प्राचीन कपिलवस्तुको सगरहवामा मूर्ति कार्यशाला सुरु, उपाध्यक्ष ल्हारक्यालले गरे उद्घाटन – Nepal Press

प्राचीन कपिलवस्तुको सगरहवामा मूर्ति कार्यशाला सुरु, उपाध्यक्ष ल्हारक्यालले गरे उद्घाटन

रुपन्देही । कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा प्रथम कपिलवस्तु राष्ट्रिय मूर्ति कार्यशाला २०८० सोमबारदेखि सुरु भएको छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले मूर्ति बनाइने ढुंगालाई हम्मर र छिनोले खोपेर शुभारम्भ गरेका हुन् ।

लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौं, पर्यटन डिभिजन कार्यालय लुम्बिनी प्रदेश रुपन्देहीसहित स्थानीय संघसंस्थाहरुको आयोजनामा कार्यशाला सुरु भएको हो ।

कार्यशालाको शुभारम्भ गर्दै उपाध्यक्ष डा. लामाले सगरहवा बुद्धकालीन समयमा शाक्यहरुको नरसंहार भएको स्थल भएकाले यसलाई अन्तर्राष्ट्रियकरण गर्न प्रत्येक वर्ष शान्तिपूजा गर्ने घोषणा गरे । उनले यो पटक मूर्ति कार्यशाला गरिएको बताउँदै आगामी वर्ष सगरहवामा भएको घटनाका बारेमा प्रचार गर्न कोष सहित स्थानीय सरकारसँग मिलेर विश्वशान्तिको कामनासहित महोत्सव गर्ने बताए ।

उपाध्यक्ष लामाले सगरहवा बुद्धको वंश शाक्यहरुमाथि भएको दुःखद घटनाका बारेमा बौद्धमार्गी र आममानिसहरुमा जानकारी हुनुपर्ने बताउँदै यसका लागि प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्ने बताए ।

उनले महायाज्ञा र बज्रयानी बुद्धिष्टहरुले भारतको कलकत्तामा वार्षिक अर्बैंको माछा तालमा छाड्ने गरेको बताउँदै अब सगरहवा र जगदीशपुर ताललाई विकल्पका रुपमा तयार गर्न सकिने बताए । उनका अनुसार बौद्धिष्टहरुले लामो आयुका लागि माछा पोखरीमा छाड्ने गर्छन् ।

उपाध्यक्ष लामाले सगरहवा स्थानीयहरुकै कारण संरक्षण हुने बताउँदै मूर्ति कार्यशालाबाट कुँदिएका मूर्तिहरुको संरक्षणमा लाग्नुपर्ने बताए । उनले कपिलवस्तु ऐतिहासिक र पुरातात्विक स्थलहरु धेरै रहेको जिल्ला भएकाले यसको विकासका लागि लुम्बिनी विकास कोषले काम गरिरहेको जनाए ।

उनले आफू उपाध्यक्ष भइसकेपछि तिलौराकोटलाई सरसफाईयुक्त बनाइएको र विश्वसम्पदा सूचीमा सूचीकृत गराउने काम अगाडि बढिरहेको बताउँदै बुद्धभूमि कपिलवस्तुका ऐतिहासिक र पुरातात्विक स्थलहरुको विकासलाई प्राथिमकताका साथ अगाडि सारेको जानकारी दिए । कोष लुम्बिनीको गुरुयोजना पूरा गर्नका लागि केन्द्रित हुँदा कपिलवस्तु र रामग्रामको विकासमा ध्यान केन्द्रित कम भएको र अब यसको योजना अघि बढेको उनको भनाइ थियो ।

कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले मूर्ति कार्यशालाले पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न निकै महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नगरपालिकाले ऐतिहासिकस्थल सगरहवासहित यहाँका बौद्धकालीन क्षेत्रहरुको विकासका लागि सहकार्य गर्न तयार रहेको जनाए । उनले कपिलवस्तुलाई अन्तर्राष्ट्रियकरण गर्नका लागि रामग्राममा जस्तै यहाँ पनि कार्यक्रम गर्न सुझाव दिए ।

कोषका कोषाध्यक्ष एवम् कार्यशाला निर्देशक समितिका संयोजक ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले सगरहवामा शाक्य गणराज्यको उत्थान र पतनसंग गाँसिएका विभिन्न कथाहरुलाई मूर्तिमा कलाकारहरुले उतार्ने बताए ।

कार्यशालाबाट तयार भएका मूर्तिहरुले सगरहवाको ऐतिहासिक र पुरातात्विक महत्व उजागरसँगै पर्यटक आउने वातावरण बनाउने उनले बताए । उनले लुम्बिनी विकास कोषले कपिलवस्तुका बौद्धकालीन स्थानहरुको विकास गर्न अब प्राथमिकता दिने नीति लिएको बताए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख दिनेश्वर महतोले पुरातात्विक र ऐतिहासिक विषयसँग जोडेर मूर्ति निर्माणको काम सुरु गरिएको बताए । उनले अरनिको स्मृति दिवसको अवसर पारेर ऐतिहासिक स्थलमा मूर्ति निर्माणको कामको थालनी हुनु निकै खुशीको कुरा भएको बताउँदै कलाको विकासमा सबैसँग जोडिएर अगाडि बढ्न चाहेको बताए ।

कपिलवस्तु जगदीशपुर जलासय व्यवस्थापन बहुसरोकार मञ्च कपिलवस्तुका अध्यक्ष एवम् कार्याशाला सचिवालय सदस्य देवेन्द्र कुमार पोखरेल, सचिवालय सदस्य देवेन्द्रकुमार पोखरेल, भन्ते सुमंगलो, दामोदर सापकोटालगायतले बोल्दै सगरहवा आफैमा ऐतिहासिकस्थल भएकाले मूर्ति कार्यशालाले यस क्षेत्रको ऐतिहासिक पक्षलाई उजागर गर्दै पर्यटन प्रवद्र्धन गर्नेमा जोड दिए ।

कार्यशालाको अवसरमा लेखक पोमनारायण पौडेलद्वारा लिखित प्राचीन कपिलवस्तुको पतन र सगरहवा पुस्तकको विमोचन गरिएको छ । कार्यशाला आगामी माघ ८ गतेसम्म सञ्चालन हुनेछ । शाक्यमुनि बुद्धको जीवनको उतार्धतिर कोशल राज्यका राजा विडूडभले आफू बाबु प्रु्नजीतलाई झुक्याएर शाक्यपुत्री भनि दासीपुत्रीसँग विवाह गरिदिएको र प्रतिशोधवश कपिलवस्तु राज्यका हजारौं शाक्यहरुको सामूहिक बध गरेको स्थनका रुपमा सगरहवालाई चिनिन्छ ।

कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ किमी र तिलौराकोटवाट ६ किमी उत्तरमा रहेको छ भने पूर्वपश्चिम राजमार्गको बनगाईबाट ७ किमी तथा नेपालको दोस्रो पंक्षी आरक्ष जगदीशपुर तालको दक्षिणमा रहेको छ ।

सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौं स्तुुपहरूको निर्माण गरेको चिनियाँ यात्री हुुयन् साङ्को सन् ६३६ को यात्रा बृतान्तमा उल्लेख गरिएको पाइन्छ  ।

सन् १८९७ मा डा. फुुरर्हरद्वारा गरिएको उत्खनन् तथा अन्वेषणमा शाक्य सेनाहरुको सम्झनामा १७ वटा निर्माण गरिएका ठूूलो वर्गाकार स्तुुपहरु र धेरै संख्यामा साना स्तुुप भेटिएको थियो । स्तुुपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबीजस्ता सामग्री प्राप्त भएका थिए । जगदिशपुर तालको काखैमा रहेको लम्बु सागर रुपमा परिचित सगरहवा ५२ विघा क्षेत्रफलमा फैलिएको छ ।

कार्यशालाको मुख्य आयोजक लुम्बिनी विकास कोष, आयोजकको रुपमा कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, नेपाल पर्यटन डिभिजन कार्यलय लुम्बिनी प्रदेश रुपन्देहीको भूमिका हुनेछ भने कुमारी बैंक लिमिटेड, एनआईएमबि बैंकले मुख्य प्रायोजन र नेविल बैंक र कृषि विकास बैंकले प्रायोजकको भुमिका निर्वाह गर्नेछन् ।

सञ्चार प्रवद्र्धकको रुपमा नेपाल पत्रकार महासंघ कपिलवस्तु, लुम्बिनी पर्यटन पत्रकार संघ, पर्यटन प्रबद्र्धकको रुपमा ड्रिम देवदह रुपन्देही र नाटा लुम्बिनी प्रदेश रहेका छन् । स्थानीय प्राचीन कपिलवस्तु सरोकार मञ्च, कपिलवस्तु जगदीशपुर जलासय व्यवस्थापन बहुसरोकार मञ्च कपिलवस्तु सहआयोजकको रुपमा रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *