सन्दीपको मुद्दामा बहस गरेकी वरिष्ठ अधिवक्ता भण्डारीको टिप्पणी- फैसला पूर्वाग्रही र त्रुटिपूर्ण छ – Nepal Press

सन्दीपको मुद्दामा बहस गरेकी वरिष्ठ अधिवक्ता भण्डारीको टिप्पणी- फैसला पूर्वाग्रही र त्रुटिपूर्ण छ

‘जाहेरीकर्ताले जन्ममिति बदलेर फर्जी कागजात बनाएको पुष्टि भयो, यो दण्डनीय हो कि होइन ?’

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर्‍याएपछि जनमानसमा तीव्र प्रतिक्रियाहरु उब्जिए । धेरैले अदालतको आदेश सन्तुलित नरहेको र अदालत बाह्य दबाबमा परेको टिप्पणी गरिरहेका छन् । कतिपयले फैसलाको समर्थन पनि गरेका छन् ।

राष्ट्रिय चर्चा पाएको यो मुद्दामा सन्दीपको तर्फबाट केही ख्यातिप्राप्त वकिलहरुले बहस गरेका थिए । उनीहरुमध्येकी एक हुन् वरिष्ठ अधिवक्ता सविता भण्डारी । नजिकबाट चिन्नुपर्दा उनी वयोवृद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् । यद्यपि, अहिले न्याय क्षेत्रमा सविताको आफ्नै छवि छ ।

सविताले जिल्ला अदालतमा बहस गर्दै सन्दीपमाथि लागेको बलात्कारको आरोप तथ्यहीन र झूटो भएको दलील पेश गरेकी थिइन् । तर, अदालतले सन्दीपलाई दोषी ठहर्‍यायो । नेपाल प्रेससँग कुरा गर्दै भण्डारीले अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरिन् । फैसला पूर्वाग्रही र त्रुटिपूर्ण रहेको उनको टिप्पणी छ ।

भण्डारीले स्पष्ट शब्दमा भनिन्, ‘सन्दीपलाई दोषी करार गर्न बाह्य तत्वहरुबाट अदालतमाथि निकै प्रेसर परेको थियो । त्यसको प्रभाव फैसलामा देखियो ।’

जाहेरीकर्ता नाबालिग नरहेको अवस्थामा सन्दीपले उनीमाथि बलात्कार गरेको कुनै पनि तथ्य-प्रमाणले पुष्टि नगर्ने तर्क भण्डारीले गरिन् ।

‘उनीहरुबीच असहमतिका कुनै पनि लक्षणहरु देखिएका थिएनन् । सन्दीप निर्दोष ठहरिने यथेष्ट प्रमाणहरु पेश भएका थिए । तर, अदालतले ती सबैलाई नजरअन्दाज गरेर एकांकी फैसला सुनायो’, उनले भनिन् ।

अदालतको फैसलाप्रति वरिष्ठ अधिवक्ता भण्डारीको टिप्पणी उनकै शब्दमाः

सन्दीप बेकसुर हो र उसलाई लागेको अभियोगबाट छुट्कारा पाउनुपर्छ भनेर मैले बहस गरेको हो । म अहिले पनि यसमा उत्तिकै स्पष्ट छु । जे भनिएको छ, त्यो घटना भएको होइन भन्नेमा व्यक्तिगत तवरबाट भित्रैदेखि विश्वस्त छु । उसले यस्तो कठोर सजाय पाउनु हुँदैनथ्यो । अदालतले फैसला गरेपछि त्यसलाई नमान्ने कुरा त हुँदैन । तर, यसमाथि अनेक प्रश्नहरु उठाउने ठाउँ छन् ।

जाहेरीकर्ता बालिग हो भन्ने अदालतले नै स्वीकार गर्‍यो । हामीले पहिल्यैदेखि जाहेरीकर्ताको उमेर पुगिसकेको भनेर यथेष्ट प्रमाण दिएका थियौं । अस्पतालको दर्ता रेकर्डको ढड्डा नै अदालतमा पेश भएको थियो । जाहेरीकर्ताको दाजुले त्यही अस्पतालमा गौशाला २६ को जन्म भएको भनेर अदालतमा बयान दिएका थिए ।

अदालतले हाम्रो दाबीलाई स्वीकार गरेर जाहेरीकर्तालाई बालिग ठहर्‍यायो । त्यसो भएपछि निजको तर्फबाट जुन नाबालिग भनेर पेश गरिएका सरकारी कागजातहरु त फर्जी भए नि ! यो कुरा पनि हामीले अदालतसमक्ष राख्यौं । यो कानूनी कारबाहीको विषय बन्नुपर्छ भनेका थियौं ।

उमेर पुगेका दुई युवा र युवती आपसी सहमतिमा होटलमा गएर बसेका हुन् । असहमतिको संकेत कतै पनि देखिएको छैन । जाहेरीकर्ताले होटलमा एउटा मात्रै कोठा उपलब्ध थियो भन्नुभएको छ । त्यो झूटो हो । उनीहरु बसेको होटलमा दुई वटा कोठा खाली थिए । एउटा कोठामा एसी नचलेको भनेर दुवैजना अर्कोमा सरेका हुन् । यदि सन्दीपसँग एउटै कोठामा सुत्न मन नभएको भए उनले ‘म एसी नभएकै कोठामा सुत्छु’ पनि त भन्न सक्थिन् । किन सन्दीपको पछिपछि लागिन् त ?

दुई जना सहमतिमै होटलमा गएर बसेको भनेर अदालतको फैसलामा नै उल्लेख भएको छ । अनि भोलिपल्ट दुवै जना हाँसीखुशी होटलबाट निस्किएको सीसीटीभीमै देखिएको छ । निस्किनुअघि सन्दीपले ‘तिमीलाई ब्रेकफास्ट अर्डर गरेर जान्छु, बिस्तारै आउन त’ भन्दा ‘पीडित’ ले ‘होइन, सँगै जान्छु’ भनेको पनि पाइएको छ ।

निस्किने बेलामा पीडितले आफ्नो मास्क खोलेको छ । सन्दीपले मास्क किन खोलेको भन्दा ‘मलाई सीसीटीभीमा अनुहार देखाउन मन छ’ भनेको कुरालाई पीडितले पनि अदालतमा स्वीकार गरेको छ । राति बलात्कृत भएको केटीमा बिहान यति आत्मविश्वास र उत्साह हुनसक्छ कि सक्दैन ?

सन्दीपले भोलिपल्ट निजलाई गाडीमा ल्याएर होस्टलमा छोडेपछि उनले पछाडिबाट गाडीको फोटो खिचेर खुशीको इमोजीसहित साथीलाई पठाएको छ । अनि, म्यासेज लेखेको छ- आई हग्ड सन्दीप यस्टरडे । यो किन लेखेको भनेर न्यायाधीशले प्रश्न गर्दा उनले भनेकी थिइन्- म सन्दीपलाई एकदमै ठूलो मान्थें । त्यसैले उसलाई भेट्दा साथीसँग खुशी साटेको हो ।

यदि राति बलात्कृत भएको हो भने बिहान यस्तो म्यासेज साथीलाई पठाउन सम्भव हुन्छ ? यो त कमनसेन्सबाटै बुझिने कुरा होइन र ? यति मात्र नभएर उसले ‘सन्दीपसँग भेटेको दिनलाई ‘मेरो जीवनको सबैभन्दा खुशी दिन’ भनेर पनि लेखेको छ । ‘बलात्कार’ भएको दिन कुनै युवतीका लागि खुशीको दिन हुनसक्छ ?’

उहाँले आफूमाथि ‘ओरल सेक्स’, ‘एनल सेक्स’ पनि भएको दाबी गर्नुभएको छ । मलाई लाग्दैन कि यस्तो गतिविधि पुरुषले मात्रै चाहेर सम्भव हुन्छ । त्यस्तो प्रयास गरेको भए रुन-कराउन सकिन्थ्यो । होटलका कर्मचारीहरुलाई गुहार माग्न सकिन्थ्यो होला । तर, त्यस्तो केही पनि भएको छैन । घटना भएको २० दिनपछि मात्रै प्रहरीमा जाहेरी दिन गएको स्थिति छ । यतिका दिनसम्म किन मौन बसेको भन्ने प्रश्नको जवाफ छैन ।

मलाई लाग्दैन कि न्यायाधीशले यसमा आफ्नो विवेकले मात्रै फैसला गर्नुभएको हो । अदालतमाथि बाह्य प्रेसर ज्यादा थियो । सन्दीपलाई दोषी ठहर्‍याउनैपर्छ भनेर मानव अधिकारवादीदेखि मिडियासम्मको जोडदार दबाब रहेको सबैलाई थाहा नै छ । त्यसैले न्यायाधीशले रिस्क लिन चाहनुभएन ।

सन्दीपको पनि गल्ती भएकै हो । कुनै केटीले भेट्न बोलाउनासाथ दौडिएर जानु हुन्थेन । तर, ऊ पनि त अल्लारे केटा न हो ! परिपक्व मान्छे त होइन । दुईजनाको उमेरमा त्यस्तो धेरै फरक पनि छैन ।

अदालतमा हामीले बहस गरेर गइसकेपछि, वादीको तर्फबाट जवाफी बहस पनि सकिएपछि अन्त्यमा फेरि ‘पीडित’ लाई बोल्न लगाइएको रहेछ । त्यो भनेको तथ्यले नपुगेर न्यायाधीशलाई भावनात्मक रुपमा प्रभावमा पार्ने प्रयास हो कि होइन ? फैसलाको ठीक अगाडि ‘पीडित’ लाई यसरी इजलासमा उभ्याएर ‘रुवाउने’ कार्यले न्यायसम्पादन प्रभावित हुन्छ कि हुँदैन ? यो प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ ।

मलाई केही मान्छेले महिला भएर महिलाको विपक्षमा वकालत गर्ने भनेर पनि भनेको सुनेको छु । एक जनाले ट्विटरमा ‘कृष्णप्रसाद भण्डारीको छोरी भएर पनि केटाको पक्षमा बोल्ने ?’ भन्दै लेख्नुभएको रहेछ । म के भन्छु भने सधैं केटी सही र केटा गलत हुँदैनन् । महिलाले महिलाकै पक्ष लिने र पुरुष भएर पुरुषकै पक्ष लिने भन्ने पनि कतै हुन्छ र ? त्यसमाथि म त एउटा व्यवसायिक कानून व्यवसायी हो । को दोषी छ भन्ने अदालतले निर्क्योल गर्छ । मैले तथ्य प्रमाणका आधारमा बहस गर्छु । आफ्नो पक्षलाई जिताउन प्रयास गर्छु । कसैलाई यसमा आपत्ति छ भने भइरहोस् ।

मैले यो मुद्दाका विषयमा धेरैको धारणा पनि बुझिरहेको छु । सबैले के भन्छन् भने सन्दीपले मात्रै किन सजाय पाएको ? उमेर पुगेका दुवै जना राजीखुशीले गएपछि केटा मात्रै कसरी दोषी हुन्छ भन्ने सबैको विचार पाएको छु । मलाई लाग्छ कि जिल्ला अदालतको फैसला टिकाउ हुनेवाला छैन । उच्च अदालतले यसलाई उल्टाएर विवेकपूर्ण फैसला गर्ने हामी सबैको अपेक्षा छ ।


प्रतिक्रिया

One thought on “सन्दीपको मुद्दामा बहस गरेकी वरिष्ठ अधिवक्ता भण्डारीको टिप्पणी- फैसला पूर्वाग्रही र त्रुटिपूर्ण छ

  1. भण्डारीले स्पष्ट शब्दमा भनिन्, ‘सन्दीपलाई दोषी करार गर्न बाह्य तत्वहरुबाट अदालतमाथि निकै प्रेसर परेको थियो । त्यसको प्रभाव फैसलामा देखियो ।’
    तपाईंको भनाइमा दुइमत छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *