राष्ट्रियसभा निर्वाचन : बागमतीमा १५ जनाको उम्मेदवारी – Nepal Press

राष्ट्रियसभा निर्वाचन : बागमतीमा १५ जनाको उम्मेदवारी

हेटौँडा । बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त हुने चार सदस्य पदको लागि १५ जनाको उम्मेदवारी परेको छ । आगामी माघ ११ गते हुने निर्वाचनमा सत्तारुढ दलको तर्फबाट ४ जना तथा विपक्षी दलहरुको तर्फबाट ११ जना गरि १५ जनाको उम्मेदवारी परेको हो ।

बागमतीमा सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले चारवटा सीट भागवण्डा गरेका छन् । सत्तारुढ दलको तर्फबाट नेपाली कांग्रेसले २ तथा माओवादी केन्द्र र एकिकृत समाजवादीले एक–एक सीटमा उम्मेद्वारी दर्ता गरेका छन् ।

सत्तारुढ दलको तर्फबाट नेपाली काग्रेसका जितजंग बस्नेत (अन्य) र विष्णुदेबी पुडासैनी (महिला) क्लस्टरबाट उम्मेद्वारी दर्ता गरेका हुन् । माओवादी केन्द्रको तर्फबाट श्रीकृष्ण अधिकारी तथा एकिकृत समाजवादीको तर्फबाट दलित कोटामा घनश्याम रिजालले मनोनयन दर्ता गरेका छन् ।

एमालेको तर्फबाट महिला तर्फ रोजकुमारी चौलागाईं , अन्यमा त्रिलोचन निर्मल पौडेल, अपाङ्ग तर्फ विवेक देवकोटा तथा दलित तर्फ ध्रुवराज विकले उम्मेदवारी दर्ता गरेका हुन् । त्यसैगरी नेपाल मजदुर किसान पार्टीको तर्फबाट पनि चारजनाको उम्मोद्वारी परेको छ । नेमकिपाको तर्फबाट अपांग तर्फ हिमालयश्वर मुल, अन्यबाट श्रीकृष्ण महर्जन, दलितबाट संगीता नेपाली तथा महिलाबाट कृष्णलक्ष्मी दुवालले उम्मेद्वारी दिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट तीन जनाको उम्मेद्वारी परेको छ । राप्रपाबाट हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणी भट्टको उम्मेद्वारी परेको छ ।

राष्ट्रियसभामा आगमी फागुन २० गतेबाट बागमती प्रदेश अन्र्तगतमा रहेका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पद रिक्त हुन लागेको छ ।

बागमती प्रदेशमा ११० प्रदेश सांसदको ५ हजार ८३० मतभार, स्थानीय तहका २३८ जनप्रतिनिधिको ४ हजार ५२२ मतभार गरी कूल १० हजार ३५२ मतभार रहेको छ । बागमती प्रदेशमा कांग्रेसको ४ हजार १३, एमालेको २ हजार ५७१, माओवादीको २ हजार १९६, नेकपा एसको ५४२, राप्रपाको ७०८, नेमकिपाको १९७ ,हाम्रो नेपाली पार्टीको १०६, र स्वतन्त्रको १९ मतभार रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर