प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता प्रदर्शन गरेकै हो तर गठबन्धनमा आँच आउँदैन : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता प्रदर्शन गरेकै हो तर गठबन्धनमा आँच आउँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिपक्षलाई अहिलेसम्मकै उदारता प्रदर्शन गरेको दाबी गरेका छन् । अहिले राष्ट्रियसभामा पनि एमालेलाई समेटेर जानेबारे छलफल भइरहेको बेलामा उनले यस्तो बताएका हुन् ।

रामेछापको सुनापति गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सदन सञ्चालन र शान्ति प्रक्रियाको बाँकी काम टुग्याउन सत्तापक्ष र प्रतिपक्षबीच आफूहरुले सक्दो समझदारी गरेको बताए ।

उनले भने, ‘हामीले सदन सञ्चालन, शान्ति प्रक्रियाको बाँकी कामलाई सहज रुपमा अगाडि बढाउन सत्तापक्ष र प्रतिपक्षबीच हुनसक्ने समझदारी होस् भन्ने कुरा सुरुदेखि नै चाहेका छौं । केही महिनाअघि संघीय संसदमा समिति गठन गर्दा प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता हामीले प्रदर्शन गरेकै हो । प्रतिपक्षमा भएको दललाई एउटा मात्रै समिति सभापति दिने परम्परा थियो । लेखा समिति । जो प्रतिपक्षमा हुन्छ त्यसले लेखा समिति सभापति हुन्छ ।’

उनले यअसघि पनि सदन सुचारू गर्न र विधेयक अघि बढाउन सहज होस् भनेर यो पटक लेखासहित तीन समिति सभापति नेकपा एमालेलाई दिने समझदारी गरेर दिएको बताए ।

उनले भने, ‘यसको अर्थ गठबन्धनमा आँच पुर्याउँने खालको होइन र हुनपनि सक्दैन। त्यसैले कहीँ कतै के होला भनेर सोच्न आवश्यक छैन। यो गठबन्धन सानो दुःख र संघर्षले बनेको गठबन्धन होइन । यो चुनावपछिको मात्रै होइन चुनावअघिदेखिकै हो । यो हिजोको कुरामा पनि संविधान रक्षाका लागि सदन र सडक सबै क्षेत्रबाट संघर्ष गर्दै हामी आएको हो । त्यसैले हामीलाई अन्तसम्म लानुछ ।’

उनले अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्न उठाउने कतिपयले दुस्साहस गरेपनि सम्भव नभएको बताए ।

 


प्रतिक्रिया

One thought on “प्रतिपक्षलाई अहिलेसम्म नभएको उदारता प्रदर्शन गरेकै हो तर गठबन्धनमा आँच आउँदैन : प्रधानमन्त्री प्रचण्ड

  1. यो गठबन्धन साना दुखले आर्ज्या होईन …. नौटंकीका कुरा सुन त जनता हो । गठबन्धन तोडेर केपिसँग पोईल गएको एक वर्ष मात्र हुँदैछ । अरू दललाई लात हानेर प्रधानमन्त्री खान ओलिको बार्दलीमा जानेले अहिले यसो भन्न कसरी सकेको होला ? लाज नभएपछि जे भने पनि भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर