नेपाल खेलकुद महासंघले ‘एक कमिटी, एक खेल गतिविधि’ कार्यक्रम सञ्चालन गर्ने – Nepal Press

नेपाल खेलकुद महासंघले ‘एक कमिटी, एक खेल गतिविधि’ कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । नेपाल खेलकुद महासंघले गाउँ गाउँसम्म खेलकुदलाई विस्तार गर्न एक कमिटी, एक खेल गतिविधि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

महासंघ माघ ४ र ५ गते बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले स्वस्थ समाज निर्माणका लागि वार्षिक क्यालेन्डर नै निर्माण गरेर खेल गतिविधि सञ्चालन गर्ने निर्णय गरेको महासंघका पर्शुराम बस्नेतले जानकारी दिए ।

कार्यक्रमअनुसार खेलकुद महासंघका केन्द्रीय, प्रदेश, जिल्ला, पालिका तथा क्लबदेखि कम्युनिटीसम्म खेल गतिविधि सञ्चालन गरिने अध्यक्ष बस्नेतले बताए ।

नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको आयोजनामा पोखरामा २०८० साल चैत ३ गतेदेखि ११ गतेसम्म ‘नेकोस सूर्यतारा खेलकुद महोत्सव’ आयोजना गर्ने निर्णय केन्द्रीय कमिटीले अनुमोदन गरेको छ । महोत्सवमा सहभागिता जनाउन सबैलाई केन्द्रीय कमिटी बैठकले निर्देशनसमेत दिएको छ ।

बैठकले महासंघको संगठनात्मक सुदृढीकरण तथा शुद्धीकरण गर्ने, महासंघको सदस्यता नवीकरण, वितरण र अभिलेखीकरण गर्ने कार्यलाई प्राथमिकता दिने सर्वसम्मत निर्णय गरेको छ ।

नेता नेतृत्वविरुद्ध सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्न, चिर्न, खण्डन गर्न तथा सामाजिक सञ्जालमा समेत यसको प्रतिरोध गर्न विशेष कमिटी गठन गरिएको छ । मिसन २०८४ लाई सफल बनाउन महासंघले आफू मातहतका सबै कमिटीलाई सक्रियता जनाउन निर्देशन दिएको छ ।

महासंघले खेल क्षेत्रमा देखिएका विकृति, विसंगती, अनियमितता तथा भ्रष्टाचारका विरुद्धमा विशेष कार्यदल निर्माण गरेर सत्य तथ्य बुझेर आवश्यक निकायमा उजुरीसमेत दिने निर्णय गरेको छ । यसका लागि नेपाल खेलकुद महासंघका सचिव विष्णु पुनको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको महासंघका अध्यक्ष बस्नेतले बताए ।

चीनमा भएको १९औँ एशियन गेम्सको खर्च सार्वजनिक गर्न, कर्मचारीसम्बन्धी संगठन संरचना तथा व्यवस्थापनका लागि यथाशीघ्र पहल गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ ।

एशियन गेम्समा सहभागी भएका अफिसियल, व्यवस्थापक तथा प्रतिनिधि पठाउने क्रममा अख्तियारको चरम दुरुपयोग भएको निष्कर्षसहित विधागत खेलाडीभन्दा बाह्य व्यक्तिहरू पठाइएको विषयमा नेपाल खेलकुद महासंघको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष बस्नेतले सुनाए ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नेकपा एमालेका महासचिव शंकर पोखरेलको विशेष अतिथि थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *