयलाई लिएर पछिल्ला दिनमा जनमत र जसपाबीच आरोप-प्रत्यारोप चलेको छ । सीके राउतले आफूले ल्याएको योजनामा उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएको भन्दै केही दिनअघि सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए ।

आज राखिएको शिलान्यास कार्यक्रममा यादवलाई छेक्न जनमतका कार्यकर्ताले विरोध प्रदर्शन साथै विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । उपेन्द्रलाई रोक्न पार्टीका नेता कार्यकर्ताले ताला लगाएपछि आफूहरुले नरोकेको तर तर कानून अनुसार हुनुपर्ने बताएका हुन् ।

राउतले आज अर्को स्टाटसमार्फत् जसपा अध्यक्ष यादव शिलान्यासको नाममा दंगा फैलाउन आउन लागेको आरोप लगाएका छन् ।

 


प्रतिक्रिया

One thought on “मुख्यमन्त्री यादवको आक्रोश- अराजक मान्छेलाई राख्नु हुन्न, जनमतका मन्त्रीलाई आजै हटाइदिन्छु (भिडिओ)

  1. मुख्यमंत्री सरोज यादवको हैसियत छैन जनमत को मंत्रीलाई हटाउन, गठबंधन मा छ यसको मतलब यो हैन कि दिन लाई रात र रातलाई दिन भन्ने, सही लाई सही र गलत लाई गलत भन्न साहस जनमत पार्टीमा मात्र छ। अरु पार्टी त मुखदर्शक हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर