मलेसियामा हत्या, नेपालमा पक्राउ : यसरी हुँदैछ अनुसन्धान – Nepal Press

मलेसियामा हत्या, नेपालमा पक्राउ : यसरी हुँदैछ अनुसन्धान

काठमाडौं । मंसिर २९ गते काठमाडौं प्रहरीलाई सूचना आयो, मलेसियामा एउटै कम्पनीमा काम गर्ने नेपालीको हत्या गरेर फरार भएका व्यक्ति नेपाल फर्कँदै छन् ।

ती व्यक्तिबारे सम्पूर्ण सूचना लिएर प्रहरीको टोली त्रिभुवन विमानस्थलमा परिचालन भयो । मंसिर ३० गते महोत्तरीका २४ वर्षीय अनिल शाह त्रिभुवन विमानस्थलमा ओर्लिए लगत्तै प्रहरीको पन्जामा परे ।

झापाका धनबहादुर प्रधानको हत्या गरेको आरोपमा प्रहरीले शाहलाई पक्राउ गरेको थियो। यति बेला नेपालमै मुद्दा दर्ता गरेर शाहलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रक्रियामा प्रहरी छ।

मुलुकी अपराध संहिता २०७४ ले गरेको व्यवस्थालाई टेकेर विदेशमा भएको अपराधमा पनि नेपालभित्रै अनुसन्धान गरेर कानुनी कारबाही गर्न लागिएको हो।

मुलुकी अपराध संहिता २०७४ मा बहु क्षेत्रीय प्रयोगको व्यवस्था छ जसमा नेपालबाहिर नेपाली वा कसैले नेपालीलाई तोकिएको कुनै अपराध गरेमा नेपालभित्रै त्यस्तो कसुर गरेको सरह मानेर अनुसन्धान गर्न सकिने व्यवस्था छ।

ज्यान लिएको वा ज्यान लिने उद्योग, दुरुत्साहन वा षड्यन्त्र गरेको कसुर, असहाय व्यक्तिलाई परित्याग गरेको कसुर, अङ्गभङ्ग गरेको कसुर, अपहरण, शरीर बन्धक वा गैर कानुनी थुनामा राखेको कसुर, जबरजस्ती करणी वा हाडनाता करणी गरेको कसुरलगायत निश्चित कसुरमा मुलुकी अपराध संहिता २०७४ को बहु क्षेत्रीय प्रयोग हुन सक्ने उल्लेख छ।

काठमाडौं प्रहरीले यति बेला घटनाको अनुसन्धान गर्न परराष्ट्र मन्त्रालय र इन्टरपोलमार्फत काम गरिरहेको छ। मलेसियन प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानमा तयार गरेका कागजातहरू मगाउने कामहरू भइरहेको काठमाडौं प्रहरी प्रवक्ता कुमोध ढुंगेलले जानकारी दिए।

‘यो घटनामा मलेसियन प्रहरीले घटनास्थललगायतको प्रारम्भिक अनुसन्धान गरेकाले हामीले कागजात मगाउन इन्टरपोल र परराष्ट्र मन्त्रालयमार्फत पहल गरिरहेका छौँ’, एसपी ढुंगेलले भने। हत्याको घटनामा ऐनको बहु क्षेत्रीय प्रयोग भएको नेपालमा यो पहिलो पटक हो।

प्रहरीका अनुसार मृतक र आरोपी मलेसियाको हर्ताज भन्ने कम्पनीमा क्लिनरका रूपमा काम गर्दै आएका थिए। कम्पनीमा इन्चार्ज रहेका प्रधानसँग लामो समयदेखि शाहको सम्बन्ध राम्रो नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

‘उनीहरुबीच लामो समयदेखि कामकै विषयमा सामान्य विवाद हुँदै आएको देखिन्छ’, घटनाको अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्। दुवै जना कम्पनीले बस्नका लागि व्यवस्था गरेको एउटै भवनमा थिए।

डिसेम्बर ११ तारिख बिहान पनि यी दुईबीच सामान्य विवाद भएको थियो। ५ जना मात्र काममा निस्कन बाँकी थियो। त्यही बेला अन्य ३ जना नभएको मौका छोपेर शाहले प्रधानको टाउकोमा हानेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

कम्पनीमै पासपोर्ट छाडेर भागेका शाह त्यसपछि मलेसियास्थित नेपाली दूतावासमा पुगेका थिए। नेपाली दूतावासले नेपाल फर्कने डकुमेन्ट तयार गरिदिएपछि उनी मंसिर ३० गते त्रिभुवन विमानस्थल ओर्लिएका हुन्।

भिडियो कलबाट यसरी गरियो सनाखत

घटनामा संलग्न शाह नै हुन् भनेर उनको सनाखत गर्न प्रहरीले प्रविधिको प्रयोग गरेको छ। घटना हुनुअघि सँगै रहेका साथीहरूबाट प्रहरीले शाहको सनाखत गरेको छ। भिडियो कलमार्फत शाहको सनाखत गरिएको हो।

प्रहरीका अनुसार करिब एकै अनुहार र हुलिया भएका ५ जनालाई लहरै राखेर शाहको पहिचान गर्न लगाइएको थियो।

कम्पनीमा काम गर्नेहरूले अन्यलाई केही नभनेको र शाहलाई देखाएपछि उनी नै भएको संकेत गरेको अनुसन्धान अधिकारीहरूले बताएका छन्। प्रहरीले उक्त भिडियो कल रेकर्ड गरेर अनुसन्धान प्रतिवेदनमा राख्ने तयारी गरेको छ। अनुसन्धानमा विदेशमा रहेकाहरूबाट भिडियो कलमार्फत सनाखत गरिएको यो पहिलो पटक भने होइन।

गत वर्ष १९ वर्ष पुरानो घटनामा पक्राउ परेका व्यक्तिको सनाखत बेलायतमा बस्दै आएका व्यक्तिलाई भिडियो कलमा ल्याएर गर्न लगाइएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *