मिल्क होलिडे बङ्गलादेशमा दूधको बजार खोजी निकासीका लागि मुख्यमन्त्री कार्कीले थाले पहल – Nepal Press

मिल्क होलिडे बङ्गलादेशमा दूधको बजार खोजी निकासीका लागि मुख्यमन्त्री कार्कीले थाले पहल

विराटनगर । कोशी प्रदेशमा मिल्क होलिडेका कारण किसान समस्यामा परेपछि बङ्गलादेशमा दूधको बजार खोजी गर्न थालिएको छ ।

दुग्ध वितरण आयोजनाले किसानको दूध खपत गर्न सक्ने अवस्था न आएपछि तेस्रो मुलुकमा दूधको बजार खोजी गर्न थालिएको हो । कोशीका मुख्यमन्त्री केदार कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बङ्गलादेश निकासीका लागि पहल थालेका छन् ।

बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँग बुधवार संवाद गरी मुख्यमन्त्री कार्कीले यस प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ निकासीका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन् ।

नेपालबाट बङ्गलादेशमा दुग्धजन्य पदार्थको निकासीमा ७८ प्रतिशत भन्सार तोकिएकाले कोशी प्रदेशका दुग्धजन्य पदार्थ उत्पादकले निर्यात गर्न सकेका छैनन् ।

दुग्धजन्य पदार्थ निकासी नहुँदा प्रदेशमा ‘मिल्क होली डे’को अवस्था सिर्जना हुनुका साथै यहाँ उत्पादित घ्यू, नौनी कुहिने अवस्थामा पुगेको छ ।

प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बिक्री नहुँदा दूध डेरी सञ्चालकहरूले पछिल्लो समय किसानसँग दूध किन्न छोड्नुका साथै किसानलाई एक वर्षदेखि दूधको भुक्तानी दिन सकेका छैनन् । किसानले दूधको भुक्तानी नपाउँदा विच्चलीमा परेका छन् ।

विराटनगर दुग्ध वितरण आयोजनाले उत्पादन गरेको दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानको २५ करोड रुपैयाँ भुक्तानी गर्न नसकेको आयोजना प्रमुख परमेश्वर चौधरीले गुनासो पोखे ।

उनले एकातिर किसानले दूध उत्पादन बढाएका छन् भनने अर्कोतिर उत्पादित दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानहरूलाई गत जेठ महिनादेखि नै दूधको भुक्तानी दिन नसकेको सुनाए ।

मुख्यमन्त्री कार्कीले बङ्गलादेशका लागि नेपाली राजदूत भण्डारीलाई दुग्धजन्य पदार्थमा बङ्गलादेश सरकारले लगाएको चर्को भन्सार घटाउन र दुग्धजन्य पदार्थ निकासीका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

फोन संवादमा राजदूत भण्डारीले बङ्गलादेशको ‘कमर्शियल कमिटी’मा निर्णय गराएर दुग्धजन्य पदार्थको भन्सार दर घटाउन पहल गर्ने आश्वासन दिएको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

मुख्यमन्त्री कार्कीले दुग्धजन्य पदार्थ उत्पादकसहितको टोली बङ्गलादेश गएर भए पनि दुग्धजन्य पदार्थ निकासी गरेर किसानको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर