अम्बरबहादुर : अखिल छाडेर पञ्चायत पसे, गणतन्त्रमा सभामुखको कुर्सीमा बसे – Nepal Press

अम्बरबहादुर : अखिल छाडेर पञ्चायत पसे, गणतन्त्रमा सभामुखको कुर्सीमा बसे

विराटनगर । साउन १६ गतेबाट रिक्त रहेको कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट निर्विरोध भए ।

कोशी प्रदेशको सभामुखमा उनको मात्रै उम्मेदवारी परेको थियो । सत्ता गठबन्धनले राप्रपालाई नै सभामुख दिने सहमति गरेको थियो । सहमतिअनुसार राप्रपाले सभामुख पद लिने भएपछि एमालेको समेत समर्थनमा विष्ट कोशीको सभामुख भएका छन् ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सत्ता गठबन्धनभन्दा बाहिरबाट उम्मेदवार भएका आफ्नो उम्मेदवार नउठाई विष्टलाई समर्थन गरेको बताए ।

को हुन् कोशीका नवनिर्वाचित सभामुख विष्ट ?

झापाको क्षेत्र नम्बर ५ जुरोपानी स्थायी घर भएका विष्ट समानुपातिक तर्फबाट प्रदेशसभा सदस्य भएका हुन् । उनी २०२८ सालतिर अनेरास्ववियूमा सक्रिय थिए ।

‘मेरो राजनीति अखिलबाट सुरु भएको हो । अखिल मन नपरेपछि मैले पञ्चायतको समर्थनमा राजनीति गरें’, उनले नेपाल प्रेससँग भने ।

उनले अखिलमा रहँदा व्यक्ति हत्या बढेका कारण कम्युनिष्ट विचारधारा छाडेको बताए । ‘म २०३२ सालतिर पञ्चायतको समर्थक बनें’, विष्टले थपे, ‘म वामपन्थी राजनीतिमा सक्रिय हुँदा झापामा कम्युनिष्टहरुको जगजगी थियो । व्यक्ति हत्या बढेपछि म कम्युनिष्ट भइरहन सकिनँ ।’

उनी त्यसपछि २०३३ सालमा जुरोपानी गाउँ पञ्चायत वडा नम्बर ५ को वडाध्यक्ष भएका थिए । वडाध्यक्ष भएको अर्को वर्ष जुरोपानी गाउँ पञ्चायतको उपप्रधानपञ्च बने । उपप्रधानपञ्च भएको एक वर्षपछि उनी झण्डै एक दशक जिल्ला पञ्चायतको सदस्य भए ।

२०४६ सालको परिवर्तनपछि भने उनी राप्रपामा आबद्ध भए । उनी राप्रपा झापा जिल्लाको पहिलो जिल्ला सचिव बनेका थिए । २०५१ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा उनी सहकारी विकास बोर्डको सदस्यसमेत नियुक्त भएका थिए ।

विष्ट झापा राप्रपा ८ वर्ष अध्यक्ष बने । स्नातकसम्म अध्ययन गरेका विष्ट राप्रपाका केन्द्रीय सदस्य हुन् । राप्रपा अध्यक्ष लिङदेनका विश्वास पात्र मानिने उनी समानुपातिकको बाटोबाट कोशी प्रदेशसभा सदस्य बनेका थिए ।

प्रदेश खारेजीको पक्षपाती सभामुखको कुर्सीमा

प्रदेशसभा सदस्य भएपछि विष्टले बैठकमा पटकपटक ‘प्रदेश खारेजी’ को माग राखेका थिए ।

तपाईंले सदनमै प्रदेश खारेजीको माग राख्नुभयो । अहिले त्यसैको संरक्षण गर्ने सभामुख बन्नुभयो । अब प्रदेश खारेजीतर्फ लाग्नुहुन्छ यसको संरक्षण गर्न भन्ने नेपाल प्रेसको जिज्ञासामा विष्टले भने, ‘संविधानको परिधिभित्र रहेर मैले सभामुखको भूमिका निर्वाह गर्नेछु । पार्टीले आफ्नो काम गरिरहनेछ ।’

सभामुख बनेपछि आफू पार्टीको सदस्य नरहने उनले बताए ।

‘संविधानले जे व्यवस्था गरेको छ, त्यही भूमिका निर्वाह गर्छु । सभामुखमा निर्वाचित भएसँगै पार्टीको जिम्मेवारीबाट अलग हुनेछु’, विष्टले भने ।

गएको साउन १६ मा तत्कालीन सभामुख बाबुराम गौतमले कांग्रेस नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन पदबाट राजीनामा दिएपछि प्रदेशको सभामुख पद खाली थियो । राजीनामा दिनुअघि गौतमले गएको असार २१ मा नेपाली कांग्रेसका नेता उद्धव थापा पहिलो पटक मुख्यमन्त्री बन्दा समर्थनमा हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर