प्रहरी जवानसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर – Nepal Press

प्रहरी जवानसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

रुपन्देही । इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी पश्चिमका तत्कालीन प्रहरी जवान सञ्जीव धवलसहित ३ जनाविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको छ ।

सो इलाकाका तत्कालीन कार्यालय प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्युको घटना सम्बन्धमा गृह मन्त्रालयद्वारा गठित तीन सदस्यीय छानबिन समितिको प्रतिवेदनको सुझावहरुमध्ये सादा पोशाकमा परिचालित प्रहरी जवान सञ्जीव धवलले अवैध मोबाइलसहित गाडी लिई आउने व्यक्तिको बैंक खाताबाट आफ्नो खातामा ५५ हजार रुपैयाँ रकमान्तर गर्न लगाएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगले गृह मन्त्रालयबाट प्राप्‍त प्रतिवेदनको सम्बन्धमा अनुसन्धान हुँदा प्रहरी जवान सञ्जीव धवलले २०७८ साउन २१ गते बेलुका अवैध मोबाइलसहितको गाडी लिइ आउने अर्जुनप्रसाद शर्मा र इन्द्रलाल श्रेष्‍ठलाई प्रचलित कानूनबमोजिम कारबाहीको दायरामा ल्याउन प्रक्रिया अगाडि बढाउनुको सट्टा व्यक्तिगत लाभ प्राप्‍त गर्ने उद्देश्यले अवैध सामानसहितको गाडी र उनीहरुलाई छुटाउन नगद एक लाख २० हजार र बैंकिङ प्रणालीमार्फत ५५ हजार रुपैयाँ गरी एक लाख ७५ हजार घुस लिएको जनाएको छ ।

आयोग प्रवक्ता नरहरि घिमिरेका अनुसार धवललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना हुन र घुस/रिसवतसमेत असुल हुन तथा दफा ३ को उपदफा (९) को खण्ड (घ) बमोजिम कैद सजाय हुन मागदाबी लिइएको जानकारी दिए ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ८ का अर्जुनप्रसाद शर्मा र वडा नम्बर २१ का इन्द्रलाल श्रेष्‍ठले व्यक्तिगत लाभ प्राप्‍त गर्ने उद्देश्यले राष्‍ट्रसेवक प्रहरी कर्मचारीलाई प्रभावमा पारी अवैध मोबाइलसहितको गाडी छुटाउन र आफूहरु कानूनी कारबाही समेतबाट बच्न गैरकानूनी रुपमा एक लाख ७५ हजार रुपैयाँ प्रहरी जवान धवललाई दिएकोले उनीहरुमाथि पनि सोही कानूनअनुसार जरिवाना र कैद सजायका माग गर्दै आरोपपत्र दायर गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर