लुम्बिनीमा गठबन्धनको मतभार दोब्बर, एमाले गठबन्धनको मत तान्न सफल होला ? – Nepal Press

लुम्बिनीमा गठबन्धनको मतभार दोब्बर, एमाले गठबन्धनको मत तान्न सफल होला ?

राप्रपा र जनमतले कसरी गर्दैछन् आफ्नो मतको सुरक्षा ?

रुपन्देही । दुई जना राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धन दलको करिब दोब्बर बढी मतभार छ ।

अङ्कगणितको आधारमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरूको जित सुनिश्चित देखिए पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, सरकार बाहिर रहेको राप्रपा र सरकारमै रहेको जनमतले उम्मेदवार खडा गरेका छन् । माघ ११ गते हुने लुम्बिनी प्रदेशको दुई वटा सीटका लागि ७ जनाको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनबाट महिलातर्फ नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा (गुल्मी) र नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी (रोल्पा)ले उम्मेदवारी दर्ता गराएका छन् । सापकोटाले महिला कोटा र सुवेदीले अन्य कोटाबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै नेकपा एमालेबाट तुलसा केसी (दाङ)ले महिला कोटा र झविन्द्र घर्ती क्षेत्री (पाल्पा) ले अन्य कोटामा उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट महिला कोटामा विजयालक्ष्मी सिंह (कपिलवस्तु) र निरञ्जन थापा (रुपन्देही)ले अन्य कोटाबाट उम्मेदवारी दिएका हुन् ।

त्यसैगरी सत्तारुढ जनमत पार्टीको तर्फबाट अन्यमा एउटा मात्रै उम्मेदवारी परेको छ । नवलपरासी पश्चिमका बालगोविन्द चौधरीले सत्तारुढ दलमै भएपनि पार्टीको केन्द्रीय नेताहरूको सल्लाहमै उम्मेदवारी दर्ता गराएका हुन् । जनमतले मधेसमा पनि उम्मेदवारी दिएको छ ।

दुई पदका लागि सत्ता गठबन्धन दल काँग्रेस र माओवादीबाट संयुक्त रूपमा एक पुरुष र एक महिला गरी एक र एक जना, एमालेबाट एक महिला र एक पुरुष, राप्रपाबाट एक महिला र एक पुरुष र जनमतबाट एक पुरुष गरी तीन महिला र चार पुरुषले उम्मेदवारी दर्ता गराएका छन् । जनमतले उम्मेदवारी दिए पनि मतभार धेरै नभएकाले खासै प्रभाव पर्ने देखिँदैन ।

लुम्बिनी प्रदेशमा ८७ जना प्रदेश सभा सदस्य र १०९ वटा पालिकाका २१८ जना प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी ३०५ जनाले मतदान गर्नेछन्। राष्ट्रिय सभा निर्वाचनका लागि पालिकाका प्रमुख/उपप्रमुखको मतभार १९ र प्रदेश सभा सदस्यको ५३ तोकिएको छ ।

यो हिसाबले प्रदेश सभाका सदस्यहरूको मतभार संख्या ४ हजार ६११ र पालिकाका जनप्रतिनिधिको ४ हजार १४२ गरी हजार ९६४ मतभार गरी जम्मा ८ हजार ७५३ मतभार कायम हुन्छ ।

यो मध्ये सत्तारुढ गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत, नागरिक उन्मुक्ति, जनमोर्चाको गरी पक्षमा ५ हजार १७२ मतभार संख्या छ । यो भनेको एमालेको भन्दा २ हजार ५४२ मतभार संख्या बढी हो ।

एमालेको मतभार संख्या २ हजार ८१० मात्रै रहेको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि गठबन्धन दललाई समर्थन गर्नसक्ने सम्भावना रहेको छ । यदि लोकतान्त्रिक समाजवादीले गठबन्धनलाई समर्थन गरेमा गठबन्धन दलको मतभार संख्या बढ्नेछन् ।

प्रदेशमा नेपाली कांग्रेस मतभारको आधारमा सबैभन्दा ठूलो दल हो । कांग्रेसका २७ सांसद, ९२ पालिका प्रमुख–उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष गरी कुल ३ हजार १ सय ७९ मतभार छ । यस्तै एमालेका २९ सांसद र ६७ पालिका प्रमुख–उपप्रमुख, अध्यक्ष उपाध्यक्षको मतभार २ हजार ८ सय १० छ भने माओवादीका ११ सांसद र ४० पालिका प्रमुख–उपप्रमुखको मतभार १ हजार ३ सय ४३ छ ।

राप्रपाका ४ सांसद र ३ पालिका प्रमुख–उपप्रमुखको मतभार २६९ छ भने जसपाका ३ सांसद र ३ पालिका प्रमुख र उपप्रमुखको मतभार २७३ देखिन्छ । लोसपाका ३ सांसद र ४ पालिका प्रमुख–उपप्रमुखको मतभार २३५ छ भने एकीकृत समाजवादीका एक सांसदको ५३ मतभार छ ।

राष्ट्रिय जनमोर्चाका एक सांसद र ४ पालिका प्रमुख–उपप्रमुखको मतभार १२९ हुन्छ भने जनता प्रगतिशील पार्टी नेपालका २ पालिका प्रमुख–उपप्रमुखको मतभार ३६ हुन्छ । प्रदेश सभामा जनमत पार्टीको मतभार १५९ छ भने नागरिक उन्मुक्ति पार्टीको ११२ मतभार छ ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले एमालेबाहेक अन्य दलबाट पनि मत आउने अपेक्षा गरिएको र केही अनौपचारिक कुराकानी पनि भएको बताए । सत्तारुढ दलका नेताहरु भने गठबन्धनमा कुनै समस्या नभएकाले मत तलमाथि नहुने बताउँछन् ।

‘निर्वाचित जनप्रतिनिधिले मतदान गर्ने र मतभार धेरै अन्तर भएकाले जितका लागि गठबन्धनमा कुनै समस्या छैन, केन्द्रीय सहमतिका आधारमा बाँडफाँड भएकाले पनि तलमाथि हुँदैन’कांग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकाश रानाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर