देवदहका वडाध्यक्ष सुनारमाथि विद्यालयको बस खरिद रकम हिनामिना आरोप, स्थानीय आन्दोलित – Nepal Press

देवदहका वडाध्यक्ष सुनारमाथि विद्यालयको बस खरिद रकम हिनामिना आरोप, स्थानीय आन्दोलित

रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका वडा नं १० मा विद्यालय व्यवस्थापन समितिको अध्यक्षसमेत रहेका वडाध्यक्षले विद्यालयका लागि बिनियोजन गरेको बजेट हिनामिना गरेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

वडा नं १० का वडाध्यक्ष एकबहादुर सुनारले चरंगेमा रहेको सिता माध्यमिक बिद्यालयलका लागि बस खरिद गर्न भन्दै वडाबाट बिनियोजन गरेको बजेट हिनामिना गरेको आरोप स्थानीयको छ ।

स्थानीयका अनुसार आर्थिक वर्ष २०७७/२०७८ मा विद्यालय ब्यवस्थापन समिति बिद्यालयका लागि बस किन्ने निर्णय गरेको थियो। बिद्यालयले उक्त निर्णय गरेसंगै वडाध्यक्ष समेत रहेका एकबहादुर सुनारले वडा र नगरपालिकाबाट समेत पटक पटक गरी २२ लाख रुपैयाँ बिनियोजन गराए।

तर यसरी पटकपटक गरी बिनियोजन गरिएको बजेट न त विद्यालयमा रहने नत विद्यालयका लागि बस आउने भएपछि स्थानीयले बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्षविरुद्ध आन्दोलन सुरु गरेका हुन्।

वडाध्यक्ष एकबहादुर सुनार उक्त वडाको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट दोश्रोपटक निर्वाचित भएका हुन् उनी लामो समयदेखि सो विद्यालयको व्यवस्थापन समितिमा रहेका छन् ।

स्थानीयका अनुसार दुई आर्थिक वर्षमा गरी साढे १३ लाख र अर्को वर्ष वडाबाट साढे ३ र नगरपालिकाबाट ५ लाख गरी कुल २२ लाख रुपैयाँ बस खरिदका लागि बजेट बिनियोजन गरिएको थियो तर ४ कार्यकाल सकिंदासमेत विद्यालयमा बस किन्ने काम भएको छैन ।
विद्यालयका लागि बस किन्नका लागि नगरपालिका र वडाबाट बिनियोजित बजेटबाट नपुग्ने भन्दै स्थानीयसंग समेत चन्दा संकलन गरिएको उनीहरुको भनाइ छ।

‘अहिले बिद्यालयमा बस पनि छैन बसको लागि बिनियोजित बजेट पनि छैन विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष पनि वडाध्यक्ष नै हो के गर्नुभएको छ थाहै भएन’ विद्यालयका एक अभिभावकले भने। ती अभिभावकका अनुसार बिद्यालयको सार्वजनिक लेखा परीक्षण गराउनसमेत वडाध्यक्षले मानिरहेका छैनन्।

विद्यालयका अध्यक्ष, प्रधानाध्यापक र कर्मचारीहरुको मिलामतोमा हिनामिना भएको भन्दै चरङ्गेका स्थानीय बासिन्दाहरुले शुक्रबार विद्यालय परिसरमा नाराबाजीसहित धर्ना दिएका थिए। उनीहरुले बिद्यालयका कर्मचारीहरु समेतको संम्लग्नतामा सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको आरोप लगाएका छन्।

विद्यालयका प्राधानध्यापक उमाकान्त अधिकारीले ४ बर्षदेखि लेखापरीक्षण नभएकोले आफू बैशाखमा बिद्यालयको जिम्मेवारीमा आएपछि लेखा परीक्षण सुरु गरेको बताए। बिद्यालयमा जति हेर्यो त्यति नै बेरुजु आउँदै गएको छ, पूर्व लेखा प्रमुख लालबहादुर रुचालको नामबाट दुई किस्तामा ९ लाख २५ हजार ३ सय ९१ रुपैयाँ असुल भएको छ– उनले भने। २०७८/०७९ को अडिटबाट विद्यालयमा अनिमियता भएको देखिएको उनले बताए।

२०७९ सालदेखि कतिपय रकम विद्यालयको खातामा आएको नदेखिएको करिव २ वर्ष विद्यालयको खातामा नराखेर व्यक्तिले चलाएको पाइएको स्थानीय युवा मिनबहादुर गाहाले बताए। विद्यालय ब्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष पटक पटक आर्थिक बिवादमा मुछिदै आएकोले उनलाई कानुनी दायरामा ल्याउनु पर्ने भन्दै अख्तियारमा समेत उजुरी दिएको स्थानीयको भनाइ छ ।

यता वडाअध्यक्ष सुनारले विद्यालयका लेखापाल लालबहादुर रुचालबाट गलत काम गरेको आरोप लगाएका छन्। यो विषयमा छानबिन हुने बताउँदै बस खरिद गर्ने रकममध्ये भवन निर्माणमा खर्च भएको दावी उनले गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर