इटहरीमा एमाले र मेयरबीच आरोप प्रत्यारोप : मेयर भन्छन्- एमालेले करका विषयमा फण्डा गर्‍यो – Nepal Press

इटहरीमा एमाले र मेयरबीच आरोप प्रत्यारोप : मेयर भन्छन्- एमालेले करका विषयमा फण्डा गर्‍यो

विराटनगर । इटहरी उप महानगरपालिकामा करको विषयलाई लिएर एमाले र मेयर हेमकर्ण पौडेलका बीचमा आरोप प्रत्यारोप सुरु भएको छ । आर्थिक ऐन २०८०ले कायम गरेको कर र राजश्वको दर रेटको विषयलाई लिएर एमाले र मेयर पौडेलका बीचमा आरोप प्रत्यारोप सुरु भएको हो ।

इटहरी उप महानगरपालिकामा एमालेको बहुमत भए पनि एमालेले मेयर पौडेलले एकलौटी गरेको भन्दै मेयरको कार्यशैली प्रति विरोध गर्दै आएको छ । बुधबार विज्ञप्ति निकाल्दै इटहरी उप महानगरपालिका जनताप्रति उत्तरदायी नभएको र असक्षम रहेको बताएको एमालेको जनाएको थियो ।

एमालेको विज्ञप्ति आएको भोलीपल्ट मेयर हेमकर्ण पौडेलले पत्रकार सम्मेलन गर्दै कर घट्ने विषयमा नेकपा एमालेका केही नेताहरूले फण्डा गरेको आरोप लगाएका छन् । उनले एमालेले कार्यपालिका बैठक भित्र र बाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ति जनाएका छन् । एउटा सहमति गर्ने र अकै कुरा फेरेर एमालेले नाटक मंन्चन गरिरहेको समेत मेयर पौडेलले आरोप लगाए ।

बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगर सभा बैठक विशेष कारणवश स्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगर सभा बस्न नसकेको बताएका हुन । एमालेले भने उमेश सुवेदीको संयोजकत्वमा बनेको कर र राजश्व समायोजन प्रतिवेदन पास गर्ने सहमति विपरीत पौडेलले हठत नगर सभा स्थगित गरेको दाबी गर्दै आएको छ ।

एमालेले विज्ञप्तिमा भनेको छ, यस अघिको कार्यपालिकाको बैठकमा भएको सहमति विपरीत मेयरले प्रतिवेदन पास नगरी नगर सभा स्थगित गरेको उल्लेख छ । नगरप्रमुख पौडेलले कार्यपालिकामा बहुमत सदस्य रहेको एमालेबाट निर्वाचित जनप्रतिनिधिको अनुचित दबाबले काम गर्न नसकिएको आरोप समेत लगाए ।

राजस्व, शुल्क तथा जरिवाना घटाउनुपर्ने माग राख्दै आएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बुधवारको नगर सभामा सो विषयमा छलफल हुने कार्यपालिका थियो । तर पार्टीको ह्विपमा उनीहरूले नगर सभा बैठक अवरुद्ध गर्न खोजेको नगरप्रमुख पौडेलले आरोप लगाए ।

कार्यपालिका र नगर सभामा पर्याप्त छलफल गरेर कर तथा राजश्व बढाउने प्रस्ताव पास गरिएको विषयलाई लिएर एमालेले बारम्बार दोहोरो चरित्र देखाउँदै विरोध गर्नुको कुनै औचित्य नरहेको नगरप्रमुख पौडेलको भनाई छ । हामी कर घटाउने पक्षमा छौ बारम्बार भन्दै आएका छौ । तर एमालेले भने अहिले सम्म दोहरो चरित्र मात्र देखाएको छ पौडेलले भने ।

इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुख सहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुख सहित ६ जना नेपाली काँग्रेसबाट निर्वाचित सदस्य छन् । यस्तै १०४ जना नगर सभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित रहेका छन् भने २१ जना नेपाली काँग्रेसबाट निर्वाचित सदस्य रहेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर