संसदीय समितिले झिकायो टेरामक्स र एमडीएमएससम्बन्धी सुरूदेखिका कागजात (भिडिओ) – Nepal Press

संसदीय समितिले झिकायो टेरामक्स र एमडीएमएससम्बन्धी सुरूदेखिका कागजात (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले सो सम्बन्धमा सुरूदेखि भएका नीतिगत निर्णय खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्यलगायतका विषयका कागजात यथाशक्य चाँडो बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

सञ्चारमन्त्री रेखा शर्मा, सचिव रामकृष्ण सुवेदीलगायत अधिकारीसँगको छलफलपछि समितिले ती विषयमा भएका मन्त्रालयगत छानबिनको प्रतिवेदन र त्यससम्बन्धमा अदालतबाट भएका फैसलासमेत मगाइ विज्ञको परामर्शका आधारमा थप निर्णय लिने निष्कर्ष निकालेको छ ।

बैठकमा मन्त्री शर्माले ती प्रणालीका बारेमा विगतका सरकारले गरेका नीतिगत निर्णय र कार्यान्वयनकर्ता निकायबाट भएका कामबारे मन्त्रालयले अध्ययन गरिरहेको बतइन् । ती प्रणालीको कार्यान्वयनका क्रममा अनियमितता भएको भए छानबिनका लागि सरकारले सघाउने उनको प्रष्टोक्ति छ ।

समिति सदस्यहरूले देशलाई आर्थिक भार पर्ने गरी टेरामक्स र एमडीएमएसको कार्यान्वयन नगर्ने निकायलाई कारबाही गर्नुपर्नेमा जोड दिए । रास्वपा सांसद सुमना श्रेष्ठले टेरामक्स र एमडीएमएसमा सरोकारवाला सबै निकाय दोषी हुने बताइन् । टेरामक्समा मुछिएका व्यक्तिहरू नै अहिलेको मन्त्रिपरिषद्‍मा रहेकाले छानबिन प्रभावकारी हुनेमा उनको आशंका छ ।

त्यस्तै समिति सदस्य विद्या भट्टराईले दुरसञ्चार प्राधिकरणलाई मात्रै देखाएर सञ्चारमन्त्रालय पन्छिन नमिल्ने तर्क गरिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *