जनयुद्धका उपलब्धिबारे वाईसीएलले ‘डिजिटल वक्तृत्वकला’ प्रतिस्पर्धा गराउँदै, यसरी हुनेछ बहस
जनयुद्धका उपलब्धिबारे डिजिटल बहसमा प्रथम हुनेले पाउनेछन् फागुन १ गते ३० हजार नगद र प्रमाणपत्र
काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन वाईसीएल नेपालले २८ औं जनयुद्ध दिवसका अवसरमा ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
वाईसीएलको उपभोक्ता हकहित संरक्षण विभागले ‘जनयुद्धका उपलब्धि’ विषयमा बृहत वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।
वक्तृत्वकला डिजिटल प्लेटफर्मबाटै हुने भएकाले सहभागीले बढीमा ४ मिनेटको भिडियोमा जनयुद्धका उपलब्धिबारे बोलेर पठाउनुपर्ने वाईसीएलका सचिव उपभोक्ता हकहित संरक्षण विभाग प्रमुख हरि ढकालले बताए ।
डिजिटल बहसमा सहभागी हुनेले माओवादी जनयुद्धअघिको राज्यको आर्थिक, सामाजिक र राजनीतिक व्यवस्था र त्यसपछि देशले प्राप्त गरेका उपलब्धिमा केन्द्रित रहेर बोल्नुपर्ने वाईसीएलले जनाएको छ ।
आयोजक विभाग प्रमुख ढकालले भिडियो आगामी माघ १० गतेभित्र पठाइसक्नु पर्ने बताए । ती भिडिओलाई वाईसीएलले फेसबुक पेजमा राख्ने र माघ २८ गते दिउँसो १२ बजेसम्म आएका लाइक, कमेन्ट, शेयर र भ्युजको आधारमा विजेता तथा उपविजेताको टुंगो लगाइने ढकालले जानकारी दिए ।
यद्यपि निर्णायक मण्डलले सहभागी वक्ताको विषयवस्तु उठान, बोल्ने शैली र अन्य क्षमतालाई समेत मूल्यांकन गरेर अन्तिम नम्बर दिइने उनले बताए । भिडिओको लाइक, कमेन्ट, भ्युज र शेयरको ५० प्रतिशत मूल्यांकन हुनेछ । विषयवस्तु र कलात्मक प्रस्तुतिको ५० प्रतिशत मूल्यांकन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा १६ देखि ३० वर्ष उमेर समूहका युवाले भाग लिन पाउने वाईसीएलले जनाएको छ । सहभागीमध्येबाट प्रथम हुनेलाई ३० हजार नगद र दोस्रो तथा तेस्रो हुनेलाई क्रमशः २० र १० हजार नगदसहित प्रमाणपत्र दिइने ढकाले बताए ।
प्रतिस्पर्धीहरुले पठाएको भिडियो आयोजकको आधिकारिक पेजबाट मात्रै प्रसारण गरिने र सोही पेजको आधारमा पुरस्कार प्रदान गरिने बताइएको छ । फागुन १ गते जनयुद्ध दिवसको अवसरमा विजेतालाई पुरस्कार र प्रमाणपत्र दिइने सचिव ढकालले बताए ।
प्रतियोगितामा सहभागी हुन चाहनेले तलको गुगल फारम भर्न समेत वाइसिएलले आग्रह गरेको छ । गुगल फारम भर्न सहज र सरल तरिका रहेको र सबैले त्यसमार्फत सहभागी हुन सक्ने र थप जानकारीका लागि वाइसिएलको आधिकारिक फेसबुक पेजमा हेर्न सकिने ढकालले बताए ।
केही गर्नै पर्दैन । जनयुद्वले मुख्य नेतालाई सडकपतिबाट अरबपति बनायो । दुई छाक खान धौधौ पर्ने नेताका छोरी दुई लाख पर्ने त ह्याण्ड व्याग बोक्ने भए । कति हो कति उपलव्धी ।