कोशीमा राप्रपाले किन खायो सभामुख ? सिटौला भन्छन्- यसैगरी राज्यभित्र घुसपैठ गर्ने फर्मुला छ – Nepal Press

कोशीमा राप्रपाले किन खायो सभामुख ? सिटौला भन्छन्- यसैगरी राज्यभित्र घुसपैठ गर्ने फर्मुला छ

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सभामुख पद लिने निर्णयबाट आफूहरु ब्याक नहुने बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनले दिएको म्यान्डेटअनुसार कोशी प्रदेशको सभामुख पद लिएको भन्दै उनले कसैले निर्देशन दिँदैमा गरिएको निर्णयबाट ब्याक नहुने बताए ।

‘प्रदेश कमिटी र संसदीय दलबाट सर्वसम्मत रूपमा सभामुख पद लिने निर्णय गरिएको हो’, उनले नेपाल प्रेससँग भने, ‘कसैले भन्दैमा हामी निर्णयबाट ब्याक हुन सक्दैनौं ।’

कोशीमा राप्रपाले सभामुख लिएपछि राप्रपाभित्र विवाद उत्पन्न भएको छ । राप्रपाको कार्यसम्पादन समितिका अध्यक्ष प्रकाशचन्द्र लोहनीले कोशी प्रदेशका सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समिति र कार्यसम्पादन समितिलाई निर्देशन दिएका थिए ।

लोहनीसँगै महामन्त्री धवलशमशेर राणा पनि सभामुखबाट ब्याक हुनुपर्ने पक्षमा छन् । उनी पनि कारबाही गर्नुपर्ने पक्षमा रहेका छन् ।

निर्देशनअनुसार फिर्ता नबोलाए कारबाही गर्नेसमेत चेतावनी दिएपछि राप्रपाभित्र विवादले उग्र रुप लिएको छ । विवादका विषयमा कुरा गर्दै सिटौलाले कसैलाई लाग्दैमा कारबाही हुन नसक्ने बताए ।

‘निर्देशन समितिले केन्द्रीय समितिलाई दिनुपर्ने हो, व्यक्ति व्यक्तिलाई कारबाही गर्छु भन्दै हिँड्नुको कुनै तर्क छैन’, उनले भने, ‘महाधिवेशनले निर्वाचनमा जाने निर्णय गरेको छ । निर्णयअनुसार हामी चुनावमा गएका हौं । चुनाव जितेर आएका साथीहरूलाई कुनै भूमिका नदिने हो भने अर्को चुनावमा उम्मेदवार हुने कोही पनि हुँदैन ।’

सभामुखलाई फिर्ता बोलाउने र हामीलाई कारबाही गर्ने हो भने सबै प्रदेशसभा सदस्य, सबै पालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरूलाई पनि फिर्ता बोलाउनुपर्ने उनको तर्क छ ।

‘उनीहरूलाई निर्वाचन उठाउने निर्णय गर्नेहरूलाई पनि कारबाही गरिनुपर्छ’, नेता सिटौलाले भने ।

उनले महाधिवेशनको म्यान्डेटअनुसार नै कोशीमा सभामुख लिने निर्णय गरिएको दाबी गरे । ‘हिजो कांग्रेस-एमालेहरूले पनि पञ्चायतमा जनपक्षीय उमेदवारको रूपमा निर्वाचित भएर सत्ता कब्जा गरेका थिए । अहिले हामी पनि यसरी नै सत्ता कब्जा गर्ने रणनीतिमा छौं । यो ‘अडिट फर्मुला‘ हो’, उनले भने, ‘संयन्त्रभित्रै बसेर राम्रो काम गर्दै सत्ता कब्जा गर्नु यो फर्मुलाको सिद्धान्त हो ।’

उनले महाधिवेशनले सडक, सरकार र संसदबाट नै हाम्रा माग पूरा गर्न आन्दोलन गर्ने रणनीति बनाएको बताए ।

‘हामी त्यही रणनीतिअनुसार सदनमा बसेर एजेन्डा लागू गर्ने योजनामा छौं । त्यसैले हामीले कोशी प्रदेशको सभामुखमा अम्बरबहादुर बिस्टलाई पठाउने निर्णय गरेका हौं’, नेता सिटौलाले भने ।

कोशीको सभामुखमा प्रदेशसभा सदस्य अम्बरबहादुर विष्ट पुस २४ गते निर्वाचित भएका थिए । सभामुखमा निर्वाचित भएसँगै विष्टले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर