सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउनुपर्ने पक्षमा खुले विश्वप्रकाश, शान्तिप्रक्रिया उनैले टुंग्याउने दाबी – Nepal Press

सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउनुपर्ने पक्षमा खुले विश्वप्रकाश, शान्तिप्रक्रिया उनैले टुंग्याउने दाबी

‘उहाँलाई राष्ट्रियसभा अध्यक्ष हुनेगरी नै उम्मेदवार बनाइएको हो’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा कोशीबाट राष्ट्रिय सभा उम्मेदवार बनेका नेता विश्वप्रकाश शर्मालाई राष्ट्रिय सभा अध्यक्ष नै बनाउनुपर्ने पक्षमा खुलेका छन् । शान्ति प्रक्रिया टुंग्याउनका लागि उनलाई यो जिम्मेवारी दिनु उपयुक्त हुने उनको तर्क छ ।

नेपाल प्रेससँग कुरा गर्दै शर्माले सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष हुनेगरी उम्मेदवार बनाइएको स्पष्ट पारे ।

शर्माले नेपालप्रेससँग भने, ‘अहिले पनि शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको छैन । शान्ति प्रक्रिया टुंग्याउन उहाँलाई राष्ट्रियसभा अध्यक्ष बनाइनु पर्छ । यसका लागि सबैको सहमति छ ।’

माओवादीको सशस्त्र आन्दोलनलाई शान्ति प्रक्रियामा ल्याउन सिटौलाको महत्त्वपूर्ण भूमिका रहेको उनी बताउँछन् ।

शर्माले थपे, ‘सभापतिको हैसियतले गिरिजाबाबुले हस्ताक्षर गर्नुभयो । तर, हस्ताक्षर गर्नुभन्दा अगाडि सम्पन्न गर्नुपर्ने कामको नेतृत्व सिटौलाले गर्नुभएको हो ।’

अब उहाँलाई राष्ट्रियसभाको अध्यक्ष बनाएर सत्य निरूपण तथा मेलमिलाप आयोगले गरिरहेको काम पनि टुंग्याउनुपर्ने महामन्त्री शर्माको भनाइ छ । उनले सत्ता गठबन्धनमा रहेका दलहरूबीच यस विषयमा औपचारिक निर्णय भने भइनसकेको उल्लेख गरे ।

झापाका सिटौलालाई अध्यक्ष बनाउने लविङमा अर्का झापाली शर्मा मिसिए पनि विगतमा भने उनीहरुको सम्वन्ध त्यति सुमधुर थिएन । स्थानीय कांग्रेसीहरुका अनुसार यसअघिका निर्वाचनमा महामन्त्री शर्मा आफू पराजित हुनुको दोष सिटौलालाई दिने गर्थे । तर, यस पटक परिस्थिति उल्टियो । विश्वप्रकाशले झापा क्षेत्र नम्बर १ मा निर्वाचन जित्दा सिटौलाले झापा ३ बाट दोस्रोपटक पराजय भोगे ।
चुनाव हारेको नेतालाई राष्ट्रिय सभामा उम्मेदवार बनाएकोमा कांग्रेसले चर्को आलोचनाको सामना गर्नु परिरहेको छ । तर, विश्वप्रकाशले भने खुलेरै सिटौलाको पक्षपोषण गरेका छन् । यसले उनीहरुबीच सुधारिएको सम्वन्धको संकेत गर्छ ।

प्रतिनिधिसभामा पराजित सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाउन शर्मामात्रै होइन अहिले कांग्रेसको फरक विचार समूहको नेतृत्व गर्दै आएका डा. शेखर कोइरालासमेत लागिपरेका छन् । उनले सोमबार विराटनगरस्थित पार्टी कार्यालयमा भएको छलफलमा कृष्ण सिटौला नै राष्ट्रियसभा अध्यक्ष हुने बताएका थिए ।

उनले भनेका थिए, ‘कृष्णजी जत्तिको मानिस आउनुपर्छ भन्नेमा मेरो पनि जोड छ ।’

नेता कोइरालाले यस विषयमा पार्टी सभापति र माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा सहमति भएकोसमेत दावी गरेका छन् । यद्यपि, माओवादी नेताहरु भने राष्ट्रिय सभा अध्यक्ष आफूहरुले पाउनुपर्ने वकालत गरिरहेका छन् । राष्ट्रियसभामा चुनावपछि माओवादी माथिल्लो सदनको ठूलो दल बन्ने भएकाले अध्यक्षमा हक लाग्ने उनीहरुको तर्क छ ।

माओवादी केन्द्र राष्ट्रियसभाका प्रमुख सचेतक गोपी अछामीले आफ्नो पार्टी ठूलो दल भए पनि अध्यक्ष लिने या नलिने भन्ने विषयमा पार्टीले निर्णय गर्ने बताए । उनले भने, ‘आकांक्षीहरू छन् । तर, अहिले नै यही हो भन्न सक्ने अवस्था छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर