बिजुली काटिएपछि सर्वोत्तम र लक्ष्मी स्टिलले ५०० कर्मचारीलाई बिदा गर्‍यो – Nepal Press

बिजुली काटिएपछि सर्वोत्तम र लक्ष्मी स्टिलले ५०० कर्मचारीलाई बिदा गर्‍यो

सूचना जारी गर्दै रिलायन्स स्पिनिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेवापत ६१ उद्योगले बक्यौता रकम नतिरेको भन्दै धमाधम लाइन काट्न थालेको छ । हालसम्म ९ वटा उद्योगको लाइन कटिएको छ ।

लाइन काटिएको अधिकांश उद्योगले कामदार कटौती गर्न थालेका छन् । लाइन काटिएपछि उद्योग पूर्ण बन्द भएको सर्वोत्तम सिमेन्टले जनाएको छ ।

आइतबार लाइन काटिएको सूचना आएपछि सोमबार र मंगलबार डिजेलमार्फत अन्तिम चरणका सिमेन्टको उत्पादन पूरा गरेर बुधबारबाट पूर्ण रुपमा उत्पादन बन्द गरिएको उद्योगी विष्णु न्यौपानेले जानकारी दिए ।

लक्ष्मी स्टिल र सर्वोत्तमले ५०० जना दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारीलाई बिदा गरिसकेको न्यौपानेले बताएका छन् । सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलमा १ हजार ५०० जना प्रत्यक्ष रोजगारीमा संलग्न रहेको न्यौपाले नेपालप्रेसलाई जानकारी दिए ।

यी दुई उद्योगबाट मात्रै सरकारले दैनिक एक करोड रुपैयाँ राजस्व गुमाएको न्यौपानेको तर्क छ । न्यौपानेका अनुसार सर्वोत्तम अहिले दैनिक करिब ६० लाख घाटामा छ ।

लक्ष्मीले ७४ करोड १० लाख र सर्वोत्तमले ६८ करोड ९० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । तर, यी उद्योगले भने आफूहरुले कुनै पनि रकम तिर्न बाँकी नरहेको दाबी गरेका छन् ।

यता, रिलायन्स स्पिनिङ मिल्सले २० प्रतिशत उत्पादन गरिरहेको छ । यस उद्योगमा ३ हजार ५०० मजदुर रहेका छन् । उद्योगी शशिकान्त अग्रवालका अनुसार यही रेसियोमा उद्योग बन्द गर्ने हो भने मासिक १० करोड रुपैयाँ घाटामा जानेछ । रिलायन्सले केही दिनमै कर्मचारी कटौतीको सूचना जारी गर्ने बताएको छ ।

रिलायन्सले १ अर्ब ९४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको प्राधिकरणको भनाइ छ ।

बिजुलीको लाइन काटिएपछि आफूहरुको रोजगार संकटमा परेको भन्दै मजदुरहरुले आज बारामा आन्दोलन गरेका छन् । ‘श्रमिकको अधिकार सुनिश्चित गर’, ‘रोजगारीको ग्यारेन्टी गर’ लगायतमा प्लेकार्ड बोकेर मजदुरहरु आन्दोलनमा आएका थिए ।

उनीहरुले विरोध प्रदर्शन गर्दै इलाका प्रशासन कार्यालय सिमरामा ध्यानाकर्षणपत्र बुझाएका छन् । जसमा ६ हजारभन्दा बढी मजदुरको रोजगारीमा प्रत्यक्ष असर परेको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर