रुरु क्षेत्रमा माघे संक्रान्तिको विशेष मेला (भिडिओ) – Nepal Press

रुरु क्षेत्रमा माघे संक्रान्तिको विशेष मेला (भिडिओ)

रुपन्देही । लुम्बिनी प्रदेशका गुल्मी र पाल्पा तथा गण्डकी प्रदेशको स्याङ्जाको संगमस्थल रुरु क्षेत्रमा माघे संक्रान्तिको अवसरमा विशेष मेला लागेको छ ।

मकर सङ्क्रान्ति पर्वको अवसरमा धार्मिक एवं ऐतिहासिक स्थल रुरु क्षेत्रको कालीगण्डकीमा स्नान गर्न संक्रान्तिको बिहानैदेखि श्रद्धालुहरुको घुइँचो लागेको छ ।

कालीगण्डकी नदीमा स्नानगरी त्यस नजिकै रहेको भगवान हृषिकेष मन्दिरमा पूजाआजा गर्नाले देव ऋण, पितृ ऋण र ऋषि ऋणबाट मुक्त हुने जनविश्वास छ । मकर संक्रान्तिको दिन कालीगण्डकीमा स्नान गर्नाले आफूले अञ्जानमा गरेका सम्पूर्ण पाप नष्ट भई मोक्ष प्राप्त हुन्छ भन्नेसमेत जनविश्वास छ ।

नेपालका चारधाममध्ये एक रुरुमा स्नान गर्न नेपालका अन्य जिल्लादेखि भारतबाट समेत भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । गुल्मीमा विशेषगरी जेठी, माइली र कान्छी गरी तीन दिनलाई मकर संक्रान्ति पर्व मानेर श्रद्धालुहरु कालीगण्डकी नदीमा स्नान गर्न आउने प्रचलन छ ।

मकर संक्रान्ति पर्वको अवसरमा रमाइलो मेलासमेत सञ्चालन गरिएको छ । रिडी मेलामा विशेषगरी हातबाट बुनेका कम्मल, काम्ला, राडीपाखीलगायत बाँस तथा चोयावाट निर्मित सामग्रीहरुका साथै ओखरका घाँजी, गुँड, सुन्तला लगायतका वस्तुको राम्रो व्यापार हुने गर्छ ।मेलामा व्यापार गर्न गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, प्यूठान, वाग्लुङ, रुकुम, रोल्पा, पर्वतलगायतका ठाउँबाट समेत व्यापारीहरु रिडी आउने गर्छन् ।

संक्रान्तिको दिन मेलामा रुरु क्षेत्र गाउँपालिका र कृषि ज्ञान केन्द्रको आयोजनामा कृषि मेला प्रदर्शनी पनि गरिएको छ ।

मेला अवधिभर स्थानीय एवं राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुतिसमेत राखिएको छ । रिडीको ३ मुखे पुलमा धार्मिक भक्तजनसँगै फोटो खिच्ने, भिडियो बनाउने युवायुवतीको भीडभाड लागेको छ ।

रुरु क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न नाट्टा लुम्बिनीको संयोजनमा महाआरती सुरु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *