बालेनसँग भीडेर आधुनिक बसपार्क – Nepal Press
ब्लग

बालेनसँग भीडेर आधुनिक बसपार्क

पृष्ठभूमि :

एसिया महादेशमा पर्ने एक मुलुक नेपाल हो । नेपाल हिमाल, पहाड र तराई भागमा विभाजित छ । एक भेगबाट अर्को भेगमा जान सवारी यातायातको आवश्यक पर्दछ । नेपालमा बिस्तारै यातायातको क्षेत्र बिस्तार हुँदै गइरहेको छ ।

मानवीय आवश्यकताको आवत–जावत गर्ने साधन मध्य सवारी साधन हालको अत्यावश्यक सेवामा पर्दछ । त्यसभित्र सार्वजनिक सवारी साधन आधारभूत नागरिकले प्रयोग गर्ने साधन र सेवा हो ।

नेपालमा यातायातको विकासको स्थितिलाई हेर्दा अझै कहालीलाग्दो युगमा छ । सडक विकासको मेरुदण्ड हो । नेपालमा सडक नबनेको भन्न मिल्दैन । तर, सडक निर्माण पश्चात् यातायात सेवा सहजता कति छ ? सार्वजनिक यातायात सेवाको अवस्थामा नेपाल संसारको कुन तहमा छ ? सार्वजनिक सवारी साधनको प्रयोग कुन वर्गका नागरिकले गरेका छन् र त्यसको अवस्था के छ ? अनगिन्ती प्रश्न नै प्रश्नहरू छन् तर, उत्तर भेटिँदैन । इतिहास हेर्दा नेपालको राजधानी काठमाडौंबाट बनेपासम्म ट्रक र लहरीबाट यातायात सेवा उपलब्ध भइरहेको अवस्था थियो । २०२७ सालमा नै पिएचडी गर्नुभएका स्वर्गीय डा. सुरेन्द्र बहादुर बादे श्रेष्ठको परिकल्पनामा यात्रुलाई सेवा गर्ने योजना अनुसार अरनिको यातायात सेवा समितिको जन्म भयो । काठमाडौंबाट केही बसहरू बनेपासम्म जान आउन थाले । सडक थपिँदै गयो, सेवा बिस्तार हुँदै गयो । अहिले करिब ६ सय विभिन्न प्रकारका यातायातका साधनहरूबाट परिवर्तित नाम पूर्व अरनिको यातायात प्रालि राखेर सेवा भइरहेको छ ।

राज्य सञ्चालकहरूको नियमका कारण लामो समय सेवा गरेका समितिहरू व्यवहारिक रूपमा व्यावसायिक नाममा परिवर्तन हुन पुगे । यद्यपि यस संस्थाले व्यापारिक नभई सेवा व्यवसायको काम गरिरहेको छ ।

संस्थापक अध्यक्षको नै परिकल्पनामा सेवालाई निरन्तरता दिँदै आइरहेको छ । हाल काभ्रेपलाञ्चोक,सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुली, मोरङ, झापा लगायतका १३ जिल्लाहरूमा सेवा बिस्तार भएको छ । अगामी एक वर्ष भित्र २५ जिल्लामा सेवा बिस्तारको लक्ष्य लिइएको छ । हाल एकै दिन काठमाडौँ तर्फबाट १ सय ७५ को संख्यामा यस प्रालिले मोसफलमा यात्रु पुर्‍याउने र सोही स्थानबाट यात्रु ल्याउने काम गरिरहेको छ । प्रति दिन १० हजार यात्रुले सेवा पाइरहनुभएको छ ।

नेपालको सार्वजनिक यातायात:

नेपालको सार्वजनिक यातायात दक्षिण एसियामा कमसल भएको तथ्य छ । यो तथ्य पेश गर्नुपर्दा अरनिको यातायातको अध्यक्ष र सार्वजनिक यातायातको व्यवस्थामा अझै ३५ वर्ष काम गरेको नागरिक भए पनि मेरो शीर निहुरिन्छ । तथापि, मुलुकको सार्वजनिक यातायात सेवा र विशेषगरी पहाडी, हिमाली भागमा यातायात सेवाको व्यवस्थामा हामीले गरेको प्रयास निराशाजनक छैन । तुलनात्मक रूपमा अरनिको यातायातले देशकै उत्कृष्ट सेवा प्रदान गरेको छ । धुले बाटो, कच्ची सडकको यात्रा कष्टपूर्ण भए पनि नयाँ बस सञ्चालन गर्नु गौरवको विषय हो ।

देशमा आर्थिक मन्दी भएका बेला सबै पेशा, व्यवसाय धराशायी छन् । यस्तो अवस्थामा करिब १ सय थान पुराना बसहरू कवाडीमा बिक्री गरिएको छ । पुराना बसलाई कवाडीको रूपमा बेचेर ऋणको भार थप्दै आफ्नो रुटको सार्वजनिक सेवालाई अझ व्यवस्थित, मर्यादित र नियमित बनाउन हामी तल्लीन छौ ।

यस क्षेत्रको लागि बस सेवा सञ्चालन गर्न परिचालक चालकसहितले लगानी गर्नुभएको छ । स्वदेश र विदेशमा कडा परिश्रमबाट आर्जन गरेको केही पूँजी र ऋणको ठूलो भारबाट लगानी गरी स्वरोजगार भएर पेशा व्यवसाय धानिरहेको अवस्था छ । सरकार, प्रहरी, प्रशासन अथवा सिङ्गो राज्य संयन्त्र नै लगानी मैत्री नभएको अवस्था छ । भएका कानुन कार्यान्वयन हुँदैनन् । न्याय पाउन कि आन्दोलन गर्नुपर्छ कि धेरै रकमको प्रयोग गर्नुपर्छ । कि राजनीतिक सहयोगको जरुरी रहन्छ । विवेकपूर्ण निर्णय हुन सक्दैन । यो अवस्थालाई छिचोल्दै अरनिको अघि बढिरहेको छ ।

सार्वजनिक दुर्घटनाको अवस्था:

सवारी दुर्घटना न्यूनीकरण हुन सकेको छैन । दुर्घटना न्यूनीकरणमा सम्बन्धित निकायको चासो पुगेको छैन । हामीले सवारी साधनहरूको तन्दुरुस्तीलाई ध्यान दिएका छौँ । सवारी साधनको अवस्थाबाट हुने दुर्घटना र चालकको कमजोरी तर्फबाट हुने दुर्घटना न्यूनीकरणको केही प्रयास थालेका छौँ । सवारी साधन मर्मत सम्भार गरी चालु हालतमा राख्ने र चालक परिचालकलाई दुर्घटना न्यूनीकरण, ट्राफिक नियम, सवारी नियम, यात्रुलाई गर्नुपर्ने व्यवहारको सम्बन्धमा हरेक महिना प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका छौँ । दैनिक ६ सय सवारी साधन गुडाइरहँदा पनि समग्र दुर्घटनाको तुलनामा अरनिकोका गाडीहरू न्यून दुर्घटना भएको तथ्य छ ।

दुर्घटना पश्चात् व्यवस्थापन:

नेपालको सवारी दुर्घटनामा कसको गल्ती छ भन्ने कहिल्यै हेरिँदैन । न प्रहरी प्रशासनले हेर्छ । न त अड्डा अदालतबाट पर्याप्त ध्यान पुगेको छ । यहाँ एउटै मान्यताले काम गर्छ त्यो हो रकम । कानुनी रूपमा औषधी उपचारको नियम ३ लाख तोकिएको छ । सो रकम मध्ये कैयौँ गुणा बढी खर्च गर्दासमेत चालक र सवारी साधन जफत गर्ने र जेल हाल्ने गरिन्छ । कानुनीरुपमा २४ घण्टामा सवारी साधन छोड्नुपर्ने भए पनि पीडित पक्षको माग, प्रहरी प्रशासनबाट थप आर्थिक माग हुने गरेको छ । त्यस कारण पक्राउ गरिएका सवारी साधनको क्षतिपूर्तिका लागि अव अदालतको सहारामा पुग्न थालिएको छ । पीडित पक्षको अनभिज्ञताको फाइदा प्रहरी प्रशासनले उठाइरहेको छ । हरेक दुर्घटना पश्चात् छलफल भनी बोलाइन्छ । प्रहरी कार्यालय भित्रै अमानवीय व्यवहार मात्रै होइन, ठूलो आर्थिक माग गर्ने गरिन्छ । जनप्रतिनिधि, कानुन बनाउने सांसदहरूसमेत कानुनी व्यवस्था भन्दा बढी क्षतिपूर्ति तिराउन दबाब दिन्छन् । क्षतिपूर्ति तथा दुर्घटनापश्चात् घाइतेको उपचारमा पर्याप्त व्यवस्थापन गरिरहँदा त्यसैलाई आधार बनाई दोषी करार गरिन्छ । दुर्घटना पश्चात् उद्धार गर्ने कि ? पहिलो प्राथमिकता उपचारमा लाग्ने की ? उम्किन खोज्ने ? दुबिधा उत्पन्न भएको छ । जे भए पनि हाम्रो जस्तो संस्था मानवीय सेवा भन्दा बाहिर जान सक्दैन । यो भावना राख्दा संस्था र व्यवसाय नै समाप्त हुने परिस्थिति निर्माण भइरहेको छ ।

दुर्घटना पश्चात् औषधी उपचार र क्षतिपूर्ति:

विद्यमान कानुनमा हाल भएको औषधी उपचारको ३ लाखको सिमाले उपचार सम्भव छैन । मृत्यु पश्चात् ५ लाख क्षतिपूर्ति अपुग भएको सही हो । क्षतिपूर्ति तथा औषधोपचारका लागि रकम थप हुनुपर्छ भन्दै मुद्दा दर्ता भएको छ । जनप्रतिनिधिमूलक संस्थाले यस बारे कानुन निर्माणमा चासो नराखेका कारण अदालत गुहार्न परेको हो । क्षतिपूर्ति तिर्नेहरूले क्षतिपूर्ति कम भयो भनेर दायर गरेको मुद्दासमेत फर्छ्यौट हुन ढिलाइ हुँदा थप अन्योल भइरहेको छ ।
हामीले दायर गरेको यस सम्बन्धी मुद्दा सम्मानित सर्वोच्च अदालतले अझै फैसला गरेका छैन ।

यात्रुप्रतिको दायित्व:

यात्रु भगवान् हुन् सेवा गरौँ भन्ने मूल नाराका साथ यो ५१ औ साधारण सभामा केही नयाँ घोषणाहरू गरेका छौं । पहाडी रुटमा मात्र होइन गाउँ र देहातमासमेत कथित प्रतिस्पर्धाले कुनै पनि प्रकारको राम्रो व्यवस्था गर्न सक्दैन । स्वच्छ प्रतिस्पर्धा प्रमुख सहरहरूमा हुन सक्छ । त्यो भएपनि रहेको छ । पूर्व अरनिको यातायात प्रालिका सेवा लिएका सबै जिल्लाहरू यात्रुहरूलाई भन्न चाहन्छौ कि, एक पटक तपाईँको जिल्ला, गाउँजस्तै भूगोल र बाटो भएको अन्य स्थानमा सञ्चालन भएका यातायातको साधन हेर्नुस् समय अवधि, नियमितता, भाडादर हेर्नुस् अन्य व्यवस्था हेर्नुहोस् अनि तुलना गरेर निर्णय लिनुहोस् । योसँगै हामीले सेवा सुधारका लागि गर्नुपर्ने, हाम्रा मजदुर वर्गले गर्नुपर्ने व्यवहारमा अझै परिवर्तन गर्नुपर्ने आवश्यकतालाई इन्कार गर्नु हुँदैन ।

अरनिकोको नयाँ बसपार्कको सेरोफेरो

अरनिको यातायातले सेवा दिइरहेको यात्रुहरूका लागि काठमाडौँ जिल्ला काठमाडौं महानगरपालिकास्थित पुरानो बसपार्कबाट सेवा सञ्चालन थियो । उक्त स्थानबाट पार्क हटाई खुलामञ्चमा पार्किङको व्यवस्था गरियो । उक्त स्थानमा पनि विकल्प नै नदिई कोभिड र लकडाउनको मौका छोपी पार्किङ हटाइयो । त्यसपश्चात् बागमती किनार तीनकुने, कोटेश्वर, जडीबुटीको मुख्य सडक मनोहराको किनाराबाट अत्यन्तै अस्तव्यस्त तरिकाले यातायात सेवा सञ्चालन भइरहेको थियो ।

कोटेश्वर पूर्वका लागि बसपार्क व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाका तत्कालीन उपमेयर हरिप्रभा खड्गीको संयोजकत्वमा वडाध्यक्ष नवराज पराजुलीसमेतको कमिटी गठन गरेर बसपार्कको व्यवस्थापनको जिम्मा दिएको थियो । तर, सो कमिटीले कुनै काम गर्न सकेन । यस वारे राजनीतिक तहमा पनि पटक पटक छलफल र जानकारी गराइएको थियो । हामी बसपार्क नै निर्माण गर्ने व्यापारी पनि होईनौं । तर, आवश्यकताले हामीलाई त्यो जिम्मेवारी प्रदान गर्‍यो ।र, हामी त्यसतर्फ अघि बढ्यौँ ।

२०८० भाद्र १५ पछि अहोरात्र मेहनत, परिश्रम र संघर्षले निजी स्तरको सामूहिक प्रयासबाट बसपार्क निर्माण सम्पन्न भएको छ । बसपार्क निर्माणको सुरुमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, वडा नंं ३२ का अध्यक्ष नवराज पराजुलीले निर्माण सम्पन्न भएको स्थान अवलोकन गरी मौखिक सहमति दिइएको हो । मलाई यहाँ आउँदा मेयर बालेन शाहले प्रश्न गर्नुभयो । यहाँ Block Top बाट ढलान गर्नुहुन्छ ? मैले उत्तर दिए– सानो क्षेत्र छ । तर, युरोप जस्तो बनाउँछु त्यसपछि उहाँ मुसुक्क हाँस्नुभयो । बसपार्क निर्माण गर्दा काठमाडौँ महानगरपालिका, उपत्यका विकास प्राधिकरण , यातायात व्यवस्था विभाग, उपत्यका ट्राफिक कार्यालयमा कार्ययोजना सहित निवेदन दिएको प्रमाण हाल हामीसँग सुरक्षित छ । बसपार्क निर्माण हुँदै गयो ।

काठमाडौं महानगरपालिकाले बाहिर जाने सबै प्रकारका सवारी साधनहरू गोङ्गबु बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने, टिकट त्यही मात्र काट्नुपर्ने बिच बाटोमा कहिँकतै ओर्लन उक्लन नपाइने भन्दै काउन्टर तोडफोड शुरु गरेको थियो । बोर्ड हटाउने कार्य हुन थाल्यो र नवनिर्माणको बसपार्क भत्काउने घोषणा र प्रयास शुरु भयो ।

सिंहदरबारभित्रै छलफलकै क्रममा मन्त्रीकै रोहवरमा महानगरका सुरक्षा प्रमुख पाण्डेले बसपार्क भत्काउने अभिव्यक्ति दिए । हामी महानगर पुग्दा भत्काएर नै छाड्ने धम्की प्रयोग भयो । निर्माण रोक्न पत्राचार गरियो । महानगरको उद्देश्य बुझेपछि अरू उपायको खोजीमा लाग्यौँ । सबै प्रकारको उपाय अवलम्बन गर्न खोज्यौँ । यसको सुरक्षाका लागि सबै मजदुर साथीहरू रातदिन जम्मा भएर निर्माणस्थलमा बस्यौँ ।

यो विषयमा सञ्चारमाध्यम पनि आफ्नो धारणा राखियो । शुरुमा केही विरोध पनि भयो । जब कुरा बुझ्दै गएपछि नागरिकको तर्फबाट पनि सकारात्मक प्रतिक्रिया आउन थाल्यो । यसैबीच केही माननीय सांसदहरूले संसदमा कुरा पनि उठाउनु भयो । यसरी जताततै वाट महानगरको विरोध र बसपार्कको समर्थन हुन थालेपछि केही राहत मिल्यो ।

वाग्मती प्रदेशका सबै पार्टीका माननीयहरूले अवलोकन मात्र गर्नु भएन बसपार्क कायम गर्न प्रयास नै थाल्नु भयो । ११ जिल्लाकै समन्वय समिति प्रमुखहरूले सिफारिस दिनुभयो । अरनिको यातायातको रुट रहेका सबैजसो स्थानीय तहले बसपार्क सञ्चालनका लागि सिफारिस गरिदिनुभयो । उहाँहरू सवैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।

उच्च अदालत पाटनमा जग्गा धनी तथा लगानीकर्ताको तर्फबाट श्यामबहादुर लामा र रविनराज शिवाकोटी र पूर्व अरनिको यातायात प्रालिको तर्फबाट अध्यक्ष केदार क्षत्रीले मुद्दा दर्ता गर्‍यौं । सुरुमा नभत्काउन अल्पकालीन आदेश भयो । पछि भत्काउन नपाउनेगर फैशाला समेत भएपछि एउटा कहालीलाग्दो परिणामबाट मुक्त भयौँ । विजयदशमी दीपावली, छठ, लोसार जस्ता महत्त्वपूर्ण चाडपर्व आइरहेको अवस्थामा यात्रु चाप वृद्धि हुँदा कोटेश्वर वरिवारिको अवस्था निकै अस्तव्यस्त हुने र गोङ्गबु बसपार्क जाँदा यात्रुलाई निकै मार्का पर्ने अवस्था आउँदा अन्तिममा हामीले आन्दोलनका कार्यहरू प्रस्तुत गर्‍यो ।

गत असोज २४ गते काठमाडौँ जिल्लाको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बोलाई उक्त दिनमा पर्ने चाडपर्वको अवधिभर बसपार्क सञ्चालनको लागि मौखिक अनुमति प्रदान गरी सुरक्षा निकायबाट पर्याप्त सुरक्षा प्रदान गर्ने ग्यारेन्टी गरे पश्चात् हाल हामीले निर्माण गरेको नयाँ बसपार्क बाट यात्रुलाई सेवा दिइरहेका छौँ । पूर्व अरनिको यातायातको सिन्धुपाल्चोक चौतारामा पार्किङ व्यवस्था पहिले नै गरेका छौ । तर, सुविधा सम्पन्न गर्न बाँकी छ । काठमाडौंमा बसपार्क निर्माणपछि हाम्रो हौसला बढेको छ । अव चौतारा बाह्रबिसे लगायत रुटहरूमा भएका अन्य स्थानमा समेत बसपार्कको निर्माणमा सम्बन्धित निकायहरू सँग समन्वय गरी व्यवस्थापन अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौ ।

बसपार्कमा हुने सुविधा:

निजी जग्गा भाडामा लिएर निर्माण भएको बसपार्क अरनिको यातायातको ६५ प्रतिशत लगानी रहेको छ । जग्गाधनी र केही लगानीकर्ताले अन्य स्रोत जुटाएर बसपार्क निर्माण भएको हो । काठमाडौं उपत्यकाकै अत्याधुनिक रहेको यो बसपार्कभित्र निःशुल्क सार्वजनिक शौचालय निर्माण गरिएको छ । यात्रु प्रतीक्षालय, होटल, रेष्टुरेन्ट, फलफूल बिक्री कक्ष, अत्यावश्यक बस्तु पनि बिक्री कक्ष राखिएको छ । यो बसपार्क प्रयोग गरेबापत यात्रुलाई कुनै थप शुल्क नलिने कारण पनि यो नेपालकै पहिलो बसपार्क हो भन्न सकिन्छ । साथै सुरक्षाको दृष्टिकोणले पनि आधुनिक सुरक्षा संयन्त्र तथा सिसिक्यामेराहरु जडान गरिएको छ । साथै हरेक यात्रुले सहजरुपमा टिकट लिन सक्ने व्यवस्था पनि गरिएको छ ।

क्षत्री अरनिको यातायातको अध्यक्ष हुन् 


प्रतिक्रिया

2 thoughts on “बालेनसँग भीडेर आधुनिक बसपार्क

  1. अरनिकोलाई उसकै मात्र मतलव हुन्छ । त्यसका पदाधिकारीलाई पैसा कमाउनेभन्दा अरू कुनै कुराको मतलव छैन । यात्रुको सेवा त गौण हो । यात्रु त उनीहरूका रैती जस्ता हुन् । अब महानगर भित्र सबैले आ-आफ्नै वसपार्क बनाउँदै जाने हो भने ट्राफिक व्यवस्थापन, यात्रुको सुरक्षा लगायतका काम चाहिँ कसले गर्छ नि ? केदार क्षेत्रीले ? यिनीहरूले पैसाको बलमा अदालतको आदेश ल्याएका हुन् । जनता जागेका दिन यस्ता दादागिरी देखाउने व्यवसायी संघलाई पाठ पढाउने छन् । बालेनको कामलाई सहयोग गरौं । यिनको एकाधिकार खरहटाउन खोज्दा नमानेकाले तत्कालीन गृहमन्त्री रामबहादुर थापाले यिनीहरूलाई थुन्नु नै परेको थियो ।

    1. ईतिहास साक्षी छ २०२९ साल देखि यात्रु को सेवा कस्ले दियो भन्ने कुरामा।यात्री हाम्रा भगवान हुन याद रहोस्।हो जनता जागेर नै हामी लेआफ्नैबस पार्क संचालन गरी छाड्यौ केही भन्नु छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *