महासंघको पर्यटन प्रवर्द्धन कार्यक्रम उद्घाटन गर्न भोलि प्रधानमन्त्री अर्घाखाँची जाँदै – Nepal Press

महासंघको पर्यटन प्रवर्द्धन कार्यक्रम उद्घाटन गर्न भोलि प्रधानमन्त्री अर्घाखाँची जाँदै

रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि माघ १ गते अर्घाखाँची आउने भएका छन् । नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा आयोजित पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटन गर्न प्रधानमन्त्री अर्घाखाँची आउन लागेको नेपाल पत्रकार महासंंघ अर्घाखाँची शाखा अध्यक्ष अशोक खनालले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले अर्घाखाँचीको सदरमुकामस्थित टुँडिखेलमा महासंंघद्वारा आयोजित पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जिल्लाका पर्यटकीय क्षेत्रको पहिचान गरी धेरैभन्दा धेरै पर्यटक जिल्लामा भित्राउने उद्देश्यबाट नेपाल पत्रकार महासंघ अर्घाखाँचीले दुई महिने अभियान सुरु गर्न लागेको उपाध्यक्ष वीरेन्द्र केसी बताउँछन् ।

जिल्लामा बढ्दै गएको बसाइसराई रोक्न र जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन कार्यक्रम आयोजना गरिएको हो । जिल्लामा रहेका धार्मिक, पर्यटकीय र ऐतिहासिक क्षेत्रलाई एकीकृत प्याकेजका रूपमा विकास गरेर पर्यटक आकर्षण गर्ने कार्यक्रमको उद्देश्य रहेको पत्रकार महासंघका संस्थापक अध्यक्ष विष्णु भुसाल बताउँछन् ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रमा आएका पर्यटकलाई सुपादेउराली लैजाने र सुपादेउराली आएका पर्यटकलाई जिल्लाका अन्य गन्तव्यसम्म पु¥याउने कार्यक्रमले सहयोग पुग्ने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

जिल्लामा रहेको सुपादेउराली मन्दिरमा आउने मासिक ३० हजारभन्दा अधिक पर्यटकलाई जिल्लाभित्रै रहेका अन्य स्थानमा पनि जानु पर्छ भन्ने जानकारी दिइने छ। पाकिस्तानबाट आएर पाणीनि ऋषिले तपस्या गरेको तथा व्याकरणको प्रतिपादन गरेको पाणिनि तपोभूमि, बाईसे–चौबिसे राज्यको अर्घा दरबार, एसियाकै सबैभन्दा ठुलो भगवती देवीको मुर्ती, खाँची दरबार, जंगबहादुर राणा जन्मिएको लामपाटी पौवा, जंगबहादुरको न्वारन भएको स्थान बलकोट पौवा, मालारानी मन्दिरपरिसर यहाँका ऐतिहासिक क्षेत्र हुन् ।

भूमिकास्थानको भुमे मन्दिर, सेङलेङ दह, सिद्धगुफा, मालारानी गाउँपालिकाको नृसिंह थान, जालकाँडा लेक, छत्रदेव गाउँपालिकाको छत्रेश्वर महाराजको मन्दिर, आकाशेदेवीको तेह्रतले मन्दिर, पाणीनि गाउँपालिकाको दुर्वासेश्वर गुफा, शीतगंगाको डम्मरु दह, पतञ्जलीको उत्पत्तिस्थल, जिल्लाको एक मात्र गोही पाइने स्थान बराह दह, सन्धिखर्क नगरपालिकाको रक गार्डेन, स्फटिक शिवलिंग रहेको सिद्धेश्वर शिवालय, मथुराको कृष्ण मन्दिरलगायत दर्जनौं क्षेत्रले यहाँको पर्यटन प्रवर्धनमा टेवा पु¥याउन सक्छन् ।

जिल्लाका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको विस्तृत डकुमेन्ट्री (वृत्तचित्र), ब्रोसर, पहिचानसहितका टिसर्ट, टोपी, डटपेन, किचेनलगायतका सामग्रीसहित देशका प्रमुख सहर तथा छिमेकी मुलुक भारतका केही स्थानमा पुगेर व्यापक प्रचारप्रसार गरिने छ ।


प्रतिक्रिया

One thought on “महासंघको पर्यटन प्रवर्द्धन कार्यक्रम उद्घाटन गर्न भोलि प्रधानमन्त्री अर्घाखाँची जाँदै

  1. मंसिर १० गते एकदिनलाई पो झिनामसिना कार्यक्रममा जान्न भनेको त । नौटंकीले अब देखि यसोउसो गर्छु भनेमा जनताले राँके जुलुसले विरोध गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर