धोती लगाएर मन्त्रालय पुगे जनमतका मन्त्री – Nepal Press

धोती लगाएर मन्त्रालय पुगे जनमतका मन्त्री

जनकपुरधाम । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंह आज धोती लगाएर मन्त्रालय पुगेका छन् ।

जनमत पार्टीले जनवरी १ मा विगतमा जस्तै आज ‘राष्ट्रीय धोती दिवस’ मनाएको छ । यो अवसरमा जनमतबाटै मधेशमा मन्त्री बनेका यादव र सिंह धोती लगाएर पहिलोपटक मन्त्रालय पुगे ।

मन्त्रीद्वय यादव र सिंह पार्टीका नेता-कार्यकर्तासहित मधेस भवन पुगेर शुभकामना आदान-प्रदान गरे ।

मन्त्रालय पुगेर मन्त्रीद्वय यादव र सिंह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए । ‘राष्ट्रिय धोती दिवस’ लाई राज्यबाट मान्यता दिनुपर्ने माग राख्न खोज्दा मुख्यमन्त्री भेट्न नपाएको उनीहरूले बताए ।

दिवस निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि आज बिहान माइतीघरबाट जनमतका अध्यक्ष सिके राउत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीलगायतका नेता कार्यकर्ता पक्राउ परेका थिए । उनीहरूलाई तत्काल छाड्न मन्त्री यादवले माग गरे ।

उनले भने, ‘धोती दिवस मनाउँदा राष्ट्रिय अध्यक्ष डा. राउतलाई पक्राउ गर्नु भनेको मधेसीको पहिचान र पहिरनमाथि प्रहार गर्नु हो । सरकारले माफी माग्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *