स्थानीय तहहरूमा अख्तियारको त्रास – Nepal Press

स्थानीय तहहरूमा अख्तियारको त्रास

डोटी । डडेल्धुराको अमरगढी नगरपालिका विरुद्ध साउनयता ३० वटा उजुरी परे । यद्यपि कसविरुद्ध कति उजुरी परे भन्नेबारे ठ्याक्कै भन्न नसकिने अख्तियारको कञ्चनपुर कार्यालयले बताएको छ । तर नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालित योजनाविरुद्ध अख्तियारको कञ्चनपुर कार्यालयमा यो संख्यामा उजुरी परेको दाबी गर्छ ।

कार्यालयविरुद्ध उजुरीको संख्या बढ्दै जाँदा कर्मचारीको मनोबल घट्दै जाने अवस्था आएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्यायले बताए ।

‘चालु आवका तीन महिना अख्तियारमा परेका उजुरीका कागजात मिलानमै बित्यो’ उपाध्यायले भने ‘अधिकांश योजनाविरुद्ध उजुरी परेका छन् । उजुरीको छानबिन गर्न अख्तियारले ताकिता गरिरहन्छ । काम गर्ने वातावरण नै बन्दैन । अख्तियारलाई कागजात मिलाउनमै समय जान्छ ।’

यो समस्या अमरगढीको मात्रै हैन । अख्तियारमा उजुरीको संख्या बढ्न थालेपछि स्थानीय तहहरूमा त्रास फैलिएको छ । मुद्दा पर्दै जाने, अख्तियारले मागेका कागजातहरू पुर्‍याउनु पर्ने कार्यले गर्दा समस्या भइरहेको स्थानीय तहका कर्मचारीहरू बताउँछन् ।

‘बेनामी उजुरी हालेर हैरान बनाएका छन्, भएको केही हुन्न तर त्रास फैलाएको छ’ केही समयअघि केआई सिंह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरत परियार दुखेसो पोखेका थिए ‘अख्तियारले मागेका कागजातहरू मिलाउनमै समय जान्छ ।’

झुट्टा उजुरी गर्नेमाथि कारबाही गर्ने व्यवस्था हुनु पर्ने उनको धारणा थियो ।

उनी थप्छन् ‘गलत भएको ठाउँमा उजुरी पर्नु स्वाभाविकै हो, गलत गर्नेले कारबाहीको भागिदार हुनु पनि पर्छ, तर नियमसंगत रूपमा भएका काममा पनि झुट्टा उजुरी हालेर दुःख दिने काम भइरहेको छ ।’

उजुरीकै कारणले अव त काम गर्न पनि डर लाग्ने गरेको एक अर्का प्रमुख प्रशासकीय अधिकृत बताउँछन् ।

‘भरखर सेवा प्रवेश भएका छौँ, यति बेलै मुद्दा खेप्नु पर्‍यो भने बाँकी जीवनमै कलंक लाग्न सक्छ’ उनले भने ‘उजुरी पर्ने बित्तिकै अपराधी हो भन्ने बुझाई समाजले राख्छ, अनि कसरी काम गर्नु ?’

उनी अख्तियारले मुद्दा चलाएका कर्मचारीहरूले अदालतबाट सफाइ पाएको तर पनि समाजले अपराधी जस्तै व्यवहार गर्ने गरेको बताउँछन् ।

‘जनप्रतिनिधिहरूले जबरजस्ती आफू अनुकूल काम गर्न लगाउँछन्, अख्तियारले कर्मचारीहरुविरुद्ध मुद्दा चलाइदिन्छ’ ती प्रमुख प्रशासकीय अधिकृतले भने ‘एकातिर जनप्रतिनिधिहरूको दबाबमा काम गर्नु पर्ने, अर्कोतिर अख्तियारले कति बेला मुद्दा चलाइदिन्छ भन्ने त्रास छ ।’

स्थानीय तहमा दरबन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत यस्ता यस्तै कारणले आउन नमान्ने गरेको उनको भनाई छ ।

विगत ३ आर्थिक वर्षमा डोटी जिल्लाका स्थानीय तहहरुविरुद्ध ९३ उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *