एक वर्षमा आफूले १०१ वटा काम गरेको पर्यटनमन्त्री किराँतीको दाबी (भिडिओ) – Nepal Press

एक वर्षमा आफूले १०१ वटा काम गरेको पर्यटनमन्त्री किराँतीको दाबी (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले आफूले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा १०१ वटा काम गरेको बताएका छन् ।

मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा आफूले गरेका मुख्य–मुख्य काम र उपलब्धि सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री किराँतीले एक वर्षमा केही कानूनको तर्जुमा, सुधार र नियमावलीलाई समय सापेक्ष बनाउनेलगायत १०१ वटा काम गरेको बताए ।

उनले आफूले मन्त्रालय सम्हालेको पहिलो तीन महिनामा सामान्य सुधारका काम गरेको र ९ महिनामा मध्यमस्तरको काम गरेको भन्दै आगामी दिनमा क्रम भंग गरेर काम गर्ने दाबी गरे । किराँतीले पर्यटन प्रवर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान सुरू गरेको भन्दै नेपालमा पर्यटन प्रवर्द्धनका लागि ६० वटाभन्दा बढी पुराना गाउँको खोजी कार्य अघि बढाएको बताए ।

उनले पर्यटन क्षेत्रमा फड्को मार्न सक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब मन्त्रालय अघि बढ्ने उल्लेख गरे । त्यस्तै, मन्त्री किराँतीले दुर्गम क्षेत्रको उडानमा लक्षित गरेर नेपाल वायुसेवा निगमको जहाज खरिदको टेण्डर अन्तिम चरणमा रहेको, १२ वर्षदेखि ग्राउण्डेड निगमको टुइनअटर जहाज मर्मतसम्भार गरी सञ्चालनमा ल्याउन लागिएको बताए ।

उनले नेपालदेखि अष्ट्रेलियाको सिड्नी उडानको तयारी अन्तिम चरणमा रहेको भन्दै क्षेत्रीय विमानस्थलमा उडानका लागि ३ र अन्तर्राष्ट्रिय उडानका लागि ३ न्यारोबडी जहाजको लिजमा लिने प्रक्रिया अघि बढाइएको, चिनियाँ जहाजको लिलाम बिक्री अघि बढाइएको, निगमको सावाँ–ब्याजको ५ अर्ब किस्ता तिरेको उल्लेख गरे । मन्त्री किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी निगमबाट खोस्ने कुनै आधिकारिक निर्णय नभएको पनि प्रष्ट पारे ।

मन्त्री किराँतीले पशुपतिनाथको सरसफाइ, जग्गाको हालसाविक र हराएको जग्गा खोजी भइरहेको र लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि निर्देशन दिइएको, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेशको अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।

उनले पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्तीमा अनावश्यक विवाद सिर्जना गरिएको भन्दै कोषको इतिहासमा पहिलो पटक जनजाति समुदायबाट महिला नियुक्त गरिएको दाबी गरे । त्यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव ल्हारक्याल लामा पनि योग्य व्यक्ति भएकाले नियुक्ती गरिएको प्रष्ट पारे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर