सौराहामा ‘हात्ती सुन्दरी’ प्रतियोगिता, यस्तो छ मूल्यांकनका आधार – Nepal Press

सौराहामा ‘हात्ती सुन्दरी’ प्रतियोगिता, यस्तो छ मूल्यांकनका आधार

चितवन । सौराहामा जारी हात्ती सुन्दरी प्रतियोगितामा ७ वटा हात्तीलाई प्रतिस्पर्धामा उतारिएको छ ।

मंगलबारबाट सुरू भएको १७औं संस्करणको चितवन पर्यटन तथा हात्ती महोत्सवको दोस्रो दिन आज (बुधबार) हात्ती सुन्दरी प्रतियोगिताअन्तर्गत ७ सुन्दरी हात्तीहरूको प्रतिस्पर्धा सुरू भएको हो ।

हात्ती सुन्दरी प्रतियोगितामा सेल्फिकली, समृद्धिकली, लक्ष्मीकली, बिजुलीकली, रानीमायाकली, चम्पाकली र रिमझिमकलीले सहभागिता जनाएका छन् । पाँच जनाको निर्णयक टोलीले महोत्सवको अन्तिम दिन पहिलो, दोस्रो र तेस्रो हुने सुन्दरी हात्तीको नतिजा सार्वजनिक गर्नेछ ।

निर्णायक मण्डलका सदस्य विनोद तिमिल्सिनाले प्रतियोगिताको निर्णय आँखाको सुन्दरता, हिँडाइ, शरीरको बनावट, माउतेले भनेको मान्ने, नमान्ने र रौँको अवस्था हेरेर मूल्यांकन गरिने बताए । नङ फुटे/नफुटेको, हिँडाइलगायतका बारेमा मूल्यांकन गर्ने उनले बताए । निर्णायक मण्डलले आज यसको नतिजा आयोजकलाई बुझाउने र १४ गतेमात्रै निर्णय गर्नेछ ।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५, १० र ५ हजार रूपैयाँ पुरस्कार दिने र सहभागी सबैलाई प्रोत्साहनस्वरूप एक हजार रूपैयाँ प्रदान गरिनेछ । मानिसमा मात्रै नभएर र जनावरमा पनि सुन्दरता हुने भएकाले प्रतियोगिताका रूपमा अघि बढाएको तिमिल्सिनाले बताए ।

कोरोनाभन्दाअघि युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थामा ६० वटा हात्ती भएकोमा अहिले ३० वटामात्रै रहेको बताउनु भयो । पर्यटकको आवागमन घटेका कारण हात्ती पाल्न नसकेकाले भाडामा ल्याएका हात्ती भारत फिर्ता लगिएकाले हात्तीको संख्या कम भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर