कृष्णपुरको आँखा शिविरबाट पाँच हजार लाभान्वित – Nepal Press

कृष्णपुरको आँखा शिविरबाट पाँच हजार लाभान्वित

कैलाली । कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा सञ्चालन भएको निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । पुस १ गते वडा नं. १ को कुमगडाबाट सुरु भएको आँखा शिविर पुस १७ गते वडा न.९ को आधारभूत स्वास्थ्य केन्द्र राजघाटमा गएर सकिएको छ । निःशुल्क आँखा शिविरमा पाँच हजार ७ नगरवासीले घर दैलौमै सेवा लिएका छन् ।

नगरपालिकाले ९ वटै वडाका १२ स्वास्थ्य युनिट र भौगोलिक हिसाबले विकट मानिएको वडा नं. १ कुमगडा गरेर १३ स्थानमा आँखा शिविर सञ्चालन गरिएको हो । आँखा शिविरमा एक हजार पाँच सय ३९ जनालाई नजिकको चस्मा प्रदान गरिएको छ भने ६ सय १३ जनालाई शल्यक्रियाका लागि धनगढी नेत्रालयमा सिफारिस गरिएको छ ।

शल्यक्रियाका लागि सिफारिस गरिएका ६ सय १३ जनाको धनगढी नेत्रालयले निःशुल्क शल्यक्रिया गर्ने कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिस्टले जानकारी दिए ।

पौष १ गते कुमगडाबाट सुरु भएको आँखा शिविरमा ६० जनाले सेवा लिएका थिए । जसमा २८ जनालाई नजिकको चस्मा प्रदान गरिएको थियो भने २ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो । त्यसै गरी वडा न.१ कै दोमिल्ला र निगालिमा गरेर थप ७२० जनाले सेवा लिएका हुन ।

वडा नं. २ का दुई स्थानमा आँखा शिविर सञ्चालन गरिएको थियो त्यहाँ ८३८ जनाले सेवा लिँदा ३३९ जनालाई नजिकको चस्मा प्रदान गरिएको थियो भने १०५ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो ।

वडा नं. ३ मा ४२५ जनाले सेवा लिँदा १०५ जनालाई नजिकको चस्मा प्रदान गरिएको थियो भने ३५ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो । वडा न.४ मा ६४९ जनाले सेवा लिँदा १७६ जनालाई नजिकको चस्मा प्रदान गरिएको थियो भने ९९ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो । वडा न.५ मा ५१६ जनाले सेवा लिँदा १३३ जनालाई नजिकको चस्मा प्रदान गरिएको थियो भने ७७ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो ।

वडा न .६ मा ४२५ जनाले सेवा लिँदा ११४ जनालाई नजिकको चस्मा प्रदान गरिएको थियो भने ६२ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो । वडा न .७ मा ४१३ जनाले सेवा लिँदा १०३ जनालाई नजिकको चस्मा प्रदान गरिएको थियो भने ५५ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो ।

वडा न ८ मा ४५५ जनाले सेवा लिँदा ११४ जनालाई नजिकको चस्मा प्रदान गरिएको थियो भने ५२ जनालाई शल्यक्रियाका लागि सिफारिस गरिएको थियो र हिजो मंगलबार समापनका दिन वडा न.९ मा ५०० जनाले सेवा लिएका थिए । जसमा १३४ जनालाई नजिकको चस्मा प्रदान गरिएको थियो भने ६७ जनलाई शल्यक्रियाका लागि धनगढी नेत्रालयमा सिफारिस गरिएको हो ।

कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नगरवासीले उत्साहका साथ निःशुल्क आँखा शिविरमा भाग लिएको भन्दै खुसी व्यक्त गरे । उनले पछिल्लो समय नसर्ने रोगका कारण धेरैले अकालमै मृत्यु वर्ण गरिरहनु परेको भन्दै नसर्ने रोगहरू पहिचान होस् भन्नका लागि नगरपालिकाको स्वास्थ्य विशेषज्ञ टिम नागरिकका घर घरमा पुगिरहेको बताएका छन् ।

उनले आफू नागरिकको स्वास्थ्यप्रति चिन्तित रहेको भन्दै अघिल्लो वर्षको नागरिकसँग मेयर कार्यक्रमलाई निरन्तरता दिँदै यस पटक विशेष गरी महिला लक्षित शिविर आङ खस्ने,पाठेघर सम्बन्धी समस्या,तल्लो पेट दुख्ने समस्यालाई मध्यनजर गर्दै छिट्टै निःशुल्क शिविर सञ्चालनमा ल्याइने बताए ।

आँखा शिविरमा नगरपालिकाले निःशुल्क नजिकको चस्मा र औषधिको व्यवस्था गरेको थियो भने धनगढी नेत्रालयले प्राविधिक सहयोग गरेको हो । नगरपालिकाले अघिल्लो वर्ष पनि नेत्रालयसँग समन्वय गर्दै निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *